कोरोनामा आयुर्वेदिक औषधिको माग बढ्दोc

61

काठमाडौं, २७ असोज/रासस
    उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको  माग बढ्न थालेको छ। सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जाेबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाइएका आमालकी चूर्ण, अश्वगन्धा चूर्णलगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणासम्म बढेको बताउँछन्।
     “विसं २०७६ चैतअघि तुलसी चियाको खपत वार्षिकरूपमा सरदर सात हजार २३१ पोका हुन्थ्यो, यस वर्ष सात महीनामैं १३ हजार ६५७ पोका बिक्री भइसकेको छ, माग बढिरहेकाले अरू बनिरहेको छ, यस वर्ष पहिलोपटक बनाइएको गुर्जाेको चिया गुडुची सात हजार ३४७ पोका बजारमा गइसकेको छ,” उनले भने।
      समितिबाट गत वर्ष अश्वगन्धा ८१८ पोका मात्र बिक्री भएको थियो। यस वर्ष ६ हजार ३८८ पोका गइसकेको छ। यसैगरी, यस वर्ष माग भएर नयाँ बनाइएको ज्येष्ठवासादि चूर्ण चार हजार २०२ पोका बिक्री भइसकेको छ। गत वर्ष भण्डार रहेको बिक्री भइरहेको जेठीमधु चूर्ण पनि यस वर्ष दुर्ई हजार २७१ पोका बिक्री भइसकेको छ। कात्तिक लागेसँगै समितिले रोग प्रतिरोधी क्षमता बढाउने च्यवनप्रास पनि बनाउने तयारी गरेको छ।
     माग अनुसार पूर्ति गर्न धौधौ भएपनि अहिलेसम्म समितिले बजारमा आवश्यकता अनुसार पूरा गर्न सफल भएको छ। कोरोना भाइरसको फैलावटसँगै गुर्जाेका बिरुवा लगाउने बढे पनि अमलालाई भने बिर्सन थालिएकाले यसतर्फ पनि अभियानकर्मीको ध्यान जानुपर्ने प्रबन्ध निर्देशक खरेल बताउँछन्।
      “गुर्जाेसँगै अमला पनि लगाउनुपर्छ, अमलालाई बिर्सनुभएन, गुर्जाेसँगै अमला पनि आम्दानीको स्रोत बन्छ, अमला र गुर्जाे पनि भयो भने रोग प्रतिरोधी क्षमता बढाउँछ, गुर्जाे जुन बिरुवामा जान्छ, त्यसैको गुण लिने भएकाले गुर्जाे र अमलासँगै लगाउनुपर्छ,” उनले भने।
     उपत्यकामा बागमतीलगायत नदी किनार, गोकर्णलगायत स्थानमा धेरै सङ्ख्यामा गुर्जाे रोपिए पनि अमला नरोपिनु उत्पादनका दृष्टिले समेत ठीक हुँदैन। व्यावसायिकरूपमा अमलाखेती गरे समितिले सबै किनिदिने प्रतिबद्धता जनाएको छ। समितिले गुर्जाेको चिया कोभिडपछि बनाएको हो। विगत वर्षमा अमलाबाट बनेका परिकारको माग पनि कम थियो। गुर्जो, अमलालगायत जडीबुटीबाट बनेका परिकार अनुसन्धानबाट प्रमाणित नभएसम्म कोरोनाकै औषधि भन्न नसकिए पनि रोग प्रतिरोधी क्षमता बढाउने उत्पादनका रूपमा उपयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ।
     नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जडीबुटीबाट बनेका विभिन्न परिकारले कोरोना नियन्त्रणमा कति सहयोग पु–याउँछ भनी अनुसन्धान शुरू गरेको छ। परिषद्का प्रवक्ता मेघनाथ धिमाल अनुसन्धानका लागि तालीम सकी अरू काम अघि बढेको बताउँछन्।
केन्द्रका सबै सङ्क्रमित निको भए
     राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र कीर्तिपुरमा आइसोलेशनमा राखिएका करीब ७०० कोरोना सङ्क्रमित ठीक भएर घर फर्किएका छन्। केन्द्रमा ल्याइएका कोरोना सङ्क्रमितमध्ये हालसम्म कसैको पनि निधन नभएको कार्यकारी निर्देशक रामआधार यादवले जानकारी दिए। केन्द्रमा राखिएका सङ्क्रमितलाई बिहान योग, प्राणायामलगायत व्यायाम गराइन्छ। तिनलाई रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि खुवाइन्छ। यहाँ आवश्यक परेको अवस्थामा अक्सिजनको व्यवस्था पनि गरिएको छ। केन्द्रमा २०० जना सङ्क्रमित राख्न सक्ने क्षमता छ।
     आयुर्वेद चिकित्सकका रूपमा करीब ४० वर्ष सेवा गरेका डा शेषराज आचार्य रुघाकै प्रकृतिको रोग भएकाले सम्पर्कबाट सर्ने भएकाले यस्ता रोगमा आयुर्वेद प्रभावकारी हुने बताउँछन्। रोग प्रतिरोधी क्षमता भएकामा यसले धेरै असर गर्दैन। सङ्क्रमण भएमा सितोपलादि चूर्ण १०० ग्राम, गोदन्दी भष्म १० ग्राम, अभ्रक भष्म १० ग्राम, गुर्जाेको धूलो (गिलोय सत्व) ५० ग्राम मिसाएर बिहान, दिउँसो र बेलुका मनतातो पानीसँग खाएमा ठीक हुने उनले बताए।
    आयुर्वेद चिया ‘इम्युन टी’ सेवन गर्ने, सामान्य व्यायाम गर्ने, पानीको बाफ लिने गर्नाले निको हुने उनले बताए। कोरोनाका क्रममा १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आएमा महामृत्युञ्जय वा त्रिसुन बटी नामको दुर्ई गोली मनतातो पानीमा घोलेर खाएमा निको हुने हाल पनि चाबहिलमा शेष आयुर्वेद क्लिनिक चलाइरहेका आयुर्वेद विभागका पूर्वमहानिर्देशक आचार्यले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्