वैचारिक क्रान्ति – आजको आवश्यकता

96

अनन्तकुमार लाल दास
    भविष्यको नेपाललाई कोरोनामुक्त बनाउनका लागि आज नयाँ चिन्तन र नयाँ सोचको आवश्यकता छ जसको जरा समातेर नेपाललाई विकास पथमा डो–याउन सकियोस्। अहिलेको विकास क्रमले नयाँ नेपालको भविष्य कोर्न सक्दैन किनभने त्यसको आधारशिला तर्कहीन र तथ्यहीन छ। यस कारण यस्तो लोक–शिक्षणको आवश्यकता छ जसले हाम्रो पुरातनवादी सोच उखेलेर नयाँ र परिष्कृत शिक्षा नीतिलाई मलजल गर्न सकोस्। यो कार्य कठिन पनि छैन। यसका लागि मात्र हामीले आफूलाई परिवर्तित गर्नुपर्ने खाँचो छ।
    समयानुसार लोक मान्यता र व्यवस्थामा परिवर्तन हुनु पनि आवश्यक छ। एउटा निश्चित अवधिपश्चात् यदि मान्यता र व्यवस्थामा परिवर्तन भएन भने यसले समाज र मानिसलाई स्वार्थी बनाउन थाल्छ र त्यसको परित्याग गा–हो हुन जान्छ। यस परिप्रेक्ष्यमा समाजमा अराजकता र भ्रष्टाचारलाई बढावा मिल्छ र यसले सामाजिक शान्तिलाई बिथोल्छ। यस कारण वर्तमानमा देखा परेका हरेक प्रकारका दुराचार, द्वन्द्व वा शोषणका लागि कसैलाई पनि दोष दिएर समस्याको समाधान हुनुको साटो झन् समस्या बढ्ने सम्भावना हुन्छ। यस परिस्थितिमा मानिसको सोचमा परिवर्तन भएन भने समस्या समाधान गर्न गा–हो हुन्छ। वैचारिक क्रान्तिले नै सबै असम्भव देखिने काम सम्पन्न भएको छ। त्यसैले वैचारिक क्रान्तिको आज टडकारो अवश्यकता महसूस गरिएको हो।


    पहिले नेपालमा राजतन्त्र थियो। जनतालाई सीमित अधिकार प्रदान गरिएको थियो। राजसत्ता राजामा निहित थियो तर आजको अवस्था ठीक विपरीत छ। आज जनता सार्वभौमसत्ता सम्पन्न छ। राज्यको शक्ति जनताको हातमा छ। जनमानस जुन दिशातिर लम्कन्छ, हावा त्यतैतिर बग्न थाल्छ। जनमानसको प्रवाहलाई यदि सही दिशा प्रदान गरियो भने राष्ट्रलाई तीव्रताका साथ विकास पथमा डो–याउन सकिन्छ। यस कारण आज विचारको शस्त्र प्रयोग गर्ने खाँचो छ, किनभने विचारले नै जनमानसलाई सही दिशा प्रदान गर्न सक्छ।
    फ्रान्सको राज्य क्रान्तिपूर्व संसारभरि राजतन्त्र थियो। आम मानिस कि दास थियो कि दासजस्तै जीवन बाँच्न बाध्य थियो। सन् १७८९ मा भएको फ्रान्सको राज्यक्रान्तिले स्वतन्त्रता, समानता र सुरक्षित भविष्यको जुन परिकल्पनाको बास्ना सम्पूर्ण विश्वमा छर्न सफल भयो त्यसैको परिणामस्वरूप आज विश्वका प्रायःजसो राष्ट्र राजतन्त्रात्मक शासन पद्धतिबाट मुक्त हुन सफल भएका छन्। यस कारण फ्रान्सको राज्यक्रान्तिलाई विचारको क्रान्ति पनि भनिएको छ। त्यहाँ केही यस्ता दार्शनिकहरू थिए जसले जनतालाई कैयौं नयाँ विचार दिए, जसले आम जनताको आँखा खोल्ने काम ग–यो। मन्टेस्क्यूले शक्ति पृथकीकरणको सिद्धान्त दिए भने रूसोले सामाजिक सम्झौताको सिद्धान्त प्रतिपादित गरे। यसैगरी भोल्टेयरले व्यङ्गात्मक नाटकको माध्यमले चर्चमाथि प्रहार गर्दै तत्कालीन भ्रष्ट चर्चलाई निर्मूल गर्ने नारा दिए भने दिदेरोले नयाँ शब्दकोषको माध्यमले तत्कालीन शासन व्यवस्थामाथि प्रहार गरे। जनताले चाहेको तर भन्न नसकेको कुरालाई यी दार्शनिकहरूको विचारको माध्यमले सुन्दा जनता आन्दोलित भयो। फलस्वरूप एकपछि अर्को देशमा आन्दोलनको शुरूआत र राजतन्त्रको ठाउँ प्रजातन्त्रले लिन थाल्यो। यो जीत सशस्त्र क्रान्तिको नभएर वैचारिक क्रान्तिको थियो।
    कुनै पनि प्रकारको युद्धबाट जनतालाई त्यति प्रभावित गर्न सकिंदैन जति सजिलै विचारको प्रवाहबाट गर्न सकिन्छ। इङ्गल्यान्डमा भएको औद्योगिक क्रान्ति पछि नयाँ–नयाँ पूँजीपतिहरूको जन्म भयो। बिस्तारै उनीहरूले कामदारको शोषण गर्न थाले। यस प्रकार धनी र गरीबबीच खाडल बढ्न थाल्यो। त्यसबेला लेनिन र कार्लमाक्र्सले साम्यवादी विचारको स्वरूप, आधार र प्रयोग जनतामाझ प्रस्तुत गर्दा त्यो विचार जनतालाई सही प्रतीत भयो। फलस्वरूप आज संसारका करीब एक तिहाई जनताले साम्यवादी शासन पद्धतिलाई स्वीकार गरेको छ।
    विचारले मनःस्थितिलाई परिवर्तित गर्दछ र मनःस्थितिले परिस्थितिलाई। विचारको प्रचारले नै बौद्ध धर्म नेपालको एक कुनाबाट एशियाका धेरैजसो देश– चीन, भारत, जापान, श्रीलङ्का, तिब्बत, जावा, सुमात्रा आदि देशमा फैलिन सफल भयो। यसैगरी विचार क्रान्तिको प्रभावले गर्दा नै आज विश्वको जनसङ्ख्याको एक तिहाई ईसाई छ। यसैगरी अन्य धर्मले पनि संसारमा आआफ्नो विचारको प्रभावले स्थान ओगट्न सफल भएको देखिन्छ। यदि आज हामी जनताको अगाडि प्रभावशाली र आकर्षक तवरले सही विचार प्रस्तुत गर्न सक्यौं भने नयाँ नेपालको परिकल्पनाले मूर्त रूप लिन बेर लगाउँदैन।
    वर्तमान परिप्रेक्ष्यमा मानिसको सोच यस्तो मान्यतासँग जोडिन पुगेको छ जहाँ तुरुन्त फाइदा पाउनका लागि जे पनि गर्न तयार छ। आज नीति, नियम, सदाचारलाई भाषणमा मात्र स्थान प्राप्त छ। यस परिस्थितिको प्रत्यक्ष उपचार समयमैं गर्नुपर्छ अन्यथा प्रजातन्त्र खतरामा पर्ने सम्भावना हुन्छ। यस कारण पनि वैचारिक क्रान्ति आजको प्रमुख आवश्यकता बन्दै गएको छ किनभने विचार शक्ति विश्वको यस्तो ठूलो शक्ति हो जसमा हाम्रो सोचलाई परिवर्तित गर्ने ताकत हुन्छ।
    आज शोषण र उत्पीडन नयाँ–नयाँ स्वरूप धारण गरेर हाम्रो अगाडि उपस्थित हुन थालेको छ। ‘मुखमा राम, बगलीमा छुरी’ भन्ने लोकोक्ति पाइलापाइलामा चरितार्थ भइरहेको छ। राजनीतिक क्षेत्रमा कथनी र करनीमा कुनै समानता देखा पर्दैन। अन्तर्राष्ट्रिय क्षेत्रसँगै नेपालमा पनि घटित घटनाहरूले मानव जातिको भविष्य नै अन्धकारतर्फ ढकेल्दै लगेको छ। व्यक्तिगत र सामाजिक दोष पनि दिनानुदिन बढ्दै गइरहेको छ। यस परिस्थितिमा हाम्रो सोच परिवर्तनका लागि विचाररूपी अस्त्रको प्रयोग अति आवश्यक भइसकेको छ। यस प्रकारको दुष्प्रवृत्ति रोक्नका लागि त्यसविरुद्ध कडा घृणा होइन, सशक्त विचाररूपी शक्ति प्रदर्शित गर्नुपर्छ। विकृत क्रियाकलाप गर्ने मानिसलाई न सहयोग गर्नुहुन्छ, न प्रशंसा नै। एउटा मानिससित भएको अन्यायलाई सम्पूर्ण समाजप्रति भएको अन्याय बुझ्नुपर्छ। यस प्रकारको विचार घरघरमा पु–याउनुपर्छ। अनिमात्र समृद्ध नेपाल सुखी नेपाली र कोरोनामुक्त नेपालको राष्ट्रिय परिकल्पनाले साकार रूप लिन सक्छ।
    हाम्रो सोचको विकृतिले गर्दा नै समाजमा थरीथरीको कुरीति फैलिरहेको छ। हामी दिन प्रतिदिन सुविधाभोगी बन्दै गइरहेका छौं। धैर्यको अभाव, अहम् प्रदर्शन र विवेकको विसर्जनले गर्दा आज हाम्रो समाजमा मानवीय संवेदना लोपोन्मुख अवस्थामा पुगेको छ। यो यस्तो सरुवा रोग हो, जसको उपचार यदि समयमैं गरिएन भने यसले एउटा परम्पराको रूप धारण गर्न बेर लगाउँदैन। किनभने समस्त दुर्गुणहरूको उद्गमस्थल मानिसको दुर्बुद्धि हो। आज हामीले विवेकलाई पुरातनवादी सोच भनेर एउटा कुनामा थन्काइदिएका छौं। आज चारैतिर भ्रष्टाचार र मनपरीतन्त्र गर्वको विषय मान्न थालिएको छ। हाम्रो देश नेपालको सन्दर्भमा भन्नुपर्दा चारैतिर नकारात्मक विचारको चलखेल भइरहेको छ। आम मानिसको चाहना यसबाट उन्मुक्ति हो। यस परिस्थितिमा यसको उपचार नहुन्जेल कुनै पनि समस्याको समाधान सम्भव छैन। समस्या समाधान वैचारिक क्रान्तिले मात्र सम्भव छ, किनकि आजको सबै समस्याको समाधान सम्बन्धित निकायले इमानदारीपूर्वक आआप्नो जिम्मेवारी वहन गर्नु हो।  
    भारतीय लोकनायक जयप्रकाश नारायणले एकपटक भनेका थिए– वैचारिक क्रान्ति सानो–ठूलो सबैखाले क्रान्तिको सशक्त आधार हो। विचार परिवर्तनबेगर कुनै पनि परिवर्तन सम्भव छैन। हुनु पनि हो, वैचारिक क्रान्तिको आधारमा जनमानसको मान्यता र निष्ठालाई परिवर्तित गरेर उसको गतिविधि र उसले गर्ने क्रियाकलापलाई परिवर्तन गर्न सकिन्छ। हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको आधार पनि वैचारिक क्रान्ति नै हो। यस कारण लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न वैचारिक क्रान्तिलाई अभियानकै रूपमा सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्