किसानको धान खरीद गर्न सहकारीलाई अनुदान

73


काठमाडौं, ५ कात्तिक/रासस
    सरकारले किसानको धान खरीद गर्नका लागि सहकारीलाई अनुदान प्रदान गर्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तोकेको मूल्यमा किसानले धानको बजार पाउने व्यवस्थासहित सहकारीलार्ई प्रतिक्विन्टल रु ११२ अनुदान दिने मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले बताए।
    मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका, २०७७ पारित गर्दै सहकारीलाई सहयोग गर्ने भएको हो। सहकारीले यसरी न्यूनतम मूल्यमा धान खरीद गर्दा सरकारले धानको न्यूनतम समर्थन मूल्य मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धान प्रतिक्विन्टल रु दुर्ई हजार ८८५ तोकेको थियो।  उनले कृषि उत्पादन र कृषकको हितमा हुने तथा धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी भएमा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने बताए। करीब १७५ सहकारीले डेढ लाख मेट्रिक टन धान खरीद गर्न सक्ने आशय व्यक्त गरिसकेका उपसचिव आचार्यले जानकारी दिए। उनका अनुसार मन्त्रालयले चाँडै नै सूचना प्रकाशित गरी सबै सहकारीलाई आह्वान गर्नेछ।
    धान खरीद गर्दा सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरीद गर्नेछन्। त्यसभन्दा बढी चिस्यान भए एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारित गर्नेछ। यसरी न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुने र किसान लाभान्वित हुनेछन् भने सहकारीमार्फत् काम हुँदा कृषिमा सहकारीको भूमिका कुरामा मात्रै होइन, व्यवहारमा समेत स्थापित हुँदै जाने उनको भनाइ छ।
    उपसचिव डा आचार्यका अनुसार कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादनलगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने मन्त्रालयको योजना रहेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्