ऐतिहासिक मेलाः गहवा, विन्ध्यवासिनी र विरञ्चीबर्वा

0
68

     -राजेश मिश्र 

“जिलेबी आ बाँसुरी किन्देनी ह तबो नइखे मानत, त का करीं ? तडबडवा खातिर जिद्द कइले बा, धान बेंचके काथी–काथी किनीं ?” ‘तडबाडवा’को लागि रोइरहेको सानो बच्चाकोे हात समातेर घर लगिरहेका बुबाले साथीको प्रश्नको उत्तर दिंदै थिए । केही दशकअघिसम्म देहातका जनसमुदाय धान बेचेर केटाकेटीहरूलाई खुशी पार्नु सामान्य कुरा थिएन । देहातका नगन्य स्थानमा लाग्ने मेलामा तडबडवा (खेलौना हो, जसलाई डोरीको माध्यमबाट गुडाउँदा तडबड–तडबडको ध्वनि निस्कन्छ), जिलेबी (जेरी), बाँसुरी, गागल (फल), बदाम आदि किनेर केटाकेटीहरू खूब आनन्दित हुन्थे । दशहरा (दशैं)मा खरीद गरेको ‘तडबडवा’ छठपूजा नसकुन्जेलसम्म देहातका प्रत्येक गाउँ र टोलमा केटाकेटीहरू दगुर्दै गुडाउँथे र देहात ‘तडबडवामय’ हुन्थ्यो । केटीहरू भने मेलामा शृङ्गारका सामग्री जस्तैः आल्ता (नेलपालिस), बिन्दी, पायल आदि किनेर खुशी हुन्थे । आधुनिकता बढेसँगै हालका दिनहरूमा केटाकेटीहरूको किनमेल पनि परिवर्तित भएको छ, जस्तै जिन्स पाइन्ट, जुत्ता, बेल्ट, चश्मा, आधुनिक खेलौनालगायतका सामग्रीहरू खरीद गर्ने चलन बढेको छ ।
    दशहरा अर्थात् बडादशैंको आज पहिलो दिन हो ‘घटस्थापना’ । दश दिनसम्म मनाइने हुनाले मधेसमा यस पर्वलाई ‘दशहरा’ पनि भनिन्छ । स्थान अनुसार यो पर्व मनाउने प्रचलन पनि फरक–फरक पाइन्छ । मधेसमा नौ दिनसम्म व्रत बसेर नवरात्र गरिन्छ । फलफूल ग्रहण गरिन्छ । अपवादबाहेक नवरात्र नगर्ने मानिसहरू पनि घरमा पुरोहितद्वारा नौ दिनसम्म पाठ वाचन गराउने परम्परा छ । दशहराको अवसरमा देवी भगवतीको पूजा आराधनाका साथै कैयौं स्थानमा मेला लाग्छ ।
    वीरगंजमा अवस्थित गहवामाईको मेला नेपालमा मात्र होइन, सीमापारिसम्म प्रसिद्ध छ । केही दशकअघिसम्म देहाती जनसमुदायको लागि मेला भर्न वीरगंजसम्म आइपुग्नु सामान्य कुरा थिएन । बयलगाडा वा पैदल आउनुबाहेक अर्को विकल्प थिएन । सामान्य जनमानस आफ्नो गाउँ आसपासमा लाग्ने मेलामा देवी भगवतीको पूजाआजा गरेर खुशीयाली मनाउँथे ।

    विगतमा वीरगंजको गहवामाईको मेलाबाहेक ग्रामीण क्षेत्रका बासिन्दाहरूको लागि विन्ध्यवासिनी र बिरञ्चीबर्वामा दशहराको अवसरमा प्रत्येक वर्ष लाग्ने ऐतिहासिक मेलाको विकल्प थिएन । पुरनियाहरूका अनुसार चार/पाँच दशकअघि यी मेलाहरूमा आसपासका मानिसहरूको मात्र उपस्थिति हुन्थ्यो । समयक्रमसँगै सवारीसाधनको रूपमा साइकलको उपलब्धता र प्रयोग हुन थालेपछि एक ठाउँबाट अर्को ठाउँमा मेला भर्न जाने क्रम शुरू भयो । केही दशकदेखि देहातसम्म बस सञ्चालन भएसँगै परिवारसहित वीरगंजको गहवामाईको दर्शन गर्नको लागि मेलामा आउने श्रद्धालुहरूको सङ्ख्या बढ्न थालेको छ । सप्तमी र अष्टमी गरी दुई दिन लाग्ने वीरगंजको मेलामा आउने श्रद्धालुहरूको लागि मुख्य सडकको घरका बरन्डा नै रात बिताउने आश्रयस्थल थियो । समयको गतिसँगै आदर्शनगर चोकदेखि दक्षिणतर्फ एक धर्मशाला निर्माण भएपछि भक्तजनहरू सोही धर्मशालामा आश्रय लिन्थे । वर्तमान समयमा वीरगंजमा निश्शुल्क धर्मशालाको उपलब्धता शून्य छ । हाल आर्थिक सबलता अनुसारको होटल तथा लज वीरगंजमा पर्याप्त छन् । माओवादी विद्रोहपश्चात् देहाती जीवन असुरक्षित महसूस हुन थालेपछि सुरक्षा खोज्दै ग्रामीण जीवन सदरमुकाम वीरगंजमा सर्दै गयो र शहरिया जीवनमा परिणत हुँदै हालका दिनहरूमा देहातका मानिसको घरबास वीरगंजमा प्रशस्त छ । गहवामाईको मेला शुरू भएसँगै शहरका घरहरूमा आफन्तहरूको आगमन हुने गर्दछ ।
    नयाँ धानको परालले निर्मित झुलुवा (पिङ) रूखको हाँगामा बाँधेर जब देहातमा केटाकेटीहरू रमाइलो गर्दथे अनि दशहराको रौनक झल्किन्थ्यो । तडबडवा र बाँसुरीको ध्वनिले दशहराको माहोल उत्साहमय हुन्थ्यो । दशैंमा मान्यवरको हातबाट टीका थाप्ने चलन नेपालमा पिता पुर्खाकालदेखि अहिलेसम्म चलिआएको छ । नेपालमा दशैंको नौ दिनसम्म देवी भगवतीको पूजा आराधना गरी यो पर्व मनाइन्छ । देवी भगवतीले सबै दुःख हरेर खुशीयाली ल्याउने पौराणिक मान्यता भएकोले देवी भगवतीको पूजा आराधना गर्ने प्रचलन छ ।
    पर्व–त्यौहार पूर्णरूपमा हाम्रो समाजको संस्कृति हो र संस्कृति नै हाम्रो मुख्य पहिचान हो । हामीले हाम्रो पहिचानलाई जोगाउनुपर्छ भन्ने सवालमा केन्द्रित हुनुपर्छ । पुरातनकालमा धार्मिक क्रियाकलापमा मानिसको आस्था जीवनसँग जोडिएको थियो । धर्म र संस्कृतिले स्थानको विशेषतालाई झल्काउँछ । पुरातनकालदेखि मनाउँदै आइरहेको पर्वप्रतिको आस्थाले नै आआफ्नो स्थानको महत्व दर्शाउँछ । कुनै पनि धर्म र संस्कृतिले मानिसको आचरणलाई मनोवैज्ञानिकरूपले नकारात्मकबाट सकारात्मकतर्फ लैजाने सन्देश दिन्छ ।
    वीरगंजको गहवामाईको मेला, विन्ध्यवासिनी (केहुनिया) माईको मेला र बिरञ्चीबर्वाबाहेक थप हुँदै झन्डै दुई दशकदेखि पोखरियामा पनि दशैंको अवसरमा मेला लाग्दै आएको छ । हालका दिनहरूमा पर्सा, बारा, रौतहटलगायत नेपालका अरू शहर र देहातका चोक, बजारहरूमा दशैंको अवसरमा मूर्ति पूजा तथा मेला लाग्ने गरेको पाइन्छ । तर यस वर्ष कोरोनाको ताण्डवको कारण विगतका वर्षहरूझैं सार्वजनिक स्थानमा रमाइलो गर्नुभन्दा घरमा पूजापाठ गर्नु समय सान्दर्भिक हुनेछ ।
    अन्य परिवर्तनसँगै पर्व–त्यौहारहरू पनि आधुनिकताको छायामुनि दबिरहेका छन् भन्दा कुनै अतिशयोक्ति नहोला । पर्वको अवसरमा पूजन सामग्री, खाद्यान्न र पहिरन मात्र बिक्री भइरहेका हुँदैनन्, गीत–सङ्गीतको पनि महत्व उत्तिकै हुन्छ । यद्यपि धार्मिक गीतहरू विभिन्न शैलीमा निर्माण भइरहेका छन् । यसमा धार्मिक आस्थाको महत्वभन्दा पनि दामको साथै लोकप्रियता कमाउने प्रतिस्पर्धाले धार्मिक मर्म लुप्त हुन थालेको छ । देहातदेखि शहरसम्मका मेलाहरूमा ठूलो आवाजमा बजाइने गीतहरू ध्वनिले प्रदूषण मात्र गर्दैनन्, अपितु वर्तमान पुस्तालाई मुख्य धार्मिक आस्थाबाट विमुख गराउने प्रयत्न्न जानीजानी वा अनजानमा भइरहेको छ ।
    केही वर्षदेखि मेलामा एक प्रकारको ठूलो ध्वनि निस्कने सिटीको पनि आगमन भएको छ । केही उच्छृङ्खल प्रकृतिका युवाहरू भों–भों बजाउँदै हिंडिरहेका धैरैले देखेको र सुनेको हुन सक्छन् । मेलामा मानिसको घुइँचो हुने भएकोले भीडभाड हुनु स्वाभाविक हो । तर यससँगै विकृतिहरू पनि बढ्दै गएका छन् । विकृत मानसिकताका युवाहरूले उनीहरूबाट पाठ सिक्नुपर्छ, जुन युवाहरू भक्तजनहरूको व्यवस्थापनमा मन्दिरको प्रवेशद्वारदेखि प्रत्येक क्रियाकलापमा निस्स्वार्थ भावले अहोरात्र खटिरहेका हुन्छन् ।
    धार्मिक आस्थाका पर्वहरू नितान्तरूपमा मानिसलाई सत्यमार्गतर्फ उन्मुख गराउने हुनुपर्छ । धर्म–संस्कृतिको सवालमा नागरिक मात्र होइन, अपितु राजनीतिक संस्कारसमेत सत्यमार्गतर्फ उन्मुख हुनुपर्दछ । अपवादबाहेक जसरी परिवारका सदस्यहरूमध्ये अभिभावकको गुण र दोषको प्रभाव अन्य सदस्यमा पर्नु स्वाभाविक मानिन्छ, त्यसरी नै राज्यका शीर्षजनहरूको क्रियाकलापको प्रभाव राज्यका नागरिकमा पनि पर्नु अस्वाभाविक होइन । तसर्थ क्षणिक लाभको लागि वा अरूको इशारामा आफ्नो धर्म र संस्कृतिलाई बेच्नुभन्दा पनि आफ्नो संस्कृतिको अनुभूति ती लाभ वितरणकारीहरूलाई गराउन सक्नुपर्छ । आफ्नो धर्म र संस्कृतिको बारेमा देशमा मात्र होइन, संसारभरि सूचना र सन्देश प्रवाह गर्नु राज्यको दायित्व हो । यस वर्ष सरकारदेखि नागरिकसम्म सामान्यरूपले घरमा पूजाअर्चना गरी दशहरा पर्व मनाउनु समय सान्दर्भिक हुनेछ । कामना गरौं, यस वर्ष दशहराको विसर्जनसँगै कोरोनाको कहर पनि विसर्जन होस् । आम जनजीवन सामान्य होस् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्