वडाध्यक्षमाथि सार्वजनिक जग्गा हिनामिनाको आरोप

0
58


प्रस, परवानीपुर, २ कात्तिक/
    वीरगंज महानगर–३१ बेलवाका वडाध्यक्ष चुमन दास चौधरीले आफ्नो पदीय जिम्मेवारी दुरुपयोग गरिरहेका छन्।
    वडाको सार्वजनिक सरोकारका विषयमा कानूनविपरीत कार्य गरेर आर्थिक स्वार्थमा लीन हुँदै गएको गाउँलेको आरोप छ। वडाध्यक्ष चौधरीले साबिक बेलवा गाविस वडा नं १ कित्ता नं ७८ को १ कट्ठा १ धुर क्षेत्रफल भएको सार्वजनिक इनारको जग्गा आर्थिक प्रलोभनमा परी स्थानीय प्रयाग राउत अहिरको व्यक्तिगत भोगचलन रहेको पनि गत असार २४ गते सिफारिश गरिसकेका छन्। जसको आधारमा प्रयाग राउतले नयाँ पुर्जा बनाउन मालपोत र नापी कार्यालय धाइरहेका छन्। वडाध्यक्ष गाउँका सोझासाझा जनतालाई महतो धानुक, वासुदेव राउत अहिर, प्रमोदकुमार साह, सरविन्द दहित थारू र रामानन्द महतो धानुकको रोहबरमा जालसाजी गरी मुचुल्का बनाइ भूमिसुधार तथा मालपोत कार्यालयको नाममा सिफारिश गरेका छन्। त्यसपछि बेलवा १ का पूर्ववडाध्यक्ष लालबहादुर महतो, सुरेन्द्र यादव, अजय साहसमेतले वीरगंज महानगरको वडा नं ३१ को कार्यालय, पर्सा जिल्ला अदालतमा जग्गा खिचोला र जालसाजीको मुद्दा दर्ता गराएका छन्।
    यसैबीच, आक्रोशित गाउँलेले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा परमादेशको लागि गत असोज १३ गते रिट गर्दा उच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र रमेशराज पोखरेलको संयुक्त इजलासले इनारको सो जग्गामा कुनै निर्माणको काम नगर्न नगराउन परमादेश जारी गरी कात्तिक १३ गतेको लागि पेशी राखेको छ।
    यता, सिफारिश गराउने प्रयाग राउत पक्षका मानिसले पुस्तैनी जग्गा प्रयाग राउतकै भएको दाबी गरेका छन्। उनीहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको दाबी गरेका छन्। वडाध्यक्ष यसअघि पनि नेरा आधारभूत विद्यालय बेलवा प्रसौनीमा शिक्षक नियुक्ति अनियमितता प्रकरणमा उनको नाम जोडिएको थियो। करीब ६ लाख घूस लिएर उनकै इसारामा शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्यालयका प्रधानाध्यापक सचिन कापर, विद्यालयका शिक्षक मनिर देवान, विद्यालय व्यवस्थापन समितिका सदस्य इलियास अन्सारी, जमिल अन्सारी र नियुक्ति हुने शिक्षक उमेश महतो गरी ५ जनालाई अख्तियारले १ लाख घूससहित एक वर्षअघि वीरगंज लिङ्करोडस्थित शिवा अस्पतालको एक चियापसलबाट साँझको समयमा पक्राउ गरेको थियो। एक लाख धरौटीमा ५ जना रिहा भएका थिए भने मुद्दा अहिले चलिरहेको छ।
    त्यसैगरी, प्रधानाध्यापक र शिक्षक निलम्बित छन्। यस विषयमा वडाध्यक्ष चौधरीको प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल स्वीच अफ थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्