खैरो हेरोइनसहित दुईजना पक्राउ

97


प्रस, सप्तरी, २ कात्तिक/
    जिल्ला प्रहरी कार्यालय सप्तरीले पचास ग्राम लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुईजनालाई पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–७ निवासी १९ वर्षीय नीरज शर्मा र २७ वर्षीय भरत शर्मा  रहेको प्रहरीले जनाएको छ। शनिवार पक्राउ परेकाहरूलाई आइतवार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
एउटै मोटरसाइकलमा सवार उनीहरूको साथबाट १० ग्रामको दरले पाँचवटा पोकामा जम्मा ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद ६ हजार ९ सय रुपियाँ बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
    प्रहरी टोलीले जिल्लाको कृष्णासवरण गाउँपालिका–५ महुलीस्थित सडकखण्डबाट पक्राउ गरेको हो। महदेवा गाउँबाट महुलीतर्फ जाँदै गरेको स.७प १८६५ नम्बरको मोटरसाइकलमा दुवैजना सवार थिए। सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको कमान्डमा खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो। पछिल्लो समय लागूऔषध ब्राउन सुगर कारोबारको लागि महुली ट्रान्जिट प्वाइन्ट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ। पक्राउ परेकाहरू सेवनकर्ता नभई कारोबारी भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्