नेपाल–भारत सिल सीमाको उल्लङ्घन बढ्दै, वीरगंज–रक्सौल मुख्य नाकाबाटै आवतजावत

0
108

प्रस, वीरगंज, २९ असोज/
सरकारले लकडाउन घोषणा गर्नुअगावै भारतसँगको सीमा सिल गरेको सात महीना बितिसकेको छ र अहिले पनि सीमा सिल नै छ । तर सीमा सिल भएको अवस्थामा जिल्लाका ग्रामीण क्षेत्रमा खुला सीमाको फाइदा उठाउँदै नेपाल–भारतका मानिसहरू लुकीछिपी आवतजावत गर्दै आएकोमा अहिले मुख्य नाकाबाटै आवतजावत शुरू भएको छ ।
कोरोनाको सङ्क्रमण बढेको बेला सीमानाकाबाट आवतजावतमा कडाइ गरिएको थियो । तर सङ्क्रमण कम भएपछि पर्साका ग्रामीण नाकाका साथै मुख्य नाकाबाट पनि मानिसहरूको आवागमन शुरू भएको पाइएको छ । सीमा सुरक्षामा खटेका दुवै देशका सुरक्षाकर्मीहरूले तस्करका लागि सर्वप्रथम नाका खुकुलो गरेका थिए । तस्करलाई आवतजावत सहज गरेको तर आम मानिसलाई भने रोकेको भनेर ग्रामीण बासिन्दाले सीमाका विभिन्न स्थानमा सुरक्षाकर्मीसँग घम्साघम्सी गरेपछि आम मानिसको आवतजावत शुरू भएको हो ।
ग्रामीण क्षेत्रका खुला सीमाका चोरबाटोबाट शुरू भएको यो खेल अहिले मुख्य नाकाबाट पनि शुरू भएको छ । वीरगंज महानगरपालिकाको अलौं, श्रीसिया, छपकैया, भकुवा, इनर्वासँगै छिमेकी जिल्ला बाराको बलिरामपुर, मुसहर्वा आदिबाट पनि अहिले मानिसहरूको आवागमन बाक्लिएको छ ।
तस्करको लागि नाका खुकुलो पारिएपछि सोको फाइदा आम मानिसले पनि उठाउन थालेको स्थानीयले बताए । तस्करीको लागि सुरक्षाकर्मीहरूले बिहान र बेलुकी गरी तीन घण्टाको समय दिएका छन् । यो बाटो नेपालबाट छोहोडा, मरिच, केराउको तस्करी हुन्छ छ भने भारतबाट लत्ताकपडा, किराना, इलेक्ट्रोनिक्स सामानका साथै सबैभन्दा बढी चामलको तस्करी भइरहेको छ । सयौंको सङ्ख्यामा साइकल, मोटरसाइकलबाट तस्करी तीव्ररूपमा भएपछि स्थानीयले पनि मानिस ओसारपोसारको काम शुरू गरेको एकजना स्थानीयले प्रतीकलाई बताए ।
भारतबाट नेपाल आउन र नेपालबाट भारत जानका लागि केहीले साइकल, मोटरसाइकलबाट मानिसहरूको ओसार पोसार गरिरहेको बताइएको छ । तस्करहरूसँग रकम लिने सुरक्षाकर्मीहरूले यसरी कामविशेषले सीमावारिपारि गर्नेहरूसँग पनि रकम लिने गरेको स्रोतले बतायो ।
वीरगंजबाट निषेधाज्ञा हटेपछि र सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गराएपछि भारतबाट मजदूर, व्यावसाय गर्नेहरू ठूलो सङ्ख्यामा यिनै मानिसहरूको सहारामा प्रतिव्यक्ति एक हजार रुपैयाँसम्म दिएर भित्रिएको तिनै स्रोतको दाबी छ । खुला सीमामा सशस्त्र प्रहरी तैनाथ छ । सशस्त्रले तस्कर र मानिसहरूको आवागमनमा रोक नलगाएपछि सीमा पार भएर आउनेहरूबाट ती ठाउँमा रहेका चौकीका प्रहरीले समेत रकम उठाउने गरेको स्रोतको भनाइ छ ।
मुख्य नाका वीरगंज–रक्सौलमा एकाबिहानैदेखि वीरगंज भन्सार परिसरमा सवारीसाधनहरू राखेर रक्सौलमा काम हुनेहरू त्यहाँ जाने र रक्सौलबाट आउनेहरू शङ्कराचार्य गेटदेखि दक्षिण खुला ठाउँमा सवारीसाधन राखेर वीरगंज आउने गरेको दृश्य अहिले सामान्यझैं भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्