अब त अति नै भयो प्रधानमन्त्रीज्यू !

0
69

-विश्वराज अधिकारी
    बौद्धिक वर्गका केही तटस्थहरूले अहिलेसम्म ‘पर्ख र हेर’ को आधारमा प्रम केपी ओलीका कार्यहरूको गम्भीरतापूर्वक मूल्याङ्कन गरिरहेका थिए। आलोचना मात्र होइन, प्रमलाई  स्वतन्त्र किसिमले काम गर्न दिनुपर्छ र केवल विरोधका लागि विरोध नगरेर उनले कुशलतापूर्वक जिम्मेवारी सम्पन्न गर्न सक्ने वातावरण दिनुपर्छ भन्ने तर्क प्रमका विरोधीहरू समक्ष राखिरहेका थिए। तर जब आफ्नो कार्यकालमा प्रमले निरन्तर एकपछि अर्को भूलहरू गर्न थाले, जनतालाई निराशाको खाडलतिर धकेल्न थाले, देशलाई आर्थिक सङ्कटबाट बाहिर ल्याउन चिन्तित देखिन छाडे, तटस्थ बस्ने बौद्धिकजन पनि ओलीको कटु आलोचना गर्न बाध्य भए। अहिले स्थिति यस्तो छ, प्रम ओलीका कट्टर समर्थकहरू पनि उनको पक्षमा खुलेर, चर्कोसँग बोल्न सक्ने स्थितिमा छैनन्।

    पछिल्लो समयमा ओलीले देश र जनतालाई सर्वाधिक निराश पारे। यस्तो सङ्कटको घडीमा आशा र भरोसा दिनु पर्नेमा जनतालाई अति निराशा दिए। साथै आफू सक्षम प्रधानमन्त्री नभएको सङ्केत पनि गरे। हुन पनि, कुनै पनि व्यक्तिले के भन्यो त्यसको आधारमा उसको मूल्याङ्कन हुने होइन, उक्त व्यक्तिले के ग–यो, त्यसको आधारमा मूल्याङ्कन हुने गर्दछ। यसै आधारमा प्रम ओलीले के भने त्यस आधारमा होइन, उनले के के गरे भन्ने आधारमा उनको कार्यकालको मूल्याङ्कन हुनुपर्दछ। देशको आर्थिक विकासको सन्दर्भमा ओलीले धेरै कुरा भनेका छन्। नेपाली जनतालाई अनेक सपना देखाएका छन्। तर गरेका भने ज्यादै कम छन्।

    आउनुहोस्, प्रम ओली कहाँकहाँ चुके र उनका कार्यहरूमा प्रभाकारिता र दूरदर्शिता कसरी देखिन छाड्यो त्यसबारे चर्चा गरौं–
    संसदीय व्यवस्थमा प्रम वा राष्ट्रपति कार्यकारी हुने र कार्यकारीले आफूले योग्य र सक्षम देखेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्ने सर्वमान्य प्रचलन छ। तर नेपालको सन्दर्भमा यो कुरा केवल सिद्धान्तमा मात्र सीमित रहेर प्रमले आफ्नो शक्ति सन्तुलन कायम राक्न आफ्ना आसेपासे वा ‘यस मैन’ वा साँठगाँठ हुने दलका अति सामान्य, अनुभवहीन, अकुशल व्यक्तिहरूलाई मन्त्री बनाउने प्रचलन हामीले देखे–भोगेको कुरा हो। तर यति हुँदाहुँदै पनि देशको आर्थिक अवस्थासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयहरू ‘अर्थ मन्त्रालय’ र ‘वाणिज्य मन्त्रालय’ मा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई प्रमले मन्त्री नियुक्त गर्ने प्रचलन थियो र अहिले पनि छ। प्रम वा  उनको पार्टीले आफ्ना आसेपासेहरूलाई अन्य मन्त्रालय दिए तापनि उपरोक्त मन्त्रालयका मन्त्रीहरू भने सक्षम एवं विज्ञलाई दिने चलन थियो र छ पनि। तर ओलीले अहिले एक अति सामान्य व्यक्तिलाई अर्थमन्त्री नियुक्त गरेर आफू, सरकार र आफूसम्बद्ध दल अति सङ्कटग्रस्त रहेको, नेपालको आर्थिक अवस्थाप्रति चिन्तित नरहेको, केवल सरकार टिकाउने दाउमा लागेको आफ्नै कार्यद्वारा दर्शाएका छन्। आफ्नै अदूरदर्शी यो कार्यद्वारा ओली सर्वत्र आलोचित हुन पुगेका छन्।

    प्रम ओलीले हालै विष्णु पौडेललाई नेपालको अर्थमन्त्री नियुक्त गरेको समाचार सार्वजनिक भएको थियो। यस्तो सङ्कटको घडीमा एक सामान्य व्यक्ति, जोसँग सम्बन्धित क्षेत्र (अर्थ मन्त्रालय) को कार्य गर्ने न कुनै शैक्षिक योग्यता छ, न त्यस क्षेत्रमा विशेष किसिमको अध्ययन एवं अनुसन्धान गरेको अनुभव नै छ, अहिले एक अति नै संवेदनशील मन्त्रालयको मन्त्री हुन पुगेका छन्। युद्धको समयमा घोडसवारी गर्न नजान्ने व्यक्तिलाई कुशल घोडसवारले गर्ने कार्यको जिम्मेवारी दिइएको छ।

    अर्थात् अर्थमन्त्रीको नियुक्ति परिस्थिति, देश र मन्त्रालय (अर्थ मन्त्रालय) को आवश्यकता अनुसार नभएर प्रधानमन्त्रीको निगाह वा दलको राजनीति अनुसार हुन पुगेको छ। कस्तो विडम्बना १  यो विषम परिस्थितिमा देशले एउटा कुशल अर्थमन्त्रीको माग गरिरहेको छ। सिङ्गो देश, अहिले कोरोना–सङ्कटले गर्दा बिरामी परेको, जनताले सक्षम एवं मेधावी अर्थमन्त्री खोजिरहेको बेला प्रधानमन्त्रीको यो कस्तो निर्णय १
    युवराज खतिवडाले राजीनामा दिएर अर्थमन्त्रीको पद रिक्त भएपछि नयाँ नियुक्त हुने अर्थमन्त्री ज्यादै सक्षम हुने भनी राष्ट्रिय अर्थ जगत्मा विश्वास गरिएको थियो। पूर्व अर्थमन्त्री युवराज खतिवडा नै पनि आफ्नो कार्यकालमा सफल हुन सकेका थिएनन्। कोरोनोले उठ्नै नसक्ने स्थितिमा पुगेको राष्ट्रिय अर्थतन्त्रलाई माथि उकास्न उनले नयाँ एवं प्रभावकारी कार्यक्रम ल्याउन सकेका थिएनन्। यति हुँदाहुँदै पनि, एउटा खास कुरा खतिवडामा के थियो भने उनी सम्बन्धित क्षेत्रका विज्ञ थिए। राष्ट्रिय अर्थ व्यवस्थाका पेंचिला कुरा उनले बुझेका थिए। अर्थ व्यवस्थालाई सही दिशामा डो–याउन सक्ने शैक्षिक योग्यता खतिवडासँग थियो। यी सबै कुरा हुँदाहुँदै पनि खतिवडाले प्रभावकारी काम गर्न सकेनन् त्यो भिन्न कुरा हो।

    तर नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग न अर्थ क्षेत्रमा काम गरेको लामो अनुभव नै छ, न त्यस्तो शैक्षिक योग्यता नै छ। यस्तो एक अति सामान्य व्यक्तिलाई अति महत्वपूर्ण क्षेत्र (अर्थ मन्त्रालय) मा काम गर्ने ठूलो जिम्मेवारी दिएर ओलीले गम्भीर त्रुटि गरेका छन्। उनको यो त्रुटिले देशको अर्थतन्त्रलाई कहाँ पु–याउने हो भन्न कठिन छ।

    देशमा अहिले राष्ट्रिय आम्दानी

(राजस्व) अभूतपूर्व किसिमले घटेको छ भने खर्च ह्वात्तै बढेको छ। खासगरी स्वास्थ्य क्षेत्रमा सरकारी तवरबाट ठूलो धनराशि खर्च गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। रोजगार गुमाएर भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको गरीब जनतालाई आर्थिक राहत उपलब्ध गराउनुपर्ने स्थिति छ। ज्यादै सुस्त हुन पुगेको उद्योग र व्यापारलाई पहिलेको स्थितिमा ल्याउन नसके पनि बर्बाद हुनबाट जोगाउने चुनौती छ। ज्यादै सङ्कुचित हुन पुगेको रोजगारको क्षेत्रलाई सरकारी लगानी गरेर भएपनि, फराकिलो पार्नुपरेको छ। देशको अर्थतन्त्रलाई अनियन्त्रित बाढीले झैं कोरोना–सङ्कटले तहसनहस पारिरहेको छ। यस्तो सङ्कटपूर्ण घडीमा देशको अर्थतन्त्रलाई धराशायी हुनबाट जोगाउन प्रमले एक कुशल व्यक्तिलाई अर्थ मन्त्रालय चलाउने जिम्मेवारी दिनुपथ्र्यो। सम्बन्धित क्षेत्रको विज्ञलाई अर्थमन्त्रीको रूपमा नियुक्त गर्नुपथ्र्यो। तर एक अति सामान्य व्यक्तिलाई अर्थमन्त्री नियुक्त गरेर ओलीले राष्ट्रिय अर्थतन्त्रको उपहास गरेका छन्। खस्किंदो राष्ट्रिय अर्थतन्त्रप्रति आफू संवेदनशील नरहेको सन्देश दिएका छन्। आगामी दिनमा देश र जनताले ओलीको यस अदूरदर्शिताको चर्को मूल्य चुकाउनुपर्नेछ।

    उद्योग मन्त्रालय र अर्थ मन्त्रालय अन्य सामान्य मन्त्रालयजस्ता होइनन्। देशको आर्थिक अवस्था सुधार गर्न, अर्थ मन्त्रालयको त अझै विशेष भूमिका नै हुन्छ। गरीबी कम गरेर मुलुकलाई आर्थिकरूपमा समृद्ध पार्ने कार्य अर्थ मन्त्रालयले गर्दछ। अर्थ मन्त्रालयले राम्रो कार्य गर्दा देश धनी हुन्छ भने खराब कार्य गर्दा गरीब पनि हुन सक्छ।

    एउटा कुशल अर्थमन्त्रीले प्रभावकारी नीति, कार्यक्रम तथा योजनाहरू ल्याएर देशलाई धनी पार्न सक्छ। अहिलेको यस्तो सङ्कटपूर्ण घडीमा देशलाई टाट पल्टिनबाट जोगाउन नयाँनयाँ आर्थिक सोच र उपाय ल्याउन सक्छ। अर्थमन्त्री सम्बन्धित क्षेत्रको विज्ञ हुने भएकोले उसले आम्दानीका नयाँनयाँ स्रोत सृजना गर्ने, सुस्त रहेको रोजगार क्षेत्रलाई गति दिने तथा अति विपन्न परिवारको जीवन थप कष्टकर हुन नदिन सोचहरू ल्याउने कार्य गर्न सक्छ।

    देश अहिले दिवालिया हुने स्थितिमा पुग्न थालेको छ। गरीब परिवारहरूले पनि कोरोना उपचार खर्च स्वयं बेहोरून् भन्ने अपेक्षा सरकारले गरिरहेको छ। कोरोना–सङ्कट समाधान गर्न आवश्यक पर्ने रकम सरकारसँग नरहेको बुझिएको छ। यस्तो सङ्कटपूर्ण घडीमा प्रम ओलीले एक कुशल व्यक्तिलाई अर्थमन्त्रीको जिम्मेवारी दिनुपथ्र्यो। तर यसविपरीत अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्न ओलीले यस्ता व्यक्ति छानेका छन् जो सम्बन्धित क्षेत्रको विज्ञ त होइनन् नै, विवादित व्यक्ति पनि हुन्। आर्थिक कारोबारमा नवनियुक्त अर्थमन्त्रीको व्यवहार विवादित छ। उनी अहिले पनि विवादको घेरामा छन्। स्वच्छ छविको अभाव छ।

    सरकारले धनी जनतासँग ऋण लिएर भए पनि गरीब नागरिकको निश्शुल्क कोरोनाको उपचार गर्ने जिम्मेवारी वहन गर्नुपथ्र्याे, तर गरेको छ विपरीत।

    रोजगारविहीन जनताले कोरोना उपचार खर्च कहाँबाट ल्याउँछ भन्ने विषयमा ओली चिन्तित नभएको देखिएको छ।

    अर्थ मन्त्रालयलाई कुनै पनि देशको मुटु मान्ने गरिन्छ। यो मुटुले नै शरीरमा रक्त सञ्चार गर्ने कार्य गर्दछ। अर्थात् कुनै पनि देशको अर्थ मन्त्रालयले उक्त देशका नागरिकका लागि रोजगार सृजना गर्ने र देशलाई धनी बनाउने कार्य गर्दछ। देशलाई जीवित राख्न अर्थ मन्त्रालयको अहम् भूमिका हुन्छ। अर्थतन्त्रको पेंचिलो कुरा बुझ्न प्रम ओलीले ढिलो गरेको प्रतीत भइरहेको छ। तर उनको यो कार्यको मूल्य उनी स्वयंले चुकाउनुपर्नेछ। ओलीको यो बल मिचाइ (अर्थमन्त्रीको नियुक्ति) ले उनी सक्षम होइन, असफल प्रम हुन् भन्ने परिचय दिनेछ।


एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्