पुरानो संसदीय व्यवस्थाले भ्रष्टाचार मौलायो –पूर्वप्रम भट्टराई

0
47


माधव तिमल्सिना, ठोरी, २७ असोज/
    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुरानो संसदीय व्यवस्थाको कारण देशमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन्।
    जनता समाजवादी पार्टी ठोरी गाउँपालिकाद्वारा सुवर्णपुरमा सोमवार अबेर राति आयोजित पार्टी प्रवेश तथा शुभकामना कार्यक्रममा बोल्दै पूर्वप्रम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था नहुन्जेलसम्म देशमा स्थिर राजनीति कायम हुन नसक्ने बताए।
    उनले राज्यले उत्पीडनमा पारेका जनजाति, दलित, मधेसीलगायतका समुदायलाई मूल प्रवाहमा नल्याएसम्म देशमा दिगो शान्ति कायम हुन नसक्ने दाबी गरे। उनले वर्तमान सरकार एकल जातीय राज्य कायम गर्न लागेको दोषारोपण गरे। नेता भट्टराईले नेपाली काङ्ग्रेस र नेकपाबाट जनताको परिवर्तनको माग पूरा नहुने भन्दै जनताको माग सम्बोधन हुनको लागि जनता समाजवादी पार्टी आवश्यक भएको जिकिर गरे। उनले जसपाले उत्पीडित, वञ्चित समुदायको पक्षमा आवाज बुलन्द गर्ने र सडक, सदनबाट हक सुनिश्चित गराएरै छाड्ने दाबी गरे।
    जसपाका अध्यक्ष पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीले सबै प्रकारका विभेद अन्त्य गर्न चाहेको र त्यसको लागि सधैं सङ्घर्ष गरिरहने बताए। मूल प्रवाहमा पछाडि परेका समुदाय अगाडि नआएसम्म देशमा परिवर्तन नआउने उनको भनाइ थियो। उनले देशमा राजनीतिक परिवर्तन भएपनि नेकपा र नेकाको सोचमा परिवर्तन नभएको कारण जनताको जीवनस्तरमा परिवर्तन हुन नसकेको दोषारोपण लगाए।
    जसपा ठोरीका उपाध्यक्ष जरी लामाको अध्यक्षतामा भएको पार्टी प्रवेश तथा शुभकामना कार्यक्रममा सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य प्रह्लाद गिरी र भीमा यादव, करीमा बेगम, जिल्ला अध्यक्ष रामनरेश यादव, नेताहरू वीरेन्द्र यादव, सुन्दर कुर्मी, तबरेज अहमद, मुकेश द्विवेदी, मोहनलाल चौधरीलगायतको सहभागिता थियो।


    यसैगरी, जसपाको आयोजनामा मङ्गलवार विन्ध्यवासिनी गाउँपालिकाको झौवा र पकाहामैनपुर गापामा पनि पार्टी प्रवेश तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
    विन्ध्यवासिनी गापाका अध्यक्ष श्रीलाल साह (मोदी) र पकाहामैनपुर गापामा रामबाबु चौरसिया र विनोद मेहताको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्