रकम पाएपछि अस्पतालले बालकको शव दियो

86

प्रस, सिराहा, २९ असोज/
    उपचारमा लागेको रकम तिर्न नसकेपछि तीन दिनसम्म अस्पतालमा रहेको बालकको शव एक लाख रुपैयाँ तिरेपछि अभिभावकले पाएको छ ।
    बुधवार साँझ अस्पताललाई एक लाख रुपैयाँ बुझाएपछि अबेर राति बालकको शव अस्पतालले अभिभावकलाई दिएको हो । सिराहा नगरपालिका वडा नं ४ खरसलवाका दुई वर्षे सिद्धार्थ सदाको शव अस्पतालले भने जति रकम तिर्न नसक्दा अभिभावकले पाएका थिएनन् । गाउँघरबाट महँगो ब्याजदरमा ऋण निकालेर अस्पतालको सबै रकम बुझाएपछि मृत्यु भएको तेस्रो दिनपछि शव पाएको सिद्धार्थकी हजुरआमा कलावती सदाले बताइन् ।
    बालकको उपचार गर्दा एक लाख ५० हजार यसअघि नै अस्पतालमा बुझाइसकेकोमा थप एक लाख रुपैयाँ अस्पतालले मागेको र बालकको पनि ज्यान गएपछि अभिभावक समस्यामा थियो । अस्पतालमा उपचारको बाँकी रहेको भनिएको ४० हजार र फार्मेसीको ६० हजार गरी एक लाख रुपैयाँ ऋण गरेर बुझाएको कलावती सदाले बताइन् । “केही दिनमा दिन्छौं, समयमा सदगत गर्न नातिको शव देऊ भनेका थियौं, तमसुक गर्न पनि भनेका थियौं, अस्पतालले मानेन,” उनले सञ्चारकर्मीसँगको कुराकानीमा दुःखेसो पोखिन् । शव नै राखेपछि सय कडा तीन रुपैयाँका दरले ऋण निकालेर बुझाएको कलावतीको भनाइ छ ।
    बालकको ठूला आन्द्रामा समस्या देखिएपछि परिवारले बालकलाई असोज १८ गते विराट अस्पतालमा भर्ना गरेको थियो । चिकित्सकले भने अनुसार नै आन्द्राको शल्यक्रिया गराएकोमा चिकित्सककै लापरवाहीको कारण बालकको ज्यान गएको बालकका मामा प्रेमकुमार सदाले बताए । उनका अनुसार चिकित्सकहरूले बालकको आन्द्रा शल्यक्रिया गरेपछि बालकमा छटपटाउने र अचेत हुने समस्या भयो । सो समस्या देखिएपछि चिकित्सकले एक्स–रे गरेर हेर्दा भित्र केही ठाउँमा स्टिच नै नगरी बाहिर मात्र सिलाएको देखियो । त्यसपछि चिकित्सकहरूले भित्र छुटेको स्टिच गर्न भन्दै दोस्रो शल्यक्रिया गरे । किन लापरवाही गरेको भन्दै अभिभावकले सोधपूछ गर्दा रु डेढ लाख तिरेर अन्य अस्पताल लैजान भन्दै अस्पतालले दबाब दिएको थियो ।
    दोस्रोपटक शल्यक्रिया गरेपछि झन् नाक र मुखबाट रगत आउने समस्या  हुँदै गम्भीर अवस्था भएपछि फेरि आइसियूमा राखियो र आइसियूमैं बालकको ज्यान गएको मामा प्रेमकुमारले बताए ।
    पहिलो शल्यक्रियाबापतको रु १ लाख ५० हजार अभिभावकले अस्पताललाई बुझाइसकेको थियो । त्यसपछि दोस्रो शल्यक्रिया गरी तीन दिन आइसियूमा राखेको तथा औषधिको गरी थप एक लाख रुपैयाँ अस्पतालले लिएको हो । हाँसीखुशी खेल्दै अस्पताल लगेको छोराको शल्यक्रिया बिग्रिएर मृत्यु भएपछि बालकको आमा सुनीतादेवी
सदा विक्षिप्त बनेकी छन् । बालकको पिताको पनि एक महीना पहिले सडक दुर्घटनामा परेर निधन भएको थियो । पति गुमाएको महीना दिनमैं छोरा पनि गुमाउनुपर्दा उनी विक्षिप्त बनेकी हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्