संस्थागत विद्यालयद्वारा विद्यालयमा पठनपाठन शुरु

0
83


प्रस, वीरगंज, २५ असोज/
    वीरगंजमा संस्थागत विद्यालयहरूले अनलाइन शिक्षा दिंदै आएकोमा अहिले विद्यालयमैं पठनपाठन शुरू गरेका छन्। लकडाउन, निषेधाज्ञामा विद्यार्थीहरूलाई वीरगंजका केही संस्थागत विद्यालयले अनलाइन शिक्षा शुरू गरेका थिए।
    संस्थागत विद्यालयसँगै केही सामुदायिक विद्यालयले पनि अनलाइन शिक्षा सञ्चालनमा ल्याए। अहिले दुवैथरी विद्यालयले विद्यार्थीहरूलाई ट्युशनको नाममा गैरपोशाकमा कक्षा सञ्चालन गर्दै आएका छन्। शुरूमा संस्थागत विद्यालयले गैरपोशाकमा कक्षा सञ्चालन गरेका थिए। त्यसपछि विद्यार्थीहरूको समूहमा ट्युशन दिइरहेका सामुदायिक विद्यालयले पनि अहिले गुप्तरूपमा कक्षा सञ्चालन गर्दै आएका छन्।
    खासगरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई कक्षामा राखेर अध्यापन गराइरहेको एकजना शिक्षकले बताए। उनले प्याब्सन, एन–प्याब्सनसँग आबद्ध संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरूले यसरी नै शिक्षा दिइरहेको बताए।
    वीरगंजमा पछिल्लो चरणमा पिसिआर परीक्ष्Fण कम भएर सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएपछि विद्यालयहरू एकपछि अर्को गरी सञ्चालनमा आउन थालेका हुन्।
    संस्थागत विद्यालयका एकजना  अभिभावकले विद्यालयमैं विद्यार्थीलाई पठाउन आग्रह गरिएको बताए। उनले लकडाउन, निषेधाज्ञापछि विद्यालयले शुल्कको बारेमा कुनै चर्चा नगरेको तर विद्यार्थीलाई विद्यालय पठाउन भनिएको बताए। पोशाक नलगाएर पुस्तकसहित विद्यार्थीहरूलाई विद्यालय पठाउन आग्रह गरिएको ती अभिभावकले बताए।
    प्याब्सन, एन–प्याब्सन र शिक्षा महाशाखाले भने विद्यालय सञ्चालनको अनुमति दिएको छैन। सरकारले पनि विद्यालय सञ्चालनको अनुमति दिएको छैन। अनलाइन शिक्षा र विद्यार्थीहरूको समूह बनाएर शिक्षकहरूलाई ट्युशन दिन सरकारले निर्देशन गरेको छ। सोविपरीत वीरगंज महानगरमा अहिले विद्यालयहरू एकपछि अर्को गरी खुल्दैछन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्