ठेक्का नलाग्दा नदीजन्य पदार्थको चरम दोहन

0
47

प्रस, पर्सागढी, २५ असोज/
    पर्साका खोलाहरूको प्रारम्भिक वातावरणीय परीक्षण रिपोर्ट तयार नभएका कारण ठेक्का लाग्न नसक्दा अहिले नदीहरूको चरम दोहन भइरहेको छ।
    जिल्ला समन्वय समिति, पर्साले रिपोर्ट तयार गरेपछि स्थानीय पालिकाले आआफ्नो खोलाको टेन्डर गर्न पाउने प्रावधान छ। तर प्रदेश सरकार र स्थानीय तहबीच समन्वय हुन नसक्दा गत वर्ष केही खोलाको ठेक्का हुन सकेन भने यस वर्ष एउटाबाहेक अन्य खोलाको ठेक्का प्रक्रियामा पुग्न सकेको छैन। जसले गर्दा नदीजन्य पदार्थको उत्खनन तीव्र गतिमा भइरहेको छ।
    असार १ गतेदेखि बन्द रहेको नदीजन्य पदार्थको उत्खनन असोज १ गतेदेखि शुरू हुनुपर्ने हो तर बन्द भएको सो अवधिमा प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट बनाउने कुनै तयारी गरिएन। फलतः पर्सा जिल्लामा नदीजन्य पदार्थहरूको ठेक्का हुन सकेन, जसले गर्दा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ।
    यसै क्रममा वीरगंज महानगर–३१ स्थित भेडाहा खोलामा अवैध उत्खनन गर्ने क्रममा दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। रातिको समयमा सयौंको सङ्ख्यामा ट्याक्टरहरू खोलामा प्रवेश गर्ने र बालुवा, गिट्टी, ढुङ्गा लोड गरेर खोलाको किनारमा जम्मा गर्ने र बिहान सोही ढुङ्गा, गिट्टी, बालुवा लोड गरेर गन्तव्यमा लैजाने क्रम बढेको छ।
    यसो गर्दा आज बिहान दुईवटा ट्याक्टरलाई प्रहरी चौकी मिलनचोकले नियन्त्रणमा लिएको हो। ट्याक्टर चालकले साहुले असारअगावै भण्डारण गरेर राखेको नदीजन्य पदार्थ ढुवानी गरेको बताए। तर तीन महीना अवधिमा भण्डारण गरिएको नदीजन्य पदार्थ कसैसँग बाँकी छैन।
    मिलनचोक प्रहरी चौकीले नियन्त्रणमा लिएका ट्याक्टरहरूलाई चौकीमा राखेको बताएको छ। तर दुईवटा ट्याक्टर मात्रै बरामद गरेर प्रहरीले ठूलो काम गरेको भन्न मिल्दैन। यहाँ दैनिक सयौं ट्याक्टरको आवागमन हुन्छ, जसलाई नियन्त्रण गर्न प्रहरीले सकेको छैन। यही कारणले स्थानीय प्रहरीमाथि ट्याक्टर सञ्चालकसँग साँठगाँठ गरेको आरोप लाग्ने गर्छ।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्