चर्चा रेल सङ्ग्रहालयको

0
56

– विनोद गुप्ता
    नेपालको रेलवे कम्पनीका महाप्रबन्धकले इतिहास भइसकेको नेपालको नेरोगेज रेलको इन्जिनलगायतका संरचनालाई संरक्षण एवं संवद्र्धन गरी अवलोकनको लागि स्थानीय तहसँग समन्वय गरी धनुषामा सङ्ग्रहालय स्थापना गर्न पहल गरेको समाचारहरू आएका छन्। यो समाचार पढेर महाप्रबन्धकको बुद्धिमत्ताप्रति धन्यवाद नभनी रहन सकिन्न। उहाँको यस कदमको बारेमा सोचिराख्दा मेरो मनमा सबैभन्दा पहिला उठेको प्रश्न के हो भने नेपालको रेलसेवामध्ये रक्सौल–अमलेखगंज वा जयनगर, जनकपुर कुन चाहिं जेठो हो ? वीरगंज रेलवे स्टेशनको त हामीले पूर्णरूपमा सत्यानाश गरि नै सकेका छौं तथापि सोच्नुस् मुख्य सडकको क्रसिङमा जहाँ रेलको लिक रहेको थियो, त्यसलाई यथास्थितिमा राखेर घण्टाघरको गेटअगाडि देख्नसमेत गा–हो पर्ने गरी राखिएको थीरबम मल्लको मूर्तिको सट्टा रेलवे क्रसिङमा गोलम्बर बनाएर चारैतिरबाट फूलले शृङ्गारेर बीचमा थीरबम मल्लको भव्य सालिक उनको योगदान उल्लेख भएको स्तम्भमाथि राख्न सकेको भए के हुन्थ्यो ? यो आज पनि गर्न सकिन्छ तर हामी गर्दैनौं। पुरानो रेलवे स्टेशनको भवन त भत्काइसकियो त्यसभन्दा उत्तरमा रहेको पानी भर्ने ट्याङ्की र डोम तथा सिग्नलसमेत कबाडीलाई बेचियो। यसलाई जोगाएर आज विपी उद्यानमा नेरोगेज रेलको लिकमाथि वा छेउछाउ १–२ वटा स्टिम इन्जिन वा डब्बा राखेर वीरगंजमैं पानी रेल सङ्ग्रहालयको स्थापना रेल कम्पनी वा वीरगंज महानगरले समेत गर्न सक्छ। तर हाम्रो सोचमा यस्तो कुरा आउँदैन। त्यस्तै नेपाल टेलिकमको हालको भवन रहेकै स्थानमा पुरानो टेलिफोन भवन थियो, जसमा पूर्व नगरप्रमुख गणेशशरण रावलका पिता ‘तारबाबू’को रूपमा काम गर्नुहुन्थ्यो। त्यस बेलाको ब्याट्रीबाट चल्ने टेलिफोन र टेलिग्राफको र आकाशवाणीको मेशिनलाई नयाँ भवनकै भुइँतलामा प्रतीक्षालय बनाइ त्यसैमा एकातर्फ राखेर नेपालको सञ्चार क्षेत्रको इतिहास प्रतिविम्बित गर्न सकिन्थ्यो तर टेलिकमलाई समेत त्यो सोच आएन र अझै आएको छैन। भारततर्फ अर्थात् रक्सौलबाट वीरगंज आउँदा एउटा सिमेन्टको आकर्षक संरचना जसमा ‘नेपाल–अमेरिका सहयोग रक्सौल–भैंसे सडक ४२ माइल’ लेखिएको मलाई सम्झना छ। त्यो संरक्षणविना नदीको कटानबाट होला धेरै वर्षदेखि त्यहाँ देखिंदैन र अहिले त्रिभुवन राजपथ भन्ने बित्तिकै रक्सौल–काठमाडौं जोड्ने पुरानो मार्ग भन्ने बुझिन्छ। यस राजपथको भैंसेदेखि काठमाडौंसम्मको सडक मात्र भारतीय सहयोगमा बनेको हो।


    सङ्ग्रहकै कुरा गर्दा हजारीमल धर्मशालाको भवन जति कलापूर्ण थियो, त्यति पुरानै भएपनि महावीर धर्मशालासमेतको छैन। त्यो भवन अहिले त्यहाँ छैन। जग्गा छ तर कसको अधिपत्यमा छ, त्यो गर्भमा छ।
    पोखरीहरूकै कुरा गर्दा वीरगंजमा बजार क्षेत्रमैं छपकैया, नगवा, माईधिया, भगवतीटोल पोखरी र हाल अनमोल स्वीट्स रहेको भवन पछाडिको पोखरीमध्ये घडीअर्वा, नगवा र माईधिया बाँचेका छन्। छपकैयामा महानगरले अडान लिएको छ तर अनमोल स्वीट्स पछाडिको पोखरीमा निजी भवनहरू निर्माण भइसके। घडीअर्वा सार्वजनिक प्रयोगमा छ भने नगवा निर्माणाधीन छ। मधेसी संस्कृतिको इतिहास बोकेको माईधिया पोखरीको भविष्य के छ थाहा छैन। तीन बिघाको भगवतीटोलको पोखरी १३ कट्ठाको पार्कमा सीमित भएर पनि चल्न सकेको अवस्था छैन।
    अब कुरा गरौं पार्कको। वीरगंजमा एउटै पार्क थियो, श्री ५ वीरेन्द्र पार्क त्यहाँ अहिले घण्टाघर छ। त्यसबाहेक लक्ष्मणवामा रहेको पार्क बन्नै सकेको छैन भने विपी उद्यानको अवस्था हामी सबैलाई थाहा छ। बिर्तामा अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय रहेको भवन नयाँ हो। पुरानो भवनमा भन्सार थियो र अहिले नगरपालिकाले छुट्याएको पार्किङस्थलमा नगरपालिकाको भवन थियो। त्यस भवन परिसरभित्रै एउटा पम्पिङ स्टेशन र फलामको ट्याङ्की थियो, जसमा अङ्ग्रेजीमा धीर वाटर वक्र्स लेखिएको थियो। वस्तुतः धीर शम्शेरले बेलायतबाट मगाएको ठूलो पम्पिङ मेशिन थियो, जसबाट वीरगंजको १ र २ नं सडकमा रहेका सरकारी धाराबाट बिहान ५–९ र बेलुकी ४–७ बजेसम्म पानी वितरण हुन्थ्यो। त्यसलाई सङ्ग्रहित गरेर त्यस ठाउँमा सानै भएपनि एउटा पार्क बनाइदिने सोचको सट्टा पार्किङ गरेर पैसा कमाउन बढी उचित ठान्यौं हामीले। त्यसैले अब विपी उद्यान, लक्ष्मणवा पार्कसमेतमा व्यावसायिक भवन वा उद्योग नै लगाएर भाडा कमाउँदै गरेर बरु वीरगंजवासीलाई अन्यत्र जाँदा सङ्ग्रहालय, पार्क, तारामण्डल, सभाभवन र बाल उद्यान देखेर अलमल नपरोस् भन्नका लागि यी सबैको रिप्लिका बनाएर कुनै एक उपयुक्त स्थानमा राखिदिनु सर्वोत्तम उपाय हो जस्तो लाग्छ। एकै ठाउँमा राख्न गा–हो हुने भयो भने बेग्लाबेग्लै ठाउँमा राखिदिए पनि हुन्छ। तर यसको अवलोकनको लागि शुल्क भने लगाउनुहुँदैन।
    हामी अधिकांश वीरगंजवासी प्राप्त सेवाको सकेसम्म शुल्क नतिर्ने र तिर्नै परे ‘डिस्काउन्ट’ खोज्ने खालका छौं। हाम्रो यो बानी बुझेर नै स्थानीय निकाय र व्यापारिक संस्थाहरूले मूल्य तोक्दा २–४ रुपैयाँ प्रतिएकाइ घटाउन सक्ने गरी तोकेका हुन्छन्। किनभने उनीहरूलाई थाहा छ, आन्दोलन वा विरोध हुन्छ र त्यसपछि त्यसलाई मत्थर पार्न १–२ रुपैयाँ प्रतिएकाइ घटाएर कुरा मिलाउन सिपालु भइसकेका छन्।
    यस सङ्ग्रहालय केन्द्रित लेखमा सबैको रिप्लिका बनाएर राख्ने कुरा गरे पनि वीरगंजमा दुई–तीन वटा यति ठूल्ठूला कार्यहरू भएका छन्, जसमध्ये दुईवटाको रिप्लिका बनाउनु ज्यादती हुनेछ भने एउटाको अत्यन्त आकर्षक। रिप्लिका बनाउन नमिल्ने दुईवटा योजनामध्ये पहिलो हो– फोहरमैला व्यवस्थापन केन्द्र, इटियाही र दोस्रो– एक करोड लिटर पानी प्रशोधन केन्द्र। फोहरमैला व्यवस्थापन एवं पानी प्रशोधन केन्द्रलाई त अन्तर्राष्ट्रियस्तरको अध्ययन–अनुसन्धान केन्द्र नै बनाउनुपर्छ, जहाँ आएर अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले योजनाकालदेखि निर्माण अवस्थासम्म योजना कुन प्रक्रियाबाट सञ्चालित भयो, जसले गर्दा निर्माण पूरा भएपनि यो काम गर्न नसक्ने भएको छ भन्ने विषयमा शोध गरी अनुसन्धान गर्नेछन्।
    तेस्रो रिप्लिका बनाउने भनेको वीरगंजमा हाल लागू गरिएको पार्किङ प्रणालीको हो। वास्तवमा चेन तानेर सडक साँघुरो पार्ने, चार चक्के साधन सडकमैं पार्किङ प्रतिबन्ध गरिएको विपरीत दिशामा मिल्ने तर दुई पाङ्ग्रे फूटपाथमा राख्न सकिने व्यवस्था विश्वमैं दुर्लभ मात्रै होइन हुँदै नभएको व्यवस्था हो। थोरै पढेलेखेकाले पनि फूट भनेको खुट्टा र पाथ भनेको बाटो बुझ्छ। यसको सरल अर्थ हुन्छ, पैदल हिंड्ने बाटो। हाम्रो वीरगंजमा पैदल हिंड्ने बाटोलाई पार्किङ अर्थात् वाहन रोक्ने स्थान बनाइएको छ। अब पैदल यात्रीको बाटो कुन ? स्थानीय निकाय वा प्रशासनको काम जनतालाई सुविधा दिने हो, सास्ती होइन। त्यसैले यस्तो नौलो प्रणालीको मोडेल बनाएर पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारको पर्यटन मन्त्रालयले भाग लिने अन्तर्राष्ट्रियस्तरको मेलामा समेत सामेल गराएमा हाम्रा यस्ता चटक देखेर पर्यटकहरू पनि नेपाल आउन आकर्षित हुनसक्ने भएकोले पनि यस्तै पार्किङ प्रणाली देशैभर लागू गर्नुसमेत उचित हुनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्