लुगा भएर पनि किन हामी नाङ्गो ?

125

-विश्वराज अधिकारी 

    अर्थशास्त्रीहरूले अनुकूल मौसमलाई पनि राष्ट्रको आर्थिक विकासका लागि एउटा महत्वपूर्ण सम्पत्तिको रूपमा मान्ने गरेका छन् । जलवायु, माटो, घाम, आकाश आदिले पनि आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याएका हुन्छन् ।
    कुनै देशलाई आर्थिकरूपमा बलियो पार्न त्यहाँ उपलब्ध अनुकूल मौसमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दक्षिण एशियालाई मौसम अनुकूल भएको क्षेत्र मान्ने गरिन्छ । राजनीतिक अस्थिरता, जनतामा चेतनाको कमी र सुशासनको अभावले गर्दा यो क्षेत्रको समुचित आर्थिक विकास हुन सकेन, त्यो बेग्लै कुरा हो । तर संयुक्त राज्य अमेरिका, क्यानडा जस्ता राष्ट्रहरूले मौसमको प्रतिकूलताबीच पनि चमत्कारी आर्थिक प्रगति गरेका छन् । कृषिको क्षेत्रमा, मौसमको प्रतिकूलताबीच पनि अमेरिकाले विश्वका अन्य राष्ट्रहरूलाई पछाडि पार्नेगरी आर्थिक प्रगति ग-यो । अन्न उत्पादनमा विश्वमा नै अमेरिकाको स्थान अग्रणी छ । विश्वमा नै भटमासको उत्पादन सर्वाधिक अमेरिकामा हुन्छ ।
    तर अमेरिका र युरोपेली राष्ट्रहरूमा जे जति आर्थिक प्रगति भयो, त्यसको पछाडि त्यहाँको जनतामा रहेको सकारात्मक मनोविज्ञानको भूमिका  ज्यादै महत्वपूर्ण देखिएको छ । जनतामा भएको सकारात्मक मनोविज्ञान एवं आर्थिक विकासको लागि बलियो इच्छाशक्तिले गर्दा नै अमेरिका एवं खासगरी, पश्चिम युरोपका देशहरू आर्थिक विकासको मार्गमा फडको मार्न सकेका हुन् । र त्यसैको परिणामस्वरूप आज अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली विश्वको ‘इकोनोमिक पावरहाउस’ बन्न पुगेका छन् । आर्थिक विकासको इतिहासले कुनै पनि राष्ट्रको आर्थिक विकास हुनका लागि त्यस राष्ट्रको जनताको मनोविज्ञान सकारात्मक हुनुपर्ने कुराको पुष्टि गर्दछ । हुन पनि अमेरिकी र युरोपेलीहरूको बौद्धिकस्तर एशियालीहरूभन्दा परापूर्वकालदेखि उच्च रहँदै आएको छ । सकारात्मक सोच, चेतना र बौद्धिक विकासको क्षेत्रमा हामी अगाडि छौं भनेर एशियालीहरूको घमण्ड फुस्रो मात्र हो ।

मानव सभ्यता विकासका लागि आवश्यक ज्ञान, सीप, प्रविधि, विज्ञान वा औषधिजस्ता लगभग सम्पूर्ण कुरा अमेरिकी र युरोपेलीहरूले आविष्कार गरे । चन्द्रमामा सर्वप्रथम पदार्पण गर्ने मुलुक पनि अमेरिका नै हो । भौगोलिकरूपमा सानो भए तापनि आफ्नो बौद्धिक क्षमताले गर्दा नै ग्रेट ब्रिटेन, फ्रान्स, स्पेनजस्ता राष्ट्रले उपनिवेश खडा गरेर विश्वका अनेक राष्ट्रमा शासन गरे । ती देशका प्राकृतिक सम्पत्तिको भरपूर उपयोग गरेर धनी भए । अहिले पनि ग्रेट ब्रिटेन, जर्मनी, फ्रान्स आदिले विश्वको अर्थ र राजनीतिलाई बलियोगरी प्रभावित गर्ने क्षमता राख्छन् । भौगोलिकरूपमा एशिया र अफ्रिकामा ठूला–ठूला राष्ट्रहरू भए तापनि आर्थिकरूपमा तिनको हैसियत सानै छ । चाहे त्यो अफगानिस्तान, बर्मा, मङ्गोलिया, लिबिया, सुडान, कङ्गो, अल्जेरिया नै किन नहोस् !
आर्थिक विकासको लागि देशको भूगोल ठूलो हुनुपर्छ भन्ने होइन, त्यस देशमा बस्ने जनताको चेतनाको स्तर उच्च र मनोविज्ञान सकारात्मक हुनुपर्ने रहेछ । यो तथ्य सर्वकालीन सत्य रहेछ ।
हामीकहाँ त्यही कुराको कमी छ । नेपालमा जनताबीच सकारात्मक मनोविज्ञानको नितान्त खाँचो छ । हामी कुनै पनि समस्याको समाधान युक्ति वा विचार अथवा सहमतिद्वारा होइन, बलद्वारा गर्छौं । हामीलाई हरेक समस्याको समाधान गर्न सङ्घर्ष तथा हिंसा प्रयोग गर्न मन लाग्छ । हाम्रो मनोविज्ञानले त्यस किसिमबाट हामीलाई प्रेरित गर्छ । हिंसा र सङ्घर्षबाहेक समाधानका हामी अन्य वैकल्पिक उपायहरू देख्दैनौं । प्रयोग गर्नु त परको कुरा हो, यो हाम्रो सामाजिक चरित्रको यथार्थ चित्र हो ।
हाम्रो ध्यान सकारात्मक विचारतिर ढिलो तर विरोधी विचारतिर तत्काल पुग्छ । नकारात्मक सोच, विचार, समाचार हामी खोजी–खोजी पढ्छौं । त्यस उपर घण्टौं चर्चा गर्छौं तर सकारात्मक सोच, विचार, समाचार हामीलाई मन पर्दैन र तिनलाई महत्व पनि दिंदैनौं । कुनै पत्रिकामा गलत समाचार प्रकाशित भएको छ भने छोटो समयमा नै त्यो गलत समाचार लाखौं पाठकसमक्ष पुग्छ तर सही समाचार छ भने त्यो समाचार ज्यादै सीमित पाठकको आँखामा पुग्छ । कतिपयले त हेर्दैनन् पनि ।
यस्तै स्थिति रचनात्मक कार्य गर्ने सन्दर्भमा पनि देख्न सकिन्छ । कुनै रचनात्मक कार्य गर्नका लागि सहमति जुटाउन हामीलाई वर्षौं लाग्छ । तर तोडफोड गर्न, विध्वंस मचाउन, आगजनी गर्न, लूटपाट गर्न हामीबीच तत्काल सहमति जुट्छ । यस्ता कार्यमा छिट्टै सहमति जुट्छ, हामी तत्काल गर्छौं पनि । सडकमा टायर बाल्न होस्, लूटपाट गर्न होस्, गाडी जलाउन होस्, तोडफोड गर्न होस्, यस्ता कार्य गर्न हामीलाई धेरै समय लाग्दैन । दमकल, एम्बुलेन्स जलाउन पनि हामी रत्ति हच्किंदैनौं । यस्तो मनोविज्ञानले पनि आर्थिक विकास हुन्छ ? हो, यस्तो नकारात्मक मनोविज्ञान भएर नै हामी लुगा भएर पनि नाङ्गो भएका हौं । अन्न भएर पनि भोको भएका हौं । जलस्रोतका लागि हामी संसारमैं, पहिलो ब्रजीलपछि धनी राष्ट्र हौं । हाम्रा नदीको उद्गमस्थल हिमाल भएकोले यी नदीहरूमा बा-है महीना पानी हुन्छ । तर अफसोस, सिंचाइ कुरा त पर, पिउनका लागि पनि हामीलाई पानीको अभाव छ ।
हामीमा सृजनात्मक सोचको अभाव तर ध्वंसात्मक विचारको बाहुल्य छ । यो भएर नै हामी विगतमा आफ्नै दिदीबहिनी र दाजुभाइको हत्या गरेर रमाएका थियौं । आफ्ना प्रियजनको हत्यालाई विजयको पर्यायवाची मानेर हर्षित भएका थियौं । माओवादी अति रक्तपातपूर्ण सङ्घर्षमा हामीले हाम्रा आर्थिक विकासका पूर्वाधारहरू ठूलो सङ्ख्यामा नाश मात्र पारेनौं, औद्योगिक विकासको गतिलाई दशकौंपछाडि धेकेल्यौं । विपरीत दिशामा हिंड्ने पा-यौं । नेपाललाई झनै गरीब बनाउने कार्य ग-यौं । हामी कतिसम्म हृदयहीन भयौं भने सार्वजनिक यातायातमा यात्रा गरिरहेका सर्वसाधारणलाई, जो न सुरक्षाकर्मी थिए, न त्यो बस प्रहरी वा सेनाको थियो, सडकमा ओछ्याइएको बारुदको चपेटामा पारेर मा-यौं । यो घटना २०६२ जेठ २४ गतेको हो । यो घटनामा तत्कालीन माओवादी लडाकूहरूले चितवनको मुढेखोलामा एउटा बसलाई ‘ल्यान्डमाइन’ मा पारेर विस्फोट गराएका थिए । त्यस विस्फोटमा परेर ४० जना जति सर्वसाधारणको ज्यान गएको थियो । त्यसरी ज्यान जानेहरू, न सुरक्षाकर्मी थिए, न माओवादीका विरोधी नै ।
हामीले अहिले पनि विगतका कलह, विग्रह र अनुत्पादक सङ्घर्षबाट सिक्न सकेका छैनौं । हामीमा रहेका नकारात्मक भावनाबाट हामी अहिले पनि ग्रसित छौं ।
कसैको मानमर्दन, आलोचना सुनेर हामीलाई अति आनन्द आउँछ तर कसैले राम्रो काम गरेको छ भने उसको प्रशंसा गर्न छुच्चो बन्छौं । सत्याग्रही डा गोविन्द केसीको प्रशंसा गर्छौं तर आफू गोविन्द केसी बन्न चाहँदैनौं । भ्रष्टाचारमा लीन हुन रमाउँछौं । यस्तो नकारात्मक चिन्तनले हामीमा दोहोरो मापदण्ड विकसित पारेको छ । यस्तो व्यवहारले पनि आर्थिक विकास हुन्छ ?
अरू कुराले होइन, हामीलाई हाम्रै सोच र व्यवहारले दरिद्र बनाउने हो, अफगानिस्तानका तालिबानहरूले आफ्नै सोच र व्यवहारले आफूलाई दरिद्र बनाएझैं । आफ्नो देशको अमूल्य निधि ‘बामियानको बौद्धकला’लाई तालिबानहरू बारुदद्वारा विस्फोट गराई अति हर्षित भएका थिए । अग्लो र फराकिलो पहाडमा ढुङ्गा कुँदेर, लामो समय (सन् ५०७ देखि ५५४ सम्म) खर्चेर बनाएको त्यो विश्वको उत्कृष्ट कला नष्ट पार्न तालिबानहरूले ठूलो यत्न गरेका थिए । तर त्यो कला नष्ट गर्दा, पर्यटकहरू संसारका अनेक मुलुकहरूबाट बामियानमा ‘बौद्धकला’ हेर्न आउने र अफगानिस्तानलाई ठूलो आर्थिक फाइदा हुने र त्यो आम्दानीले अफगानिस्तानको गरीबी कम गर्न मदत गर्ने तथ्य तालिबानहरूले बिर्सेका थिए । आफूहरूले नै आफूलाई गरीब पार्ने वातावरण तयार पारेका थिए ।
गरीबीको प्रत्यक्ष सम्बन्ध सकारात्मक मनोविज्ञानसँग छ । अयोध्याको बाबरी मस्जिद भत्काएर एकथरीले सन्तुष्टिको सास लेलान् वा लिएका होलान्, तर त्यो सन्तुष्टिको सासले आर्थिक प्रगतिको बाटो फराकिलो पार्दैन, हुँदैन । उल्टो कलह र द्वेष सृजना हुन्छ । समाज विभाजित हुन्छ । समाज, सोच र विश्वासको आधारमा अति विभाजित हुनु, आर्थिक विकासका लागि एकजुट नहुनु, जनतामा नकारात्मक विचारले घर गर्नु जस्ता कुराले दक्षिण एशियालाई साधन र स्रोतका बावजूद समृद्ध हुन दिइरहेको छैन ।
नेपालमा आर्थिक विकास गर्नका लागि हामीमा सकारात्मक धारणा विकसित हुनुको विकल्प छैन । सरकार गठन भएको भोलिदेखि नै त्यसको विरोध गर्ने, केवल नेताहरूको मात्र आलोचना गर्ने तर आफूले सिन्को नभाँच्ने चिन्तनबाट हामी बाहिर आउनै पर्छ, आर्थिक विकासको गतिलाई दोब्बर पार्ने हो भने ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने आर्थिक विकासका वाहक हामी स्वयं हौं । हाम्रो सकारात्मक सोच र आर्थिक विकासप्रतिको अडिग र बलियो इच्छाशक्तिले नै हामीलाई गरीबी र बेरोजगारीबाट मुक्ति दिन्छ । हामी एकजुट हुनैपर्छ । आर्थिक विकासका लागि हामीले साझा धारण बनाउनै पर्छ । यो नयाँ कुरा होइन । अब यो पुरानो कुरालाई नयाँ किसिमले सोच्न आवश्यक छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्