१८ दिनमा एक हजार पिसिआर परीक्षण

0
32

प्रस, महोत्तरी, ४ कात्तिक/
    महोत्तरी जिल्लाको बर्दिवास अस्पतालले १८ दिनमा एक हजारभन्दा बढी मानिसको पिसिआर परीक्षण गरेको जनाएको छ।
    बितेको भदौ १२ गतेदेखि पिसिआर परीक्षण सेवा शुरू गरिएको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पिसिआर परीक्षण गरिएको जनाएको छ।
    सो अस्पतालले भदौ महीनामा गरेको  ३८६ जनाको पिसिआर परीक्षणमा २५ महिला र २२ पुरुष गरी ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो।
    यसैगरी, गत असोजमा गरिएको ६५९ जनाको पिसिआर परीक्षणमा ९२ पुरुष र ५२ महिला गरी कुल १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पलालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबू यादवले जानकारी दिएका छन्।
    नगरपालिकाले करीब रु एक करोड २५ लाख खर्च गरेर पिसिआर मेशिन र आवश्यक उपकरण अस्पताललाई उपलब्ध गराएको हो। सेवालाई थप विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत कोरोना परीक्षण गर्न सम्बन्धित स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय भइरहेको नगरप्रमुख विदुरकुमार कार्कीले बताएका छन्।
    अस्पतालले  स्वाब सङ्कलन गरेको १० घण्टाभित्रै नतीजा दिंदै आएको छ। यो व्यवस्थाले यसअघि १०/१२ दिनसम्म रिपोर्टका लागि कुर्नुपर्ने अवस्थाको अन्त्य भएको सेवाग्राहीले बताएका छन्। करीब एक लाख २० हजार जनसङ्ख्या रहेको आफ्नो नगर क्षेत्रमा स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच बढाउँदै लाने प्रयासस्वरूप यो प्रयत्न महत्वपूर्ण भएको नगरप्रमुख कार्कीको भनाइ छ।
    बर्दिवास अस्पतालमा जडान गरिएको पिसिआर मेशिन र उपलब्ध उपकरणबाट दैनिक ९०० नमूनाको परीक्षण हुन सक्ने विज्ञको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्