मात्र प्रतीक्षा

128

     प्रतीक्षाको मार प्रेमीहरूले मात्र खेप्नुपर्दैन । संसारमा वर्णित प्रेमकथाहरूमा प्रेमीले हण्डर पाएको र प्रतीक्षा गरेको निकै वर्णन पाइन्छ । ती प्रेमीहरूले एउटा मात्र प्रेमिकाको प्रतीक्षा गर्नुपरेको थियो । कुनै पनि प्रेमी वा प्रेमिकाले दुईजना प्रेमी वा प्रेमिकाको प्रतीक्षा गर्नुपरेन । तर नेपाली जनता यस्तो प्रेमिका हो, उसले सबै ठाउँमा प्रतीक्षा मात्र गर्नुपर्छ । कुनै सरकारी कार्यालयमा कुनै कामविशेषले जाँदा– ‘पर्खनुस्, भोलि आउनुहोला, पर्सि आउनुहोला, अहिले दशैंको बेला छ, सबैलाई आफ्नो चटारो छ, दशैंपछि आउनुस् ।’ यस्ता कुराले सीमित समयको प्रतीक्षा जनाउँछ । तर नेपाल सरकारले निर्माण गर्न लागेका योजनाहरूको हविगत भने जनतालाई अनन्तकालसम्म प्रतीक्षा गर्न बाध्य पार्ने खालको हुन्छ । त्यो प्रतीक्षामा प्रेमिकाको जीवन पनि व्यतीत हुन सक्छ । उदाहरणका लागि राष्ट्रियस्तरमा मेलम्ची खानेपानी आयोजनालाई लिन सकिन्छ । मेलम्चीको पानी खाने आसमा आयोजनाको घोषणा गर्ने प्रधानमन्त्री कृष्णप्रसाद कोइराला आफैं कालकलवित भए, मेलम्चीको प्रतीक्षा राजधानीवासीलाई अझै छँदैछ । सिक्टा सिंचाइ योजनाको प्रतीक्षामा पश्चिम नेपालका कृषकहरू दरबानी गर्न र भाँडा माझ्न भारत प्रवेश गरिसके ।
    पर्सा जिल्लाकै कुरा गर्ने हो भने नारायणी सिंचाइ योजनाले पूरा गर्न लागेको जमुनी सिंचाइ आज ७–८ वर्ष भयो पूरा हुन सकेको छैन । यस्तो जाबो, केही हजार कृषकलाई राहत दिने योजनाको कुरा छाडौं, जिल्लाका ५ लाख नागरिकले ओहोरदोहोर गर्ने तिलावे पुल बन्न लागेको ६ वर्ष बितिसक्यो, तर जगबाहेकको काम हुन सकेको छैन । पर्सेली जनता प्रतीक्षामा बूढो हुन लागिसक्यो । यो पुलविना हुलाकी सडकको उद्देश्य नै पूरा हुँदैन । हुलाकी सडक यस जिल्लाको मात्र होइन, पूर्व मेचीदेखि महाकालीसम्मका तराईवासीको जीवनरेखा हो । त्यो सडक बन्ने प्रतीक्षा दशकौंदेखि चलिरहेको छ । पछिल्लो दिनमा काम शुरू भयो, तर कस्तो भने, भएको ठाउँमा पिच उखेलेर त्यसमा अर्को पिचिङ गर्ने, जहाँ पिच गर्नुपर्ने हो, त्यो ठाउँ वर्षात्मा हिलो र हिउँदमा धूलोले भरिएको हुन्छ । सरकार र ठेकेदार प्रेमी र प्रेमिका बनेपछि जनताको निर्माण देख्ने प्रतीक्षा सपनाबाहेक अन्यत्र पूरा हुन सक्दैन । प्रेमी–प्रेमिकालाई एकअर्काको दोष देखिन्न, गुण मात्र देखिन्छ । सरकार र ठेकेदारबीच त्यही साइनो छ । ठेकेदारले काम गर्दैन, सरकारले कारबाई पनि गर्दैन । साइनो त त्योसँग हुन्छ, जोसँग लाभ हुन्छ ।
    जनता र सरकारबीच कुनै साइनो छैन, राजनीतिक दलहरूको घोषणापत्रमा बाहेक । तर पनि नेपाली जनता,  जतिसुकै प्रतीक्षा किन परोस्, भोट तिनैलाई दिन्छ । जनताले सरकारप्रति आफ्नो प्रेमभाव उत्कटरूपमा प्रकट गर्दछ, तर सरकार त ठेकेदारको प्रेमी हो । जनताको वास्ता किन गरोस् ? सरकार निर्भय छ, जनता एकतर्फी प्रेमिका बनेकोमा । काम गरोस्–नगरोस् भोट पाइहालिन्छ । अनि जनताले प्रतीक्षा नगरी के गर्छ ? तिलावे पुल सम्पूर्ण जिल्लावासीलाई सदरमुकाम वीरगंजसँग जोड्ने एकमात्र पायकपर्दो सेतु हो । जिल्लाको समग्र विकासको लागि, जिल्लाको समानुपातिक विकासको लागि यस पुलको योगदान अपरिहार्य छ । यो कुरा सरकार र ठेकेदार दुवैले बुझेका पनि छन् । तर काम भने मरे हुँदैन । ठेकेदारलाई जनतासँग केको सरोकार, उसको सरोकार जोसँग छ, उसले कारबाई गर्दैन । सैंया भए कोतवाल तो डर काहे का !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्