दम नभएको दशैं

0
37

– रोशन सिंह

    कोरोना ! कोरोना !! कोरोना !!! सुन्दासुन्दा त अब सबैलाई दिक्कै लागिसक्यो। कानै पाकिसक्यो। वर्कीफर्की जता हे–यो कोरोनाकै चर्चा। जसको मुखमा पनि मास्कको पहिरन। दिनभरि जता गएपनि सेनिटाइजर दल्या छ, छ। कतैकतै त्यै सेनिटाइजर पनि लाउँदा झन् कोरोना सर्ने हो कि भन्ने लाग्छ। हुन पनि यो कस्तो अचम्मको भाइरस आएछ ? कहाँबाट आयो, कसरी आयो, फैलिएको छ, फैलिएको छ। रोकिने त नामै छैन। हेर्दाहेर्दै संसारभर फैलिएको अवस्था छ। यस्तै पारा हो भने हरेक घरमा कम्तीमा पनि एक व्यक्ति कोरोना सङ्क्रमित देखिने अवस्था आइसक्यो।
    यो कोरोनाले संसारलाई घरमैं कैद गरेर थचारिदिएको छ। मानव जाति र वैज्ञानिक आविष्कार एवं खोजलाई गत ८–१० महीनादेखि ठूलै चुनौती दिंदै आएको छ। अझै कति समय तन्काउँदै लग्ने हो थाहा छैन। कस्तो–कस्तो अवस्थासँग जम्काभेट गराउने हो थाहा छैन।
    हुन पनि ताल परे हरेक हप्ता घुम्न रुचाउने र सामाजिक सञ्जालमा फोटो हाल्न मन पराउनेलाई त पर्नु पीर प–या छ। फोटो त जेनतेन हाल्न छाडेका छैनन् तर तिनले हालेको फोटोको ब्याकग्राउन्डमा चाहिं थरीथरीका ठाउँ हुनुपर्नेमा त्यो नभएकोले तिनको अनुहारमा धीत मरेको उल्लास देखिन्न।
    केही समय पहिलेको कुरा गर्ने हो भने लकडाउन र निषेधाज्ञा लगाउँदा सङ्क्रमितको सङ्ख्याको हिसाबले क्षणिक फाइदा अवश्य पनि भाकै हो र फेरि पनि लकडाउन लगाउँदा सङ्क्रमणको हिसाबले त पक्कै फाइदा होला, तर बुझ्नुपर्ने कुरा के छ भने के यो मात्रै एउटा र अन्तिम उपाय हो ? हैन भने अरू उपाय के हुन सक्छ ? हो भने कहिलेसम्म थुनिएर बस्ने ? यसअघि लकडाउन र निषेधाज्ञा पनि त लगाएकै हो। लगाएर पनि परिणाम के आयो सर्वविदित नै छ।


    कोरोना र लकडाउनको असरबारे कुरा गर्ने हो भने अर्थव्यवस्था र रोजगारको क्षेत्र त तहसनहस भइ नै सकेको छ। नेपालमा कोरोनाकै कारण प्रत्येक पाँचमध्ये तीनजनाले जागीर गुमाउनुपरेको अवस्था छ (Republica 17th May)।
    भारतमा ४१ लाख युवाले कोरोनाको कारण जागीर गुमाउनुपरेको छ (Economic times 18 August)। कोरोना भाइरसकै कारण ४ करोड ७० लाख अमेरिकीले जागीर गुमाइसकेको स्थिति छ (CNBC 30 March 2020)।
    त्यसैगरी, कोरोना नियन्त्रणको नाममा लकडाउन गर्दा मानसिक तनाव खेप्न नसकी ज्यान गुमाउनेको सङ्ख्या पनि भयावह छ। नेपालमा पहिलो लकडाउनको बेला मात्रै देशभरि प्रहरी कार्यालयमा दर्ता भएका आत्महत्या मुद्दा दर्ता भएको सङ्ख्या १६४७ देखिन्छ (The new Indian express 7th july)। Republica, July 28को अनुसार देशभरि लकडाउनको बखत २२१८ जनाले आत्महत्या प्रयास गरेका छन्।
    दशैं त दैलैमा आइसकेको छ। तिहार भने पछिपछि लम्कँदै छ। केही गर्दिनँ भन्दा पनि नकार्न नसकिने कतिपय खर्च कसरी टार्ने भन्ने चिन्ताले मानिसलाई सताउन शुरू भइसकेको अवस्था छ। जसोतसो टार्ने योजना बनाएकालाई गाउँँ जान न पाइने हो कि भन्ने भिन्दै चिन्ता छ। कोरोनादेखि जसरी पनि जोगिने तर माइत–ससुराली जसरी पनि जानुपर्छ भन्नेहरूको मन, सरकारले लकडाउन गरिदिने हो कि भनेर त्राहित्राहि छ। भान्जा–भान्जी र नाति–नातिनीलाई दक्षिणा घट्ने छुट्टै पीर छ। दशैंमा पक्कै पनि लकडाउन हुँदैन भने पनि अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढेको देख्दा तिनको उत्साह निष्क्रिय हुँदै गएको छ। हुनत अहिले काठमाडौंमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या हेर्ने हो भने कोरोनाको मिटर तीव्र गतिमा कुदेको देखिन्छ। यस्तोमा बडादशैं मान्न देशैभरिका मानिस राजधानी छाडेर जाँदा पक्कै पनि सङ्क्रमण यसै अनुपातमा अन्त जानु स्वाभाविक हो। यसको अर्थ सधैं लकडाउन वा निषेधाज्ञा लाएर मात्र चल्दैन भन्ने प्रमाणितजस्तै भइसक्यो।
    ‘सरकारको काम कहिले जाला घाम’ भने पनि ओलि सरकारले अलिअलि काम गरेकै भान हुन्छ। हालसम्म संसारका धेरैजसो मुलुकले कोरोनाविरुद्ध, सङ्क्रमितको सङ्ख्यालाई मात्र ध्यान दिएर, काम गरेका छन्। अर्थात् सङ्क्रमित हुने, आइसोलेशनमा बस्ने, निको हुने र मर्नेको गणना गरेर बसेका छन्। हुनत तथ्याङ्कविना काम गर्न कठिन हुन्छ। तर पनि धेरैले गरेको काम देख्दा यस्तो भान हुन्छ, कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न नदिनुमा तिनले बढी ध्यान केन्द्रित गरेका छन्। यो त कोरोना नियन्त्रणका लागि चाहिने पहिलो र निरन्तरको कार्य हो। त्यसबाहेक गरिएको कार्य भनेको क्वारेन्टाइन, आइसोलेशन एवं पिसिआर टेस्ट पनि उत्तिकै आवश्यक र निरन्तर चाहिने कार्य हो। यी जति कार्य सरकारले गरेको छ, त्यो भनेको कोरोना सङ्क्रमण फैलिन नदिनु, सङ्क्रमित व्यक्ति पत्ता लगाउनु आदि इत्यादि हुन्, जुन गर्नैपर्छ, तर शुरूदेखि नै अन्य पक्षमा त्यति ध्यान पुग्न सकेको छैन। सीमित साधनस्रोतलाई ध्यानमा राख्दै पनि अस्पताल व्यवस्थापन, भेन्टिलेटरको सङ्ख्यामा वृद्धि, छोटो समयका लागि विशेष कोभिड अस्पतालको व्यवस्था र जनजागरणको काम त गत ७–८ महीनामा धेरै गर्न सकिन्थ्यो। अझैसम्म पनि जे जति भएको छ, त्यसभन्दा धेरै गर्नुपर्नेछ। अन्यथा स्थिति झन् भयावह हुन सक्छ।
    समाजको सोचाइ आफ्नै किसिमको छ। अझै पनि हाम्रो समाजमा कोभिड पोजेटिभ देखिएमा सङ्क्रमित एवं परिवारले लुकाउन खोज्ने, सङ्क्रमितलाई छुट्टै नजरले हेर्ने हुँदा पनि यो समस्या जटिल बन्न मदत पुगेको छ। अन्तको त के कुरा, अस्पतालमा धरि बिरामीलाई गर्ने व्यवहार पनि अकल्पनीय छ।
    कोभिड पोजेटिभ भई भर्ना भएको  बिरामी हेर्न सम्बन्धित चिकित्सक वा नर्स फर्केर नजानु, औषधि दिनुपर्दा टाढैबाट हु–याउनु, बिरामीले बोलाउँदा नसुनेजस्तो गर्नु। यस्ता व्यवहारले आम मानिसमा छुट्टै त्रासको माहोल छ। कथम्कदाचित सङ्क्रमित भएर अस्पताल जाँदा हामीले पनि त्यस्तै व्यवहार भोग्नुपर्ने त हैन भन्ने चिन्ता पलाउँछ। हुनत अस्पतालमा कार्यरत चिकित्सक, नर्स वा अन्य कर्मचारीको आफ्नै पीडा छ। तिनको पनि शरीरको क्षमता सीमित छ, तिनको पनि आफ्नो परिवार छ र परिवारमा रोग नसरोस् भन्ने चिन्ता छ।
    केहीअगाडि सङ्क्रमण र सङ्क्रमितको सङ्ख्यामा मात्र केन्द्रित
रहेको समाज र साधारण जनमानसमा अब स्थिति बदलिंदो छ। हिजो एक र दुर्ई अङ्कमा दैनिक देखिने सङ्क्रमितको सङ्ख्या हाल दैनिक चार अङ्कमा पुग्दा बानी परेको हो कि ? वा अन्य आवश्यकताले बाध्य पारेको हो। जेहोस्, दैनिक यत्रो सङ्ख्यामा सङ्क्रमण बढे पनि बाहिरी चहलपहल झन्डै यथावत् देखिन्छ। बरु केहीमा भने एक किसिमको मनोत्रासको बादलले घेरा हालेको छ। किनभने अब कोभिडले आफ्नो ‘गियर चेन्ज’ गर्दै स्थिति फरक पार्दै लगेको छ। त्यो हो मानसिक त्रास। अब कसैको छिमेकी, कसैको नजीक वा टाढाको आफन्तलाई, चिनजानको मानिसलाई कोरोनाले लान थाल्यो। हुनत अझसम्म भएको मृत्युु अन्य कुनै रोग नलागी पूर्णतया कोभिडले मात्रै भएको हो भनेर कसैले भन्न सक्ने आधार–प्रमाण छैन। तर पुरानो दीर्घरोगी, मुटुको रोगी, श्वासप्रश्वाससम्बन्धी रोगीको लागि भने यो कोरोना अभिशाप नै साबित भएको छ।
    भर्खरै मात्र केही यस्ता बिरामी पनि भेटिए, जो शारीरिकरूपले पूर्ण स्वस्थ थिए। मनको खुल्दुली मेट्न पिसिआर टेस्ट गराउन गए। तत्पश्चात् रिपोर्ट पोजेटिभ आयो। पोजेटिभ आएको थाहा पाउनासाथ कसैले मानसिकरूपमा सहन गर्न नसकी अस्पताल कुदाउँदा कुदाउँदै अकालमा ज्यान गुमाउनुप–यो। कोही भने रिपोर्ट पोजेटिभ आउनुअघि सबै हिसाबले ठीक थिए, पोजेटिभ आउनासाथ थला परे र केही दिनमैं ज्यान गुमाए।
    पूर्णतया लकडाउन वा निषेधाज्ञा लगाउने काम त सरकारले निर्णय लिने हो, तर हामीले लिने निर्णयमा हामी नै उत्तरदायी हुन्छौं। चाडपर्वमा जतिसुकै कडाइ गरे पनि केही न केही ओहोरदोहोर बढ्ने अवश्यम्भावी छ। जति बढी चहलपहल, त्यति बढी सङ्क्रमणको सम्भावना। अनि भएन त, दशैंको दशा। पहिलेपहिले दशैंले मानिसको दशा बिगाथ्र्यो, अब दशैंले नै दशा बेहोर्नुप–यो। निस्केन त दशैंको दम ! बरु सबैभन्दा उत्तम आफ्नो ज्यान आफैं जोगाउने, हिंड्नुपरे जोगिएर हिंड्ने। चाडपर्वमा अरूभन्दा फरक प्रकृतिको खानपान हुन्छ, तसर्थ जोगिएर खाने, सकेसम्म अस्पताल जानबाट जोगिने उपाय गर्ने !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्