दशैंमा बैंक नखुल्ने

0
33


काठमाडौं, ४ कात्तिक/रासस
    कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरूले दशैंं बिदामा आफ्ना शाखाहरू नखोल्ने भएका छन्। गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन्।
    बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैंकिङ सेवा दिंदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ। सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिए अनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द भएको निर्णय सुनाउँछन्। “दशैंमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भीडभाड हुन सक्छ,” उनले भने, “अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो।”
    हाल बैंकहरूले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यसपटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई  बन्द गरिएको बताएका छन्। दशैैंका समयमा वाणिज्य बैंक बन्द गर्ने कुरा नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र नपर्ने राष्ट्र बैंक, नियमन विभागका प्रमुख देवकुमार ढकाल बताउँछन्।
    सामान्यतया राष्ट्र बैंक खुल्ने दिन र समय बैंकबाट नियमन हुने सबै बैंक तथा वित्तीय संस्था खुला हुनुपर्छ। अहिलेको विषम परिस्थितिमा अनिवार्यरूपमा खुला गर्नुपर्छ भन्ने अवस्था नभएको उनको जिकिर छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्