चोर समूहद्वारा दम्पतीमाथि धारिलो हतियार प्रहार

0
28


प्रस, रौतहट, २ कात्तिक/
    रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौरामा शनिवार राति चोर समूहले एक घरमा दम्पतीमाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको छ।
    ३५ वर्षीय हरेन्द्र साह र उनकी पत्नी शिला देवीमाथि चोर समूहले धारिलो हतियार प्रहार गरी साङ्घातिक आक्रमण गरेका हुन्। धारिलो हतियारले हरेन्द्रको दाहिने कान र उनकी पत्नीको दाहिने पाखुरामा गम्भीर चोट लागेको छ।
    उनीहरूको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको  र स्थिति सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए।
    राति करीब १ बजे साह दम्पती सुतिरहेको अवस्थामा अज्ञात समूहले दुवैजनामाथि धारिलो हतियारले आक्रमण गरेको थियो। प्रहरीका अनुसार घरमा चोर देखेर शिला देवीले होहल्ला गर्दा उनीमाथि पहिले र उनको पति हरेन्द्र जागेपछि उनीमाथि पछि आक्रमण भएको अनुमान छ। घटनाको अनुसन्धान तथा संलग्नको खोजी भइरहेको प्रवक्ता श्रेष्ठले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्