तरकारीको मूल्य आकासियो

0
9

प्रस, वीरगंज, ६ कात्तिक/
वीरगंजमा आलु, प्याजको मूल्य आकासिएको छ। भारतबाट प्याज आयात रोकिएपछि क्रमशः मूल्य वृद्धि हुँदै गएकोमा दशैंमा प्याजको मूल्य प्रतिकिलो रु १४० सम्म पुगेको छ।

वीरगंजका प्याज व्यवसायीले रक्सौलमा प्याजको भाउ प्रतिकिलो भारु ४५ रहेको र चोरबाटो भित्र्याउँदा क्यारियरले भारु १५ प्रतिकिलो लिने गरेको बताए। भारतले प्याज आयातमा रोक लगाएपछि प्याजको भाउ महँगो भएसँगै स्थानीय प्रशासनले थोकमा रु ६५ र खुद्रामा रु ७५ तोकेको थियो। तर अहिले प्रशासनले तोकेको भन्दा दोब्बरी मूल्यमा बिक्री हुँदासमेत प्रशासन मौन छ।

यसैगरी आलुको भाउ पनि आकासिएको छ। डेढ महीनामा आलुको भाउ रु ३० प्रतिकिलोबाट बढेर रु ११० प्रतिकिलो पुगेको छ। नयाँ आलुको दाम बढ्नुमा मकवानपुर, धादिङबाट ल्याउँदा व्यापारीलाई प्रतिकिलो रु १ सय तिर्नुपरेकोले ११० मा खुद्रामा बिक्री भइरहेको व्यवसायीले बताए। पुरानो आलु भने रु ७० प्रतिकिलोमा बिक्री भइरहेको छ। आलु र प्याजसँगै हरियो तरकारी पनि महँगो छ। कोभी, भन्टा, बन्दाकोभी, बोडी, परवलको मूल्य रु सयको हाराहारीमा छ। हरियो तरकारीमा गोलभेडा रु १२० प्रतिकिलो खुद्रा मूल्य छ भने हरियो खुर्सानी रु २५० प्रतिकिलो छ। अहिले सबैभन्दा सस्तो घिरौला छ जसको मूल्य प्रतिकिलो रु ५० छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्