जडान भएका सोलार बत्ती मरम्मत नहुँदा बिग्रँदै

0
48


प्रस, सेढवा, २६ असोज/
    पर्साको ग्रामीण क्ष्Fेत्रमा जडान भएका सोलार बत्ती मरम्मत सम्भारको अभावमा त्यत्तिकै बिग्रिएको छ।
    वैकल्पिक ऊर्जा केन्द्र ललितपुर, संसदीय विकास कोष तथा गाउँपालिकाले करोडौं खर्च गरेर जडान गरेको सोलार बत्तीको मरम्मत सम्भार नहुँदा बिग्रिएको हो। ठोरी, जीराभवानी, पटेर्वासुगौली गाउँपालिकामा जडान गरिएका  सोलार बत्तीहरू अहिले बल्न छाडेका छन्। जडान भएपछि एकपटक पनि मरम्मत सम्भार नगरिएको कारण सोलार बत्तीको अवस्था यस्तो भएको हो।
    गापाले जडान गरेको सोलार बत्तीसमेतको मरम्मत सम्भार भएको छैन। सोलार बत्तीको अवस्था हेर्ने काम नहुँदा टोल–टोलमा सोलार बत्ती बिग्रिएको देख्न सकिन्छ। ठोरी गापा–३ शिकारीवासमा सङ्घीयता लागू हुनुअघि जडान भएका पाँचवटा बत्तीमध्ये दुईवटा बत्ती मात्र बलिरहेको छ।
    स्थानीय युवा राजेन्द्र चौधरीले चर्को घाम लागेको बेलामा राति ९–१० बजेसम्म दुईवटा बत्ती बल्ने र त्यसपछि नबल्ने बताए। यो क्षेत्रमा सोलार बत्ती बिग्रिएको लामो समय भयो तर कसैले पनि चासो देखाएको छैन। जीराभवानी गापा–२ मा तीनवटा सोलार बत्ती जडान भएका थिए। जडान भएको एक महीनापछि बिग्रिएको बत्ती अहिलेसम्म नबनाइएको स्थानीय व्यापारी सत्यदेव चौधरीले बताए। पाँच वर्षअगाडि सो ठाउँमा सोलार बत्ती जडान भएको थियो।
    यसैगरी, पटेर्वासुगौली गापा–४ मा वैकल्पिक ऊर्जा केन्द्र ललितपुरले एक सय सोलार बत्ती जडान गरेको थियो। ६ वर्षअगाडि जडान गरिएको ती सोलार बत्तीको रेखदेख नहुँदा थुप्रै ठाउँमा बिग्रिएको छ। केन्द्रले नै जीराभवानी गापा–५ हरैयामा जडान गरेको सोलार बत्तीको अवस्था पनि उस्तै छ। जीराभवानी गापाले उज्यालो अभियान अन्तर्गत १ करोड रुपैयाँ खर्च गरेर सोलार बत्ती जडान गरेको थियो।
    गापाका ऊर्जा संयोजक उपेन्द्र चौधरीले ठेकेदारमार्फत् जडान गरिएकोले गत वर्षसम्म वारेन्टी म्याद रहेको र ठेकेदारले मरम्मत सम्भार गरेको दाबी गरे। संयोजक चौधरीले चालू आवमा गापाले बत्ती मरम्मतको लागि बजेट विनियोजन गरेको बताए।
    ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठले गापाले एउटा पनि सोलार बत्ती जडान नगरेको बताए। उनले अन्य निकायबाट सोलार बत्ती जडान गरिएको हुँदा सोही निकायले मरम्मत सम्भार गर्नुपर्ने बताए।
    अरूले जडान गरेका सोलार बत्ती अबका दिनमा गापाले नै मरम्मत सम्भार गर्ने उनले बताए। यसका लागि विवरण सङ्कलन भएको र चाँडै मरम्मत गर्ने अध्यक्ष श्रेष्ठले आश्वासन दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्