दशैंसित नेपाली सर्जकको नाता

0
37

    -संजय मित्र 

विषय वा प्रसङ्गले अर्को अर्थ लाग्नुहुँदैन, यहाँ नेपाली भनेको नेपाली नागरिक हो भन्ने बुझ्नुपर्छ । र दशैं भन्नाले असोज महीनाको दशैं बुझ्नुपर्छ । यस वर्षलाई कात्तिक महीनाको दशैं मान्दा पनि हुन्छ तर तिथिले असोज महीना नै रहेको छ ।
    दशैं चैत महीनामा पनि मनाइन्छ, जसलाई चैते दशैं भनिएको पाइन्छ । कतिपयले चैते दशैंलाई सानो दशैं र असोजको दशैंलाई ठूलो दशैं भन्ने गरेका छन् ।
    दशैंको समयलाई सबैले आफ्नै किसिमले उपयोग गर्ने योजना बनाउँछन् । यस वर्ष त कोरोना महामारीका कारण धेरैले पहिले नमनाएको किसिमले अत्यन्त सावधानीपूर्वक मनाउने भएका छन् तर पनि केही यस्ता क्षेत्र छन्, जसमा दशैंको योजना विशेष हुन्छ । त्यस्ता क्षेत्रमध्ये एक सिर्जना पनि हो ।
    दशैंमा साहित्य सिर्जनाले पहिलेदेखि नै बजार लिंदै आएको छ । दशैंको समयमा अन्य समयको तुलनामा केही बढी साहित्यिक कृतिको बिक्री हुने गर्दछ । अहिले अनलाइनको जमाना आइसकेको छ । तर पनि प्रकाशित साहित्यिक कृतिको बिक्री खासै कम भएको छैन । अनलाइनमा साहित्यिक सिर्जना पढ्ने बढेका छन् र साहित्यिक कृतिको बिक्री पनि बढेको छ । साहित्यिक कृतिको प्रकाशन पनि बढेको छ । यसबाट यो स्पष्ट हुन्छ कि साहित्यिक गतिविधि बढेको छ र साहित्यको सिर्जना गर्ने तथा साहित्य पढ्ने सबै बढेका छन् ।
    साहित्य सिर्जना गर्नेहरू बढ्नु र साहित्यिक कृति वा रचनाको पाठकमा वृद्धि हुनु फरक कुरा हुन् । अहिले पनि के पाइएको छ भने जुन कृतिको समीक्षात्मक चर्चा अलिक बढी हुन्छ, त्यस कृतिको बिक्री निकै भएको पाइएको छ । कृतिको लेखक, कृतिको विषय, प्रस्तुतिको तरीका र सञ्चारमाध्यममा कृतिको चर्चा आदिले कृतिको पाठक वृद्धि हुने हुन्छ ।
    साहित्यिक कृतिको बिक्रीको अवस्था सन्तोषजनक नभएको गुनासो रहेको छ । यस गुनासोको पछाडि सर्वसाधारणमा प्राज्ञिक क्षमता कम हुनु हो वा अध्ययनलाई जीवनको अङ्ग बनाउन नसक्नु हो वा पाठक नै विपन्न हुनु हो वा पाठकमा हुनुपर्ने अन्य गुणको अभाव हुनु हो । अर्को पनि सत्य हुन सक्छ, जहाँ शिक्षा र चेतनाको अभाव छ, त्यहाँ साहित्य कसैले कसरी पढ्न सक्छ ?
    साहित्यको बिक्रीको अवस्था जस्तोसुकै भएपनि दशैंसित साहित्य र सर्जकको निकै घनिष्ट नाता भइसकेको छ । एक त लामो समय बिदा हुनु र दोस्रो मनमा उमङ्गको वातावरण हुनुले साहित्य र दशैंबीच निकटको सम्बन्ध स्थापित हुन पुगेको हो । हुनत नेपाली साहित्य वा नेपालका विभिन्न भाषाभाषीको इतिहासलाई दशैंको इतिहाससित तुलना गर्न सकिंदैन । तर पनि के देखिन्छ भने दशैं र नेपाली साहित्यबीच अन्योन्याश्रित सम्बन्ध गाँसिन पुगेको छ । यसमा दुवै कुरा देखिन्छन्– सर्जकले दशैंलाई लक्षित गरी साहित्य सिर्जना गर्दछन् भने पाठकले पनि दशैंलाई लक्षित गरी साहित्यिक पत्रपत्रिका वा कृति सङ्ग्रह पनि गर्दछन् । दशैंको समयमा साहित्यको विस्तारलाई समाचारमूलक अखबार तथा म्यागजिनहरूले पनि सहयोग गरेका छन् । दशैंको समयमा प्रकाशित हुने अधिकांश यस्ता पत्रपत्रिकाले पाठकलाई तान्न र साहित्यको विस्तार गर्न पर्याप्त मात्रामा साहित्यिक सिर्जनाहरू प्रस्तुत गर्ने गरेका हुन्छन् । प्रायः अधिकांश भाषामा यो चलन बढ्दै गएको भएपनि नेपाली भाषा र साहित्यको क्षेत्रमा भने यसले निकै विस्तार पाइसकेको सामाजिक यथार्थ हो ।
    लामो बिदा, सांस्कृतिक सम्पदा र साहित्य सिर्जनाको सम्बन्धले गर्दा दशैं देशको राष्ट्रिय पर्व बनिसकेको छ ।
    गत चैतदेखि देशमा ६ महीनासम्म बन्दाबन्दी चलिरह्यो । बन्दाबन्दीको समयलाई अधिकांश सर्जकले साहित्य सिर्जनाको क्षेत्रमा समयको उपयोग गरे । बन्दीबन्दीको समय साहित्य पठन संस्कृतिको दृष्टिकोणले पनि उर्वर नै रह्यो भने सिर्जनको दृष्टिकोणले त अति उर्वर बन्न पुग्यो । विभिन्न किसिमका साहित्यिक अभियानहरू नै चलाइए । झन्डै हरेक दिन साहित्यिक गोष्ठीहरू भएको पाइएको थियो, अनलाइन प्रविधिमार्फत् । फेसबूक र म्यासेन्जरमा विभिन्न किसिमका साहित्यिक समूहको निर्माण गरी साहित्य सिर्जनाको लागि प्रोत्साहन गर्ने, पुराना रचनाहरू पनि प्रकाशित गर्नेजस्ता पर्याप्त उत्साहबद्र्धक कामहरू भएका थिए । बन्दाबन्दीले साहित्य सिर्जनाको समयमा ऊर्जा थप्ने काम गरेको छ ।
    जबकि बन्दाबन्दीको समय कोरोनाको त्रासले मनोवैज्ञानिकरूपमा आक्रान्त पार्ने किसिमको थियो । एउटा आक्रान्त युगलाई सर्जकहरूले सिर्जनमय बनाए । दशैं त आफैंमा उत्साहको पर्व हो । सम्भव भएसम्म घर, आँगन तथा वस्त्रमा नयाँपन देखाउने गरिन्छ । शरद ऋतुको राष्ट्रिय उत्सव हो । एक त शरद ऋतु कवि लेखकलाई आफैंमा प्यारो मानिंदै आएको छ, परम्परादेखि नै । संस्कृत वाङ्मयदेखि नै शरदको सुन्दर वर्णन गर्ने संस्कृति रहेको छ । त्यसैमा दशैं पनि । दशैं त आफैंमा संस्कृति हो । साहित्य र संस्कृतिको सम्बन्ध त जन्मजात हुन्छ । लिखित साहित्यको आरम्भ हुनुभन्दा पहिलेदेखि नै संस्कृतिसित मौखिक साहित्यको परम्परा रहेको छ ।
    लोकसाहित्य यसको उदाहरण हो । लोकसाहित्यको अध्ययन गर्ने हो भने लोकजीवन वा लोकवाङ्मयका सम्पूर्ण क्षेत्र यसमा समेटिएको पाइन्छ । संंस्कृति त यसको अङ्ग नै हो । लोकसाहित्यमा संस्कृति पर्याप्त मात्रामा आएका छन् । दशैंमा घरका सबै सदस्य अर्थात् झन्डै तीन पुस्ता एक ठाउँमा भेला हुने भएकाले यसको आफ्नै रमाइलो पक्ष रहेको छ नै, यसले लोकसाहित्य र लोकसंस्कृतिलाई हस्तान्तरण पनि गर्दछ । यो जीवन्त परम्परा हो ।
    नेपालको भूगोलभित्र रहेका सबै सर्जक तथा नेपालको भूगोलबाहिर रहेका नेपाली जाति वा भाषाका सर्जकहरू सबैलाई हेर्ने हो भने दशैंप्रति अनुरक्त हुन्छन् । दशैंप्रति सर्जकहरूको अनुराग वा लगाव देखावटी हुँदैन, अन्तर्हृदयदेखि नै हुन्छ । यसैले गर्दा हरेक वर्ष दशैंको समयमा सर्जकहरूले साहित्य सिर्जना गर्दछन् । अन्य सबै चाडपर्वको समयमा सम्बन्धित चाडको बारेमा साहित्य सिर्जना गरिन्छ तर दशैंको समयमा दशैं तथा अन्य संस्कृतिसित सम्बन्धित साहित्यको पर्याप्त सिर्जना भएको पाइन्छ ।
    अभिव्यक्तिको एउटा कलामध्ये मूर्तिकला पनि हो । दशैंको समयमा मूर्तिकला तथा चित्रकलाको क्षेत्रमा पनि पर्याप्त काम भएको पाइन्छ । आधुनिक तथा लोकनृत्यको पनि उत्तिकै धेरै महत्व रहेको छ । गायनको क्षेत्रमा पनि दशैंले आफ्नो विशिष्ट स्थान सुरक्षित राखेको छ । यसरी वाङ्मयका विभिन्न क्षेत्रसित दशैंको प्रत्यक्ष नाता रहेको भएपनि साहित्यसित भने अझ घनिष्ट सम्बन्ध रहेको देखिन्छ । दशैंको साहित्यसित सर्जक, प्रकाशक तथा पाठक गरी कम्तीमा तीन पक्ष लाभान्वित हुने गरेको पाइन्छ । दशैंले एकातिर साहित्यको पाठक जुराइदिने काम गर्दछ भने अर्कोतिर साहित्यको बिक्री बढाइदिने गर्दछ । साहित्यको बजारीकरणमा सहयोग गर्ने गर्दछ ।
    सबैभन्दा महत्वपूर्ण पक्ष दशैंको बारेमा निरन्तर साहित्य लेखिनु हो र दशैंको समयमा साहित्य पढिनु हो । साहित्यप्रति रुचि भएका तर अन्य समयमा पढ्ने फुर्सद नपाएका बौद्धिक व्यक्तित्वहरूले भने यही समयमा केही कृतिको पठन गरी मानसिक खुराक प्राप्त गर्दछन्, शान्ति प्राप्त गर्दछन्, ज्ञान तथा प्रज्ञा वृद्धि भएको पाउँछन् । दशैंमा हुने साहित्यको चहलपहलले पनि नेपाली साहित्यको स्तर वृद्धिमा प्रत्यक्ष सहयोग पु-याएको पाइएको छ ।
    अरू समयमा जतिसुकै फुर्सदमा भएपनि सर्जकहरूको लागि दशैंको फुर्सद भने सिर्जनको दृष्टिकोणले अमूल्य हुन्छ । साहित्यकारहरूसित दशैंको थप अन्योन्याश्रित नाता रहेको छ, जसको प्रगाढता प्रविधि र शिक्षाको विकाससँग अझ बलियो बन्दै गएको छ । विश्वमा कुनै संस्कृतिसित साहित्यको यति गहिरो नाता भएको सम्भवतः यो अग्रणी उदाहरण हुन सक्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्