कृषि क्षेत्रलाई आधुनिकीकरण गरे मात्र मधेसमा समृद्धि

131


प्रस, वीरगंज, २६ असोज/
    जनता समाजवादी पार्टी, पर्साको आयोजनामा पटेर्वासुगौली गाउँपालिकाको महुवन र औराहामा पार्टी प्रवेश तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
    कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री डा बाबूराम भट्टराईले कृषि क्षेत्रलाई आधुनिकीकरण तथा बन्द रहेका उद्योगहरू सञ्चालनमा नल्याएसम्म मधेसको अवस्था नसुध्रिने बताए। वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकोले विकास कार्य हुनै नसक्ने उनको आरोप थियो। उनले प्रधानमन्त्रीको समृद्धिको कुरा नाटक मात्र हो, जनतालाई समृद्ध बनाउन अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकता रहेको बताए।
    पूर्वप्रम डा भट्टराईले विभिन्न दलका ठूला नेताहरू भ्रष्टाचारमा मुछिएकाले अधिकारसम्पन्न लोकपाल विधेयकको पक्षमा जसपा रहेको र यसका लागि लडिरहने बताए। उनले रेल र जहाजको सपना देखाउने सरकारले यहाँका किसानको लागि खादमलको कारखाना खोलिदिए सहयोग पुग्ने बताए। उनले कोशी, गण्डकी, एनसेल, वाइडबडी जस्ता अर्बौं घोटाला भएकाले आफूले संसद्मा आवाज उठाइरहेको बताए। उनले अधिकारसम्पन्न आयोग बनेमा छानबीनमा सहयोग गर्ने बताए।
    कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएको अधिकारलाई सुनिश्चित गर्दै बाँकी अधिकारको लागि पार्टी अगाडि बढेको बताए। उनले अहिले पार्टीमा सम्पूर्ण समुदायका व्यक्ति रहेकाले आगामी चुनावमा जनताले सहयोग गरे सरकार बनाउने बताए। अध्यक्ष्F यादवले स्थानीय र प्रदेश सरकार मजबूत रहे पनि अधिकारविहीन रहेकाले अधिकारसम्पन्न बनाउन आफूहरूले सङ्घर्ष गरिरहेको बताए।
    प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले प्रदेश २ मा आफ्नो शासन र प्रशासन हेर्न चाहेको र चाँडै प्रशासनको  लागि कर्मचारी गठन गर्ने प्रक्रिया शुरू हुने बताए। सङ्घ सरकारले प्रदेश सरकारलाई पङ्गु बनाएको र अधिकारविहीन प्रदेश सरकारले केही गर्न नसकेको बताए। उनले जनतालाई समृद्ध बनाउन रोजगार आवश्यक रहेको बताए। मुख्यमन्त्री गद्दीले राष्ट्रिय सूचकाङ्कमा कर्णाली प्रदेशभन्दा पनि तल रहेको प्रदेश २ मा सडक, शिक्षा, स्वास्थ्यको अवस्था खराब रहेको र अब सुधार हुँदै गइरहेको बताए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंले जसपाको सदस्यता लिएका थिए। गापा अध्यक्ष्F प्रदीप जैसवालको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, सङ्घीय सांसद प्रदीप यादव, प्रदेश सांसदहरू प्रह्लाद गिरी, मन्जुर अन्सारी, सिंहासन साह कलवार, भीमा यादव, केन्द्रीय सदस्य वीरेन्द्र यादव, करीमा बेगमलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन जसपाका जिल्ला सचिव तबरेज अहमदले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्