शव व्यवस्थापनबारे सेनाको पत्रकार सम्मेलन

0
60

प्रस, वीरगंज, ३० असोज/
वीरगंजमा रहेको चण्डीप्रसाद गणका गणपति मदनजङ्ग राणाले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी कोरोनाका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन कसरी भयो भन्ने विषयमा जानकारी गराए ।

पत्रकार सम्मेलनमा उनले पर्सामा अहिलेसम्म ५१ जनाको शव व्यवस्थापन गरिएको बताए । उनले ३७ वटा शव गाडेको र १४ वटा जलाएको बताए । ५१ जनाको शवमा ३८ जना पुरुष र १३ जना महिला रहेको गणपति राणाले पत्रकार सम्मेलनमा बताए ।

कोरोनाबाट मृत्यु हुने ५१ जनामा ४२ जना वीरगंज महानगरका र बाँकी गाउँपालिकाको भएको उनले जानकारी गराए । उनले सङ्क्रमितमध्ये पहिलो मृत्यु २०७७ जेठ २८ गते एकजना बेवारिसे व्यक्तिको भएको बताए । मृत्युपश्चात् गरिएको स्वाब परीक्षणमा बेवारिसे व्यक्ति सङ्क्रमित पुष्टि भएको गणपति राणाले जानकारी गराए ।

शुरूको चरणमा शव व्यवस्थापन निकै चुनौतीपूर्ण भएको उनले बताए । बिस्तारै जनतामा सचेतना जागृत भएको र अहिले शवको व्यवस्थापनमा समस्या नभएको उनले जानकारी गराए । गणपति राणाले तीनजना भारतीय जमातीबाट पर्सामा शुरू भएको कोरोना सङ्क्रमण अहिले तीन हजार मानिस सङ्क्रमित भएको बताए । पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ पनि सहभागी थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्