यस वर्षको दशैंको दिशा

0
51

– सञ्जय साह मित्र

    धेरै पहिलेदेखि भनिंदै आएको छ – दशैं केहीको लागि दशा बनेर आउँछ। यसैगरी अर्को भनाइ पनि प्रचलित छ – दशैं खुशी बोकेर आए पनि ऋण बोकाएर जान्छ। दशैंको सम्बन्धमा सामाजिक यथार्थसित मेल खाने यस्ता अनेक भनाइ अद्यपर्यन्त प्रचलनमा छन्। यी र यस्ता भनाइले दशैंलाई एकातिर खर्चिलो पर्व र अर्कोतिर आवश्यक सामाजिक– सांस्कृतिक सेतु प्रमाणित गर्दछ। हो, सबैले बुझेका छन्, दशैंको सम्बन्ध समाज र संस्कृतिसित निकै गहिरो छ। यस गहिरो सम्बन्धलाई सरकारले झन् औपचारिकरूपमैं प्रगाढ बनाइदिएको छ। सरकारले हरेक वर्ष दशैंको बेला नै चाडपर्व खर्च राज्यकोषबाट सबैलाई उपलब्ध गराउने गरेको छ।
    दशैंको अर्थतन्त्र गतिशील हुन्थ्यो। हुनत अधिकांश व्यापारी तथा व्यवसायीले प्रतिक्रिया दिने गर्दथे कि पहिलेजस्तो बेपार भएन, तर यसपटक साँच्चै पहिलेजस्तो बेपार भएको पाइएको छैन। सरकारले पनि सम्भव भएसम्म नयाँ कपडा नकिनौं भनिसकेको छ। सरकारले भन्नेबित्तिकै मान्ने हाम्रो संस्कार नै होइन। परिस्थिति यस्तो छ कि अर्थतन्त्र चलायमान हुन सकेको छैन। सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन। त्यसमाथि महँगी बढेको छ। सर्वसाधारणको आयमा कमी आउनु र महँगी बढ्नुले पनि अर्थतन्त्रको प्रवाहमा अवरोध पुगेको छ। बैंकहरूले पनि पैसा मौज्दात बढेको, ऋणको माग खासै बढ्न नसकेको बताइरहेका छन्। अन्य समयमा ऋणको लागि बैंकहरूमा भरमार भीड हुने गर्दथ्यो तर अहिले बैंकमा पैसा छ, पैसा लिनेहरूको कमी देखिएको छ।


    बैंकबाट ऋण लिएर पनि के गर्ने ? पैसा कुन काममा खर्च गर्ने ? बेपारमा खासै फाइदा देखिएको छैन। विभिन्न शहरमा व्यापारिक प्रयोजनका धेरै सटर तथा घरहरू धमाधम खाली हुँदैछन्। अहिले बेपार सञ्चालन गरिरहेकाहरू पनि निराश छन्। व्यवसायीहरू त पहिलेदेखि नै यही दोहो–याइरहेका थिए कि यसपालि बेपार छैन, तर यसपटक साँच्चै बेपार छैन भन्ने कुरो सबैले बुझेका छन्। कसैले बैंकबाट ऋण लिएर लगानी गर्ने भनेकै घरायसी वा व्यावसायिक प्रयोजनमा हो। बैंकबाट ऋण लिएर घर वा खेतमा लगानी गर्दा बैंकको ब्याज तथा ऋण तिर्ने स्रोतको निश्चितता हुनुपर्छ। अहिले स्रोत निश्चित छैन। उदाहरणको लागि व्यवसाय राम्ररी चलेको छैन, निजी विद्यालयमा पढाउने लाखौं शिक्षक बेरोजगारजस्तै छन्, नेपाल सरकारले उपलब्ध गराएको अनुदानबाहेक उच्च माध्यमिक तथा क्याम्पसमा पढाउने लाखौं शिक्षकले सात महीनादेखि तलब पाएका छैनन् वा बेरोजगारीको दैनिकी बिताइरहेका छन्, विभिन्न एनजिओमा काम गर्ने कर्मचारीको हालत पनि उही छ। शिक्षालयका लाखौं विद्यार्थी घरमैं थुनिएका छन्, उनीहरूबाट आउने शुल्कको अभावले आर्थिक गतिशीलता रोकिएको छ। यसैगरी, कक्षा एघार र बा–हको परीक्षा हुन सकेको छैन। स्नातक तहको प्रथम वर्षमा विद्यार्थी भर्ना हुन सकेका छैनन्। यसले लाखौं विद्यार्थीबाट हुने थप आर्थिक गतिशीलतामा प्रभाव परेको छ। बेरोजगारी ह्वात्तै बढेको छ। यी सब कारणले बैंकबाट ऋण लिएर केही गर्न चाहनेको आँट कमजोरभएको छ।
    यस विशेष परिस्थितिले गर्दा दशैंमा खासै उत्साह देखिएको छैन। यद्यपि दशैंको पूजा तथा भक्तिमा खासै कमी देखिएको छैन। धार्मिक क्षेत्र वा शक्तिपीठ तथा दुर्गापूजाको लागि बनाइएका पण्डालहरूमा भीडभाड व्यापक देखिएको छ। सरकारले नगर्न भनेको भीडभाड र स्थानीय प्रशासनले रोकेको भएपनि भीडभाड भने कम भएको छैन। अहिलेको समय असामान्य छ। विगतमा यस्तो असामान्य समय सम्भवतः कहिल्यै आएको थिएन। अहिले मानिसदेखि मानिस डराउनुपर्ने अवस्था छ र पनि धार्मिक आस्थाका कारण सर्वसाधारण यसरी निर्भीक र निश्चिन्त भएर भीडभाडमा पस्ने गरेका छन् मानौं कुनै समस्या नै छैन। जबकि एक महीना पहिलेको र अहिलेको अवस्थालाई हेर्ने हो भने यस देशमा कोरोनाको कहर झन् बढेको तथ्याङ्क छ। कोरोनाले देशलाई गाँज्दै लगेको मात्र नभएर सर्वसाधारणका लागि सरकारबाट प्रदान गरिने धेरै सेवा र सुविधा पनि कटौती हुँदै गएको देखिएको छ। यहाँसम्म कि आफ्नै खर्चमा उपचार गर्नुपर्ने कुरो पनि सरकारले बताइसकेको छ, जसको व्यापक आलोचना भइरहेको छ। गत महीनासम्म मुख्यगरी वीरगंजमा, कोरोनाको कहर उच्च देखिएको थियो र अहिले केही शान्त छ। देशको राजधानी काठमाडौंमा भने अहिले कोरोनाको कहर उच्च देखिएको छ। मन्दिर, धार्मिक मेला वा जात्रा तथा दर्शन वा पूजा जे नाउँमा पनि, भीडभाडमा स्वनियन्त्रण नगर्ने र लापरवाही गर्ने हो भने अवस्था कस्तो आउला भन्न सकिन्न।
    अहिले कोरोनाबाट नडराउनेहरू निर्धक्क छन्। कोरोना केही होइन भनिरहेका छन्। न्यूनतम स्वास्थ्य सुरक्षाको पनि वास्ता गरेका छैनन् र सतर्क रहनेलाई मौका पाउनासाथ हेपिरहेका छन्। निगरानी गर्ने निकाय पनि एक किसिमले मौन देखिएको छ। सार्वजनिक तथा निजी यातायातमा मास्क लगाएको पाइँदैन। यात्रुमाथि यदि कडाइ गर्ने हो भने घरबाट निस्कने बेलामैं हरेकले मास्क लगाएर निस्कन्छन् तर निगरानी फितलो छ। नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सावधानीको जे जति कुरा सार्वजनिक गर्ने गरेको छ, हाम्रो समाजमा त्यो सुन्नका लागि मात्र हो भन्ने देखिएको छ। कतिपयले यति हल्कारूपमा लिन थालेका छन् कि हरेक दिनको सङ्क्रमित, निको हुने र मृत्यु हुनेको सङ्ख्या मात्र गनिरहन्छन्। सावधानीको पक्ष धरापमा परेको छ। तर कोरोना त भुसको आगोजस्तै भित्रभित्रै सल्किरहेको छ भन्ने हेक्का सर्वसाधारणले राख्नै छाडिसक्यो। यदि कोरोना सङ्क्रमण तथ्याङ्कमा भनिएकै जस्तै बढिरहेको छ भने वर्तमान भीडभाड र लापरवाहीले भोलिको दिन प्रलयङ्कारी हुने देखाउँछ।
    भनिन्छ, पूजामा श्रद्धा, आस्था तथा प्रेम हुनुपर्छ। पूजा प्रदर्शन होइन। देवतालाई समर्पण चाहिन्छ, देखावटीपन होइन। वर्तमान विषम परिस्थितिमा मन्दिरमा पुग्नैपर्छ भन्ने होइन। मूर्तिका अगाडि उभिएर घण्टौं भजन गाउनैपर्छ भन्ने पनि होइन। पूजा त हृदयबाट गरिने हो र भजन घरमा फोटो राखेर पनि गर्न सकिन्छ। अहिले घरमा बसेर अन्तर्हृदयले आराधना तथा पूजा गर्ने सबैभन्दा उपयुक्त समय हो। दशैं देश र नागरिकको लागि कोरोना भाइरसको सङ्क्रमण बढ्ने दुःअवसर नबनोस्। दशैं त सबैको लागि सुखमय हुनुपर्ने हो, दशैंले त सबैमा सुख, शान्ति र समृद्धि ल्याउनुपर्ने हो। हाम्रो समाजले औपचारिक तथा अनौपचारिकरूपमा दशैंको अवसरमा आफ्नो र एक अर्काको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने गरेको छ। आरोग्य रहने चाहना अभिव्यक्त गर्ने गरेको छ। अहिलेको विषम परिस्थितिमा आएको दशैंको अवसरमा यस किसिमका शुभ–भावना तथा कामना कसरी सार्थक हुन सक्छ भन्नेतिर व्यावहारिक ध्यान दिनुपरेको छ। अन्तर्हृदयमा कामना गर्ने तर व्यवहारमा भने पछाडि पर्नाले कामना सार्थक हुन सक्दैन। यस वर्षको दशैंको हावा फरक दिशामा बगेको छ, समयको दिशा बुझेर मात्र संस्कृति र चाडपर्व मान्दा–मनाउँदा उचित हुन्छ।
    कामना गरेर मात्र हुँदैन, कामनाको पथमा सार्थक पाइला पनि चाल्नुपर्दछ। हामी सबै दशैंको अवसरमा शुभकामना नै दिन्छौं। शुभकामनालाई साकार बनाउन केही गर्दैनौं। शुभकामना दिएपछि आशीर्वचन ग्रहण गर्नेलाई त्यसको अवलम्बन पनि गर्न सुझाव दिनु उपयुक्त ठहर्छ। सम्भव भएसम्म सचेत बनौं, चेतना नगुमाउँ। धेरै लापरवाही हुने ठाउँमा एकाध मानिस सावधान भएर पनि हुँदैन। यस अवस्थामा घरमा बस्नु बेस हो तर सधैं घरमैं बसिरहन सकिंदैन र बाहिर भने असावधान भीड छ। दशैं हाम्रो आस्था, श्रद्धासँगै सामाजिक व्यवहारमा संवेदनशील बनाउने पर्व पनि हो किनभने यसले ठूलाका अगाडि शिर निहुराएर आशीर्वाद (टीका) थाप्ने संस्कृति बोकेको हुन्छ। यसपटकको आशीर्वादमा स्वास्थ्य, सुरक्षा सावधानी विशेष उपयुक्त हुन्छ किनभने यस वर्षको दशैंको दिशा पहिलेका वर्षहरूभन्दा निकै फरक छ।
    सबैको दशैं सुखमय होओस्, दशैंपछिको जीवन अझ सुखमय होओस्। यसका लागि स्वास्थ्य, सुरक्षाको उच्चतम उपाय अँगालेर दशैंको सांस्कृतिक काम सम्पन्न गरौं। दशैंले सबैलाई शुभ फल देओस्, सबैमा सकारात्मक आशाको सञ्चार गरोस् भन्ने आदिकालदेखि मान्य शुभकामना  !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्