आकस्मिक सेवाबाहेकका सेवा बन्द

0
51

प्रस, महोत्तरी, ४ कात्तिक/
    कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले मङ्गलवारदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन्।
    जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयसहित चार कार्यालयको कामकाज कात्तिक १५ गतेसम्मका लागि बन्द गरिएको हो। कार्यालका कर्मचारीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकाले सेवा बन्द गर्नुपरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। कार्यालयबाट हुने आकस्मिक र आन्तरिक कामबाहेक अन्य सेवा बन्द गरिएको उनले जानकारी गराएका छन्।
    यसैबीच, चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५०० जनाभन्दा बढी प्रहरी परिचालन गरेको जनाएको छ। जिल्लाका १५ वटै स्थानीय तहमा चाडबाडको बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी  प्रहरी परिचालन गरिएको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
    जिल्लाका धार्मिकस्थल, मुख्य बजार क्षेत्र तथा आर्थिक कारोबार बढी हुने बैंक तथा वित्तीय संस्था र सहायता कक्षजस्ता भीडभाड बढी हुने ठाउँमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिप्रकाले जनाएको छ।
    इलाका प्रहरी कार्यालय गौशाला र इलाका प्रहरी कार्यालय बर्दिवासबाट तुरुन्त एक्सनमा जान मिल्ने गरी ५७ वटा मोटरसाइकलमा दुई/दुई जनाका दरले २४ घण्टे क्युआरटी टोलीसमेत परिचालन गरिएको प्रनाउ विष्टले
बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्