नारायणीमा कोरोना सङ्क्रमितको शल्यक्रिया

0
59

राधेश्याम पटेल, वीरगंज, २७ असोज/
    नारायणी अस्पताल वीरगंज अहिले जनरल अस्पतालका रूपमा केही सातादेखि सञ्चालनमा छ। तर आइतवार दिउँसो जनरल अस्पताललाई पुनः सङ्क्रमित बनाएर एउटा गम्भीर शल्यक्रिया गरिएको छ। यस्तो खबरले नारायणी अस्पतालमा ओपिडी चेकअप र भर्ना भएर उपचार गराइरहेका बिरामीहरू त्रसित बनेका छन्।
    वीरगंज छपकैयाकी ६० वर्षीया महिलाको एपेन्डिसाइटिसको शल्यक्रिया गरी ज्यान बचाएको अस्पतालले दाबी गरेको छ। बिहान १० बजे पेट दुखिरहेको अवस्थामा भर्ना गरी भिडियो एक्सरे गर्दा उनको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह गरे। साथै उत्ति नै बेला स्वाब सङ्कलन गरी जिन एक्सपर्ट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। त्यसपछि चिकित्सकहरू अलमलमा परे। कोरोना सङ्क्रमितको शल्यक्रिया कसरी गर्ने ? तर यहाँका कोडिभ अस्पताल वा अन्य अस्पतालमा शल्यक्रिया हुन नसक्ने देखेर चिकित्सकहरूले पिपिई लगाएर शल्यक्रिया गरेको शल्यक्रिया विभाग प्रमुख डा खालिद हसनले बताए। “जनरल अस्पतालमा कोरोना सङ्क्रमितको शल्यक्रिया नगर्नुपर्ने हो, तर कोरोनाविरुद्ध सावधानी अपनाएर शल्यक्रिया गरेका छौं, सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था ठीक छ, आकस्मिक कक्षमैं राखिएको छ” –उनले भने– “यसले आकस्मिक कक्ष र शल्यक्रिया कक्ष सङ्क्रमित भयो, यसरी नारायणीमा जोखिम मोलेर उपचार गरिएको हो।”
    यस विषयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले पर्साका प्रजिअलाई सङ्क्रमितको उपचार नारायणीमा नगरौं भनिएको भनेको बताए। “कोभिड अस्पतालले  सङ्क्रमितको उपचार गर्नुपर्ने हो” –उनले भने– “नेशनल मेडिकल कलेजले बाबा होटलमा कोभिड अस्पताल चलाइरहेको छ भने सङ्क्रमितको उपचार, शल्यक्रिया, गर्भवती, मिर्गाैला पीडितलगायतको उपचार गर्नुपर्ने हो।”
    नारायणी अस्पताललाई जोखिममा पारेर सङ्क्रमित बनाएर उपचार गर्दा चिकित्सक, स्वास्थ्यकर्मी, बिरामीको स्वास्थ्यसँग खेलाँची गरेजस्तो हो। बाबा होटलमा सञ्चालित कोभिड अस्पतालले अहिले सामान्य सङ्क्रमितको मात्र उपचार गर्ने गरेको छ। मिर्गौलारोगपीडित सङ्क्रमितलाई वीरगंज हेल्थकेयर अस्पतालमा डायलोसिस हुँदै आएको छ भने गर्भवती र अन्य आकस्मिक शल्यक्रियाको लागि नारायणीलाई किन सङ्क्रमित बनाउने ? पर्साका प्रजिअ आसमान तामाङले भदौ २७ गते भएको निर्णय अनुसार नारायणी अस्पतालले शल्यक्रिया गरी बिरामीको ज्यान बचाएको बताए।
    उनले नारायणी अस्पतालका मेसु ठाकुरको अध्यक्षतामा निजी अस्पताल सङ्गठनका प्रतिनिधिहरूको बैठकले नेशनल मेडिकलले बाबा होटलमा सबै प्रबन्ध मिलाइ बिस्तारै सबै प्रकारका सङ्क्रमितको उपचार सेवा दिने, आशारामले गर्भवती सङ्क्रमितलाई सेवा दिने, हेल्थकेयरले सङ्क्रमित मिर्गौलारोग पीडितको डायलोसिस गर्नेलगायतका निर्णय भएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्