मालपोत पर्सामा प्रशासनको रात्रिकालीन छापा

0
88

प्रस, वीरगंज, ३० असोज/
भूमिसुधार तथा मालपोत कार्यालय पर्सामा जिल्ला प्रशासन कार्यालय पर्साले बिहीवार राति छापा मारी कर्मचारी र लेखनदासलाई पक्राउ गरेको समाचार छ ।
बिहान १० देखि दिउँसो ५ बजेसम्म सञ्चालन हुने कार्यालयमा अबेर राति साढे ८ बजेसम्म कर्मचारी र लेखनदास मात्र बसेर काम गरिरहेको सूचनाको आधारमा प्रशासनले छापा मारेको हो । छापामारीको क्रममा जिल्ला प्रशासन कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको टोलीले मालपोतमा राति काम भइरहेको लेखतसहित कर्मचारी, लेखनदास गरी २१ जनाबाट ३७ हजार नगद बरामद गरेको थियो भने रजिस्ट्रेशन शाखाका तीनवटा दराजबाट १२ हजार नगद बरामद गरेको थियो । मालपोत कार्यालयमा विगत दुई वर्षदेखि नगदविहीन कारोबार भइरहेको छ । त्यहाँ लाग्ने दस्तुर कार्यालयमा रहेको बैंकमा दाखिला गर्नुपर्छ । बरामद रकम लेखनदासबाट कर्मचारीले बुझेको र लेखनदासले कर्मचारीलाई दिनका लागि राखेको हुनुपर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निमित्त कार्यालय प्रमुख सुमन झाले राति काम गर्नुको कारण मालपोतमा कर्मचारी अभाव रहेको बताए । उनले शुरूमा कर्मचारीहरू मात्र बसेर काम गरिरहेको बताएका थिए । तर छापामारीको क्रममा ८ जना लेखनदास पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले बताए ।
कर्मचारी र लेखनदास मात्र सेवाग्राहीविना राति शङ्कास्पद अवस्थामा काम गरिरहेको देखिएपछि १३ जना कर्मचारी र ८ जना लेखनदासलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएका कर्मचारीलाई हाजीर हुने गरी लिखित गराएर छाडिएको र लेखनदासलाई हिरासतमा राखिएको छ ।
मालपोत कार्यालय पर्सामा कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने हुँदा पैसा दिने मानिसको काम रातिपख लेखनदासहरूको संलग्नतामा हुने गरेको छ । भर्खरै मात्र नक्कली कागजपत्रसहित वीरगंजको मुख्य सडकको जग्गा किर्ते गरी बिक्री गरिएको घटनामा मालपोत कार्यालय पर्सा चर्चामा आएको छ । निमित्त कार्यालय प्रमुख झाले नै सो किर्ते जग्गाको कागजात सनाखत गरेर पास गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्