सञ्चार र विज्ञापन

97

    धेरै पहिले समाचारमा ‘नेशनल ज्योग्राफी’को विज्ञापन दर सा-है चर्को थियो । यो यस्तो पत्रिका थियो, जसले नेशनल ज्योग्राफिक नामक संस्था नै चलाएको थियो । एकदमै उल्टो प्रवाह । किनकि आजसम्म कुनै संस्था, प्रकाशन गृहले सञ्चारका माध्यमहरूको सञ्चालन गर्दछ । आजको स्थिति के छ, थाहा छैन । तर नेशनल ज्योग्राफीले महँगो दर राख्नुको एउटा स्पष्ट कारण थियो–उसको समाचार, लेखको जति विश्वसनीयता छ, विज्ञापनको पनि त्यत्तिकै विश्वनीयता हुन्छ । कुनै विज्ञापन छाप्नुपूर्व यस पत्रिकाले विज्ञापनमा दाबी गरिएको तथ्यको पुष्टि आफैंले गरेर मात्र प्रकाशित गर्दथ्यो । अर्थात् जुन विज्ञापन नेशनल ज्योग्राफीमा छापिन्छ, त्यसको गुणस्तर दाबी गरिए अनुसार हुन्छ नै । आजको सन्दर्भमा यस्तै केही निर्णय भारतमा भएको छ । भारतको एउटा प्रसिद्ध उद्योग पारले–जी बिस्कुट कम्पनीले समाजमा आक्रामक, नकारात्मक, घृणा फैलाउने र झूटो समाचारलाई प्रश्रय दिने टेलिभिजन च्यानललाई कुनै विज्ञापन नदिने घोषणा गरेको मात्र छैन, त्यस्ता च्यानलहरूबाट आफ्नो विज्ञापन फिर्ता पनि लिएको छ । कम्पनीको यस निर्णयको अपेक्षित स्वागत भएको छ ।
    यसभन्दा पहिले बजाज अटोले पनि आक्रामक, नकारात्मक र घृणा फैलाउने टेलिभिजन च्यानलबाट विज्ञापन फिर्ता लिएको थियो । यी दुवै कम्पनीले त्यस्ता सञ्चारमाध्यममा विज्ञापन दिंदा आफ्नो उत्पादनको ब्रान्डमा ठूलो धक्का लाग्ने बताएका छन् । अर्थात् गलत समाचार दिने सञ्चारमाध्यममा विज्ञापन दिंदा उत्पादनको विश्वसनीयतामा धक्का पुग्दोरहेछ । धेरै पहिले नेशनल ज्योग्राफीले लिएको निर्णयसम्म आजको भारतीय विज्ञापनदाताहरू पुगेका छन् । भारतीय च्यानलहरूले कस्तो समाचार दिन्छन्, के गर्छन्, त्यो यस आलेखको चासोमा पर्दैन । हामीले यस सन्दर्भमा नेपालको विज्ञापन र सञ्चारमाध्यमहरूको प्रवृत्तिबारे चासो राख्नु पर्याप्त हुन्छ । नेपालमा लामो समयसम्म मिशन पत्रकारिता चल्यो । त्यस बेला पत्रकारिता स्वेच्छाको पेशा थियो । आज व्यावसायिक पत्रकारिताको युग शुरू भएको छ । २०४६ सालको राजनीतिक आन्दोलनले समाज खुला भएपछि नेपालमा विज्ञापनको बजार निकै बढेको छ । हिजोको  ‘शुभकामना’ विज्ञापन व्यावसायिक भएर उत्पादन प्रवद्र्धकको रूपमा परिणत भएको छ । तर नेपालमा अहिले पनि विज्ञापनमा दाबी गरिएको कुरा सञ्चारमाध्यमको सरोकारको विषय नभएर पैसा दिने विज्ञापनदाताको मर्जीको विषय बनेको छ ।
    विद्यालय तथा अन्यान्य उत्पादनको विज्ञापनको दाबीको सत्यापन कुनै सञ्चारमाध्यमले गर्दैन, विज्ञापनदाताले जे दाबी गर्छ, त्यसैलाई सत्य मानेर विज्ञापन प्रकाशित हुन्छ । यद्यपि यस कुराले अहिलेसम्म समाजमा धेरै नकारात्मक असर परेको छैन, तर अवश्य पर्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । यसले देशको समग्र सञ्चारमाध्यमको छविमा दाग लाग्छ । अहिलेसम्म नेपालको सञ्चार प्रक्षेपण क्षेत्र ‘पीत–पत्रकारिता’बाट मात्र दूषित छ । त्यसैले अत्यधिक पठनशील समाजमा लाखदेखि पाँच लाख जनसङ्ख्यासम्मलाई एउटा समाचारपत्र, एक वा दुई टेलिभिजन च्यानलले थेगिरहेको छ भने हामीकहाँ लाख जनसङ्ख्या नपुगेको र पठनीयताको ठ्याम्मै अभाव भएको क्षेत्रमा पचासौं समाचारपत्र, दर्जनौं रेडियो सक्रिय छन् । विज्ञापनदाता सञ्चारमाध्यमको सङ्ख्या देखेर तर्सन्छ र बाहिरको सञ्चारमाध्यम रोज्छ । समयमैं पाठ सिक्न सके राम्रो, गलत प्रवृत्ति बस्यो र विज्ञापनदाताले बहिष्कार गर्ने अवस्था आयो भने समाज जिम्मेवार बन्नुपर्नेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्