गतिछाडा चाल

100

    अजर अमर अर्थात् कहिल्यै नाश नहुने केही चीज पनि हुँदैन। पृथ्वी त सधैं यस्तो थिएन भने यहाँ रहेका चीज वस्तुहरू सधैं एकनास रहिरहने कुरै भएन। हरेक वस्तु प्राकृतिक होस् वा कृत्रिम, सजीव होस् या निर्जीव, त्यसको सृजना, गतिशीलता र विनाश जीवनचक्र हो। तर यो चक्र पूरा गर्न केही विलम्ब चाहिं मानवले गर्न सक्छ। जति विलम्ब, त्यति टिकाउ भएको मानिन्छ। मानवले आविष्कार गरेका वा निर्माण गरेका हरेक वस्तुको निश्चित गुणस्तर हुन्छ। सोही अनुसार त्यसको संरक्ष्Fण हुन सक्यो भने लामो अवधिसम्म टिक्छ। लापरवाही गर्ने हो भने भन्न सकिन्न। विश्वको कुनै पनि मुलुकले राष्ट्रिय योजना निर्माण गर्दा निर्माण हुने वा भएका योजनाको प्रकृति र त्यसको दिगोपनलाई मुख्य प्राथमिकता दिएको हुन्छ। योजना निर्माण प्रक्रिया पनि एउटा चक्र भएकोले योजना निष्क्रिय हुने अवधि आउन्जेल सोको विकल्प तयार भइसकेको हुनुपर्छ। विकल्प तयार नहुँदै योजना काम नलाग्ने भएमा त्यससँग सम्बन्धित अन्य योजना, परियोजनालाई धक्का लाग्छ। जसले उपभोक्ता, समाज र राष्ट्रलाई नोक्सान हुन्छ।
    लक्षित वा निर्धारित अवधिसम्म योजना टिक्ने वा नटिक्ने कुरा अपवादबाहेक मानवीय क्रियाकलापमा भर पर्छ।  योजना निर्माणपछि स्वामित्व हस्तान्तरण, वैज्ञानिक उपयोग, संरक्षण र मरम्मत–सम्भार अपरिहार्य प्रक्रिया हो। जहाँ यी प्रक्रिया पूरा हुँदैन, त्यहाँ योजना टिकाउ हुँदैन। जहाँ सरोकारवाला पक्ष गैरजिम्मेवार वा गतिछाडा छ, त्यहाँ योजना निर्माण अघि र पछिको प्रक्रिया पूरा हुँदैन। किनभने योजना सम्पन्न गर्नुलाई उसले योजना सम्पन्नबापत आफूलाई आर्जन हुने निहित फाइदा मात्रै हेरेको हुन्छ। निर्माण सम्पन्न भएपछिको परीक्षणकाल कटेपछि टिकोस् कि नटिकोस् निर्माणकर्ता पक्षले वास्ता गर्दैन। हाम्रो मुलुकमा निर्माणकर्ता पक्षमा बजेटदाता र स्थानीय नेता, कार्यकर्ताहरूसमेत पर्ने गरेका छन्। किनभने निर्माणमा उनीहरूको प्रत्यक्ष वा परोक्ष संलग्नता रहन्छ।
    हाम्रो टोल, समाज तथा मुलुकमा अधिकांश योजना राष्ट्रिय आवश्यकताको दीर्घकालीन लक्ष्यलाई पूरा गर्ने उद्देश्यले  भन्दा तत्कालको निहित फाइदा लक्षित देखिन्छ। त्यसै त विकास निर्माणमा ‘हिंड्दै छ पाइला मेट्दैछ’को अवस्था छ। सडक निर्माण गर्दै अगाडि बढ्दा पछाडिबाट भत्कन शुरू भइसकेको हुन्छ। खानेपानीको ट्याङ्की बनेर उपभोक्ताको घरसम्म पाइप लाइन नपुग्दै ट्याङ्की चुहिन थाल्छ। पर्साको ग्रामीण क्षेत्रमा वैकल्पिक सौर्यबत्ती लक्षित गाउँटोलमा पुगिसकेको छैन, तर पहिले जडान भएका सौर्यबत्ती अहिले बल्न छोडिसक्यो। सौर्यबत्तीको प्यानललाई समयमा सरसफाइ गर्ने, ब्याट्री, तार एवं चिमको अवस्था चेकजाँच गरिरहने हो भने टिकाउ नहुने कुरै छैन। हिजो जुनसुकै योजना, परियोजनाले निर्माण गरिदिएको भएपनि स्थानीय सरकार गठन भइसकेपछि स्वतः उसको स्वामित्वमा आयो। त्यसको हेरविचार गर्ने वा छुट्टै उपभोक्ता समिति गठन गरेर जिम्मा लगाउने काम स्थानीय पालिकाको हो। आफैंले जडान गरेको सौर्यबत्ती त दुई वर्ष नबित्दै बल्न छोड्दा पनि पालिकाले वास्ता गरेको छैन। पालिकाको यस्तो गतिछाडा चालप्रति खबरदारी गर्ने जिम्मेवारी स्थानीय उपभोक्ताको हो। उपभोक्ता पनि गतिछाडा बन्दछ भने के गर्ने ? किनकि मूल लक्ष्Fित वर्ग त उपभोक्ता हो। योजनाको लाभ उसैले लिने हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्