दशैं सस्तो बजार लागेन

0
33


प्रस, जनकपुरधाम, ४ कात्तिक/
    प्रत्येक वर्ष जनकपुरधाममा लाग्दै आएको सस्तो दशैं बजार यस वर्ष लागेन। कोरोना महामारीको कारण जिल्ला प्रशासन कार्यालयले मेला महोत्सव लगाउन निषेध गरेकोले सस्तो बजार नलागेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनाएको छ।
    जउवासङ्घको पहलमा विगत ४३ वर्षदेखि प्रत्येक वर्ष स्थानीय गोपाल धर्मशालामा दशैं अवधिभर सस्तो बजार लाग्दै आइरहेको थियो। उक्त बजारमा धनुषा, महोत्तरी, सिराहा, सिन्धुली, सर्लाही, उदयपुर तथा सीमावर्ती भारतीय क्षेत्रका जनता समेत लाभान्वित हुँदै आएका थिए।
    घटस्थापनादेखि अष्टमीसम्म चल्ने दशैं बजार यस वर्ष नलागेपछि उपभोक्ताहरू निराश बनेका छन्। दैनिक उपभोग्य सामग्रीहरू बजारमा भन्दा सस्तो दरमा उक्त बजारमा पाइने भएकाले प्रत्येक वर्ष यस क्षेत्रका उपभोक्ताले दशैंको समयमा राहत महसूस गर्थे।
    जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललितकुमार साहले यसपटक कोरोना महामारीको समयमा सस्तो बजार लगाउँँदा भीड हुने र कोरोनाको सङ्क्रमण फैलिने जोखिम भएकोले जिल्ला सुरक्षा समितिको निर्देशनमा बजार नलगाइएको जानकारी दिए। उनले बजार नलागेपछि यस वर्ष यहाँका व्यापारीहरूलाई पनि करोडौंको घाटा लागेको बताए।
    सस्तो बजारका एकजना व्यापारीले घटस्थापनादेखि अष्टमीसम्ममा करीब १० लाख रुपैयाँको कारोबार गर्ने गरेको उवासङ्घको अनुमान छ। “सबै व्यापारी मिलाएर करोडौंको खरीद–बिक्री हुन्थ्यो। तर यसपालिको दशैंलाई कोरोनाले खाइदियो,” सङ्घका अध्यक्ष साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्