कोपिला: नेपालको आफ्नै मौलिक कविता विधा

0
48

     -बैधनाथ ठाकुर 

एउटा समय थियो, जतिबेला चितवन जिल्ला शिक्षाको क्षेत्रमा निकै पछाडि थियो । २०३५ सालतिरको कुरा हो । चितवनका विद्यार्थीहरू कि त राजधानीमा उच्च शिक्षा हासिल गर्न जान्थे वा वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा आइपुग्थे । तर यतिबेला अवस्था फेरिएको छ । चितवन जिल्ला गुणस्तरीय शिक्षाको हबको रूपमा विकास भएको छ ।
    यतिबेला चितवन जिल्ला चिनाउने दासढुङ्गादेखि लिएर अनेकौं कुरा छन् । पर्यटकीय, धार्मिक तथा शैक्षिक क्षेत्रमा चितवनले नयाँ पहिचान कायम गरेको छ ।
    पञ्चायतकालमा चितवन जिल्लालाई भण्डाराको तत्कालीन मालेका जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालले वाम प्रभावित जिल्लाको रूपमा परिचय गराएका थिए । हो, यही भण्डाराको गिरिराज डल्लाकोटीले नेपाली साहित्यको क्षेत्रमा आफ्नै मौलिकतामा साहित्यिक विधा–‘कोपिला’को सृजना गरेका छन् । वास्तवमा कविताको रूपमा हामीले लेख्दै आएका सबै विद्या नेपालबाहिरबाट आएका हुन् । यिनीहरूमा नेपालको आफ्नो मौलिकता छैन । गजल तथा मुक्तक अरबी, उर्दू र हिन्दी हुँदै नेपाली साहित्यमा आएका हुन् । त्यसैगरी, छन्द कविता संस्कृतबाट आएको हो । गद्य कविता पनि अङ्ग्रेजीबाट हिन्दी हुँदै भित्रेको हो ।
    नेपाली भाषाले भाषिक विकासको लामो चरण पार गरिसकेको अवस्थामा मौलिक नेपाली कविता विधाको आवश्यकता सबैले महसूस गरिरहेको थियो । वर्तमानको यही कार्यभार पूरा गर्न नेपाली साहित्यको आकाशमा कोपिला देखिएको छ । वास्तवमा कोपिला नेपाली रहनसहन, परिवेश, संस्कृति, संस्कार अनुरूप झर्रा वा ठेट नेपाली शब्दहरू राखेर लेख्न सकिने भएकोले यो अति नै सरल र सहज पनि छ । कोपिलामा  सम्पूर्णरूपमा नेपालीपन छ । यो एकदमै नयाँ शैली हो । २०७७ वैशाख १ गतेबाट यसको लेखन कार्य गिरिराज डल्लाकोटीबाट नै शुरू गरिएको हो ।

    ‘कोपिला’ यी दुई पातका बीचमा एउटा मुना राखेर तीन हरफमा लेखिन्छ ।  पहिलो र तेस्रो हरफलाई पात भनिन्छ र दोस्रो हरफलाई मुना भनिन्छ । पातहरू अनुप्रास र स्थायीले सजिएका हुन्छन् । मुना मूलभाव बोकेको स्वतन्त्र हरफ हो । मुना पातहरूभन्दा लामो लेखिन्छ । पातहरूमा उच्चारण अनुसार अक्षर सङ्ख्या बराबर राख्नुपर्छ । जस्तो कि–
जानेका छन् रगत पिउन यहाँ (पात)
अन्धविश्वासलाई महान् बताउनेहरू (मुना)
सबैका ओठ सिउन यहाँ ११ (पात)
                   –बैद्यनाथ ठाकुर
    यसमा ‘पिउन’ र ‘सिउन’ अनुप्रास वा तुक हुन् । ‘यहाँ’ स्थायी हो । स्थायी भनेको दुवै पातको अन्त्यमा आउने उही शब्द वा शब्दसमूह हो । यसरी नै अनुप्रास र स्थायी राखेर पातहरू लेखिन्छन् । “अन्धविश्वासलाई महान् बताउनेहरू” मुना हो र यसैमा कोपिलाको मूलभावको बीजारोपण भएको छ । कोपिलामा पातहरूको स्थानान्तरण गर्दा पनि केही फरक पर्दैन । माथिको कोपिलालाई यसरी पनि लेख्न सकिन्छ–
सबैका ओठहरू सिउन यहाँ
अन्धविश्वासलाई महान् बताउनेहरू
जानेका छन् रगत पिउन यहाँ !!
    कोपिला वाचन गर्दा जताबाट शुरू गरे पनि हुन्छ । शुरूमा मुना र त्यसपछि पातहरू गाउँदा वा वाचन गर्दा माधुर्य आउँछ ।
    कोपिलामा पातहरू ३ देखि १५ अक्षरसम्मका र मुनामा ४ देखि १८ अक्षरसम्मका राख्न पाइन्छ । पाँचवटा कोपिलाको समूहलाई डाली भनिन्छ । १० वटा डालीको समूहलाई बोट भनिन्छ र १२ वटा बोटको समूहलाई बगैंचा भनिन्छ । यसरी एक बगैंचा भनेको एउटा पुस्तकाकार कोपिला हो ।
कोपिलाका आधारभूत सिद्धान्तहरूः

१. कोपिला एउटा छोटो मौलिक नेपाली सरल कविता विधा हो ।
२. कोपिलाको संरचनामा तीन हरफ हुन्छन् । पहिलो र तेस्रो हरफलाई पात भनिन्छ । यिनीहरूलाई क्रमशः माथिल्लो पात र तल्लो पात भनिन्छ र यिनीहरू एक अर्को स्थानमा स्थानान्तरण हुन सक्छन् । दोस्रो हरफलाई मुना भनिन्छ ।
३. पातहरूमा अनुप्रास र स्थायीको प्रयोग हुन्छ भने मुनामा अनुप्रास र स्थायीको प्रयोग हुँदैन । अनुप्रास भनेको अन्य कविता विधाहरूमा प्रयोग हुनेजस्तै अनुप्रास हो भने स्थायी भनेको अनुप्रासभन्दा पछि आउने वा अनुप्रासमा समास भएको शब्द वा शब्दहरू बुझिन्छ । मुना स्वतन्त्र शब्दहरूमा लेखिन्छ ।
४. कोपिलाको मूलभाव मुनामा रहेको हुन्छ भने पातहरूले मूलभावलाई सिङ्गार्ने, पुष्टि गर्ने, रस थप्ने, उपमा दिने, विम्ब  सम्प्रेषण गर्ने, व्यङ्ग्य गर्ने आदि कार्य गर्दछन् । पातहरू र मुनाको बीचमा घनिष्ठ सम्बन्ध हुन्छ ।
५. कोपिलाको संरचनामा दुवै पात बराबर लम्बाइका हुन्छन् भने मुना पातहरूभन्दा १ देखि ५ अक्षरसम्म लामा हुन्छन् ।
६. पातहरूमा ३ देखि १५ सम्म अक्षर राख्न सकिन्छ भने मुनामा ४ देखि १८ सम्म अक्षर राख्न सकिन्छ ।
७. कोपिलामा अक्षर गणना गर्दा उच्चारण अनुसार गरिन्छ । अथवा लेखाइका आधारमा हैन कि वाचन तथा गायनका आधारमा गणना गरिन्छ ।
८. कोपिलामा पातहरूको अन्तिम स्वरमा असङ्गति हुनुपर्छ । अथवा पातहरूको भन्दा मुनाको अन्तिम स्वर भिन्न हुनुपर्छ ।
९. कोपिलामा चिह्नहरूको प्रयोग स्वतन्त्र हुन्छ ।
१०. कोपिला लेख्दा वा छाप्दा पातहरूभन्दा मुना लामो देखिने गरी लेखिन्छ, छापिन्छ ।
११. कोपिला वाचन गर्दा मूलभाव
उजागर गर्नका लागि शुरूमा मुना, पात र पात वाचन गरिन्छ र पछि पात, मुना र पात वाचन गरिन्छ । पात,
मुना र पातको वाचन गर्दा माथिल्लो वा तल्लो जुनसुकै पातबाट पनि शुरू गर्न सकिन्छ ।
१२. कोपिला नेपाली साहित्यिक धरातलमा सिर्जना भएको विधा भएपनि यो जुनसुकै भाषामा पनि सजिलै लेख्न सकिन्छ ।
१३. नेपाली भाषामा लेखिएको कोपिलामा सकेसम्म ठेट नेपाली शब्दहरूको प्रयोग गरिन्छ । लोपोन्मुख नेपाली शब्दहरूलाई यसै विधामार्पmत् संरक्षण गर्न सकिन्छ । विशेष परिस्थितिमा यसमा कथ्य भाषाका शब्दहरू पनि प्रयोग गर्न सकिन्छ ।
१४. कोपिला सर्जकलाई माली भनिन्छ । माली पुरुष भए पुरुष नै र महिला भए प्रकृति भनिन्छ ।
१५. पाँचवटा कोपिलाको समूहलाई डाली भनिन्छ । दशवटा डालीको समूहलाई बोट भनिन्छ । बा¥हवटा बोटको समूहलाई बगैंचा भनिन्छ ।
१६. कोपिला लेख्दा डाली र कोपिलाको सङ्ख्या दिई लेखिन्छ ।
कोपिलाका विशिष्टताहरू :
१. मौलिकताः
    कोपिला एउटा मौलिक नेपाली कविता विधा हो । यो नेपालकै माटोमा विकसित भएको र नेपाली परिवेश सुहाउँदो कविता हो । नेपाली लोकभाका “रोइला”लाई आधार मानेर यसको विकास गरिएको हो । त्यसैले यसको नाम पनि “रोइला” शब्दका स्वरहरूलाई समेटेर “कोपिला” राखिएको हो । यसको संरचना नेपाली जनजिब्रोमा झुन्डिइरहने र मानसपटलमा छाइरहने किसिमको सरल र सरस छ ।
२. गेयताः
    हुनत कोपिला एउटा कविता हो तर निश्चित अक्षरहरू राखेर कोपिला बनाएमा यसलाई रोइला भाकामा वा अन्य भाकामा पनि गाउन सकिन्छ । यसमा प्रयोग गरिएका अनुप्रास र स्थायी गीतहरूबाटै लिइएका हुन् । यसलाई गाउँदा अन्य थुप्रै नेपाली लोकभाकाको पनि अनुसरण गर्न सकिन्छ । यसलाई दोहोरीमा लेख्न, सवाल–जवाफ गर्न वा दोहोरी गाउनका लागि पनि प्रयोग गर्न सकिन्छ । यसमा उच्चारण अनुसार अक्षर गणना हुनु पनि गेयताको पुष्टि हो ।
३. प्रकृतिप्रेमः
    कोपिला प्रकृतिप्रेमी विधा पनि हो । यसले सर्जक तथा पाठकहरूलाई प्रकृतिको नजीक लैजान्छ । यसमा प्रयोग भएका “कोपिला”, “पात”, “मुना”, “डाली”, “बोट”, “बगैंचा”, “बाग”, “माली”, “प्रकृति”, “पुरुष” आदि शब्दहरू सबै प्रकृति, हरियाली, परिश्रम आदि प्राकृतिक विषयवस्तुहरूबाट लिइएका हुन् । यी शब्दावलीमा भुलिरहँदा प्रकृतिबोध तथा आनन्दबोध हुन्छ ।
४. लोचताः
    कोपिलामा प्रशस्त लोच पाइन्छ । यसमा यति नै अक्षर वा शब्द हुनुपर्छ भन्ने सीमा छैन । यो छोटो पनि लेख्न सकिन्छ, लामो पनि लेख्न सकिन्छ । स्रष्टाको मनमा उत्पन्न भएका जस्तोसुकै भावहरूलाई पनि स्वतन्त्र भएर पोख्न सकिन्छ । पातहरू ३ देखि १५ अक्षरसम्म र मुना ४ देखि १८ अक्षरसम्म राख्न सकिन्छ । त्यस्तै, यसमा स्रष्टाहरूको रुचि तथा क्षमता अनुरूप अति सरल भावदेखि अति गहन भाव पनि पोख्न सकिन्छ ।
५. समूहबद्धताः
    कोपिला समूहमा लेखिन्छ र प्रकाशन गरिन्छ । पाँचवटा कोपिलाको एक डाली, दशवटा डालीको एक बोट र बा¥हवटा डालीको एक बगैंचा यसका समूहगत नामहरू हुन् । एक बगैंचा भएपछि कोपिलाको एउटा पुस्तक बनाउने आकार बन्छ । पत्रपत्रिकाहरूमा प्रकाशन गर्न एक डाली वा एक बोट उपयुक्त हुन्छ । यसरी समूहमा आबद्ध गर्दा सर्जकलाई धेरैभन्दा धेरै कोपिला रचना गर्ने अभिलाषा उत्पन्न हुन्छ र कति कोपिला सिर्जना गरियो भन्ने कुरा पनि सजिलै ज्ञात हुन्छ ।
६. स्वरूपमा विशिष्टताः
    कोपिलाको स्वरूप फुल्नुभन्दा पहिलेको कोपिलाजस्तै हुन्छ । यसमा छेउछाउमा पातहरू हुन्छन् र बीचमा मुना हुन्छ । दुवै पातहरूको मुनासँग अन्योन्याश्रित सम्बन्ध रहन्छ । पातहरूभन्दा मुना लामो भएर आप्mनो महत्ता प्रदर्शन गरेको हुन्छ । पातहरूले मुनाको सुरक्षा गर्ने, शृङ्गार्ने र विशिष्ट बनाउने काम गर्छन् भने मुनामा पूmलको भाव लुकेर रहेको हुन्छ । यसले गर्दा कविताको भावमा मात्र होइन लेखाइमा पनि सुन्दरता झल्किन्छ । त्यस्तै, कोपिलाको स्रष्टालाई माली र माली पनि प्रकृति र पुरुष हुनु पनि यसको विशिष्टता हो ।
७. व्यापकताः
कोपिला नेपाली मौलिक कविता विधा भएपनि यो जुनसुकै भाषामा पनि लेख्न सकिन्छ । त्यसैले यो विधा संसारका अरू भाषा साहित्यहरूमा पनि पैmलाउन सकिन्छ । अरबी भाषाको गजल र अङ्ग्रेजी भाषाको सोनेट अन्य भाषाहरूमा सम्प्रेषण भएजस्तै नेपाली भाषाको कोपिलाले अन्य भाषामा सम्प्रेषण हुन सक्ने प्रशस्त आधारहरू बोकेको छ ।
८. उपयोगिताः
    कोपिलाको उपयोगिता अन्य विधाहरूको भन्दा धेरै बढी छ । यसलाई वाचन गर्न पनि मिल्छ र गाउन पनि मिल्छ । यसलाई नारा (कयिनबल)को रूपमा प्रदर्शन गर्न मिल्छ । कुनै सभा–समारोहमा प्रवचन दिंदा वा मुक्तक, गजल, गीत, छन्द आदि प्रस्तुत गर्दा कोपिला वाचन गरेर प्रस्तुति दिन मिल्छ । यसमा दोहोरी र अन्ताक्षरी खेल्न मिल्छ । मुक्तक, गीत, गजल आदि लेख्न चाहने सर्जकहरूका लागि कोपिलाले पूर्वाधार तयार गर्छ । गहन भाव लेख्न चाहने सर्जकले यसैलाई गहनरूपमा उपमा, विम्ब, व्यङ्ग्य तथा नवै रस घोलेर लेख्न पनि सक्छन् ।
९. वाचनमा विशिष्टताः
    कोपिला लेख्दा शुरूमा एउटा पात, त्यसपछि मुना र अन्तमा अर्काे पात राखेर लेखिने भए तापनि यसको वाचन गर्दा शुरूमा मुना वाचन गरिन्छ, त्यसपछि पात, मुना र पातको क्रमशः वाचन गरिन्छ । मुनामा कोपिलाको मूलभाव रहने हुनाले शुरूमा मुना वाचन गरिएको हो । कोपिलामा पातहरू यसरी रहेका हुन्छन् कि दुई पातमध्ये जुन पनि अगाडि वा पछाडि लेखे पनि वाचन गरे पनि उत्तिकै सुहाउँछन् ।
कोपिलाका मानकहरूः
क. अत्यावश्यक मानकहरूः
१. पातहरूमा अक्षर सङ्ख्या (उच्चारण अनुसार) बराबर भई मुनामा तुलनात्मकरूपमा बढी अक्षर हुनु ।
२. दुवै पातका अन्त्यमा स्थायी हुनु र त्यसभन्दा अघि अनुप्रास हुनु ।
३. ह्रस्वदीर्घ, पदयोग र वियोग, समास, कर्ता, कर्म र क्रियापदको सङ्गति आदि वैयाकरण शुद्धता हुनु ।
४. पातहरूको अदलाबदली गर्दा पनि कोपिलाको भावमा परिवर्तन नहुनु ।
५. पातहरू र मुनाको बीचमा घनिष्ट सम्बन्ध हुनु ।
६. नवरसहरूमध्ये कुनै रस, विम्ब, व्यङ्ग्य, उपमा, सन्देश आदि समेटेको हुनु ।
ख) पर्याप्त मानकहरूः
१. पातहरू ७ देखि १२ अक्षरसम्मका र मुना पातभन्दा ५ अक्षरसम्म मात्र लामो हुनु ।
२. शब्दहरू नदोहोरिएको हुनु ।
३. अनुकरणात्मक शब्दहरू, लोपोन्मुख शब्दहरू, प्रकृति र संस्कृतिसँग सम्बद्ध शब्दहरूको प्रयोग हुनु ।
४. गेय हुनु ।
५. स्मरणीय हुनु ।
६. चित्रात्मक हुनु ।
    माथि उल्लिखित अत्यावश्यक मानकहरू पूरा भएमा कोपिला बन्छ । अत्यावश्यक मानकहरू पूरा भईकन पनि पर्याप्त मानकहरू पनि पूरा भएमा पूर्ण वा विशिष्ट कोपिला बन्छ । कुनै कोपिलामा मानकहरू कति समेटिएका छन् भनेर मूल्याङ्कन गर्नका लागि माथिका मानकहरू क्रमशः केलाउनुपर्छ । यी मानकहरू उध्र्वगामीरूपमा राखिएका छन् । कुनै प्रतियोगितामा कोपिलाको मूल्याङ्कन गर्दा पनि यिनै मानकहरूको यसरी नै प्रयोग गर्नुपर्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्