अन्तरप्रदेश चल्ने सवारीसाधनको जाँच पास भिएफटिसीबाट

0
26

काठमाडौं, २७ असोज/रासस
    विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवारीसाधनको जाँचपास, रूट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी)बाट गरिने भएको छ।
    कार्यालय हाल प्रदेश सरकार अन्तर्गत छ भने केन्द्र सङ्घीय सरकार अन्तर्गत छ। सरकारले प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेको झन्डै दुर्ई वर्षपछि आफ्नो कार्यक्षेत्रको काम गर्न लागेको हो। संविधान अनुसार प्रदेशभित्र चल्ने सवारीसाधन व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारी व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो। गत भदौबाट नै टेकुस्थित केन्द्रले जाँचपास र रूट इजाजत दिन थालेको केन्द्रका प्रमुख मणिराम भुसालले बताए। उनका अनुसार अन्तरप्रदेश चल्ने यात्रुवाहक र मालवाहक सबै सवारीसाधनको यहींबाट परीक्षण र अनुमति दिइनेछ। उनले भने, “अझै पनि धेरैलाई जानकारी नभएकाले यातायात कार्यालयमा नै गएको पाइन्छ।”
    यातायात कार्यालय प्रदेशमा हस्तान्तरण भएपछि अहिले यातायात व्यवस्था विभाग अन्तर्गत सवारी परीक्षण केन्द्र मात्रै रहेका छन्। टेकुबाहेक हेटौंडा र बुटवलमा पनि केन्द्र रहेका छन् भने अरू विभिन्न स्थानमा केन्द्र स्थापनाको योजना बनाइएको छ। ती सबै केन्द्रले सवारीसाधनको दुरुस्तता परीक्षण गरेर मात्रै जाँचपास गर्नेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्