एनजिओमाथि नियन्त्रणको खाँचो

103

– श्रीमन्नारायण
    गैरसरकारी संस्थाहरूलाई  (एनजिओ) अस्तित्वमा रहिरहन सरकारी तथा निजी रकमको आवश्यकता हुन्छ। कतिपयलाई विदेशी सहायता पनि प्राप्त भइरहेको हुन्छ। यथार्थमा एनजिओलाई परिवर्तनको संवाहक मानिन्छ, जसले समाजमा बहिष्करणमा परेकाहरूलाई सेवा प्रदान गर्दछ। एनजिओले त्यस्ता कार्यहरू गरिरहेका हुन्छन्, जुन सरकारले गर्न सफल भइरहेको हँुदैन तर पनि एनजिओमाथि नियन्त्रणको आवश्यकता छ।
    विगतका दिनमा सामाजिक क्रान्तिकारीहरूले एनजिओलाई विश्वसनीयता तथा सम्मान दिलाएका थिए। समाजका उपेक्षित वर्ग एवं बहिष्करण तथा अन्यायमा परेकाहरूलाई सम्मान दिलाएका थिए। भारतमा महात्मा गाँधी, आचार्य नरेन्द्रदेव, विनोभा भावे, बाबा आम्टेहरूको नाम आदर एवं सम्मानपूर्वक लिने गरिन्छ। नेपालमा पनि शुक्रराज शास्त्री, तुलसी मेहर श्रेष्ठहरू सामाजिक क्रान्तिकारी थिए। ती महापुरुषहरूलाई सघाउन सैकडौं एवं हजारौं स्वयंसेवक खुशी–खुशी आफूलाई समर्पित गरेका थिए। सेवाभावले ओतप्रोत भएर सामाजिक सेवामा लागेका विगतका सामाजिक क्रान्तिकारीहरू यथार्थमा पैदल सैनिक थिए। एनजिओ एउटा मिशन थियो, फैशन होइन। ग्रामीण कार्यकर्ताहरू साधारण चप्पल तथा सस्तो एवं साधारण लुगा लगाउँथे। सस्तो एवं सार्वजनिक यातायात साधनको उपयोेग गर्थे। तिनका जीवनशैली नै तिनको पहिचान हुने गर्दथ्यो। आफूले समाज र जनताको हितमा गरेका राम्रा एवं उल्लेखनीय कार्यहरूलाई नै आफ्नो सफलताको आधार मान्थे। आफूद्वारा कति लाख र कति करोड रुपैयाँ कमाइयो ? यस आधारमा आफ्नो सफलताको मूल्याङ्कन गर्दथे। वर्तमान अवस्थामा सामाजिक कार्यकर्ताहरू महँगो एवं ब्रान्डेड झोला, गाडी, पोशाक, महँगो, होटेलमा कार्यक्रम गरेर नै आफूलाई ठूलो ठान्ने गरेका हुन्छन्। अधिकांश सामाजिक कार्यकर्ताको बसाइ र तिनको कार्यालय राष्ट्रिय राजधानी, प्रादेशिक राजधानी अथवा जिल्ला सदरमुकामहरूमा रहेको पाइन्छ।
    शहरी क्षेत्रमा केन्द्रित यस्ता एनजिओहरूले सामाजिक कार्यलाई व्यापारमा परिणत गरिदिएका छन्। एनजिओको नाममा विदेशमा गएर मौजमस्ती गर्ने आफ्नो देशको धर्म, संस्कृति, मान्यता, स्थापित परम्परा, सामाजिक सामञ्जस्य र सद्भावलाई बिथोल्न अनावश्यक विषयहरूलाई चर्चामा ल्याइने गरिन्छ। यिनको उद्देश्य समस्या समाधान गर्नुहुँदैन, केवल समस्या खडा गरी त्यसको दुष्प्रचार गर्नु रहेको हुन्छ। एनजिओकर्मीहरू वरिष्ठ सरकारी अधिकारी, राजनीतिज्ञहरू र देश एवं समाजका चर्चित व्यक्तित्वका निम्ति गैरसरकारी क्षेत्रमा सम्पर्क विस्तार गर्न तथा सत्ता प्रतिष्ठानको विपक्षमा जमात तयार गर्न एउटा थलोको निर्माण गर्ने गर्दछन्।


    पारस्परिक लोककल्याणको भावनाको स्थान व्यावसायिक मानसिकताले लिइसकेको छ। सत्ताधारी दलको दोषपूर्ण क्रियाकलापका कारण यस्ता एनजिओहरूलाई पल्लवित हुन अवसर प्राप्त भइरहेको हुन्छ। विकास निर्माण कार्यहरूलाई रोक्न तथा त्यसमा अवरोध पु–याउन थालेपछि मात्र सरकारको ध्यान एनजिओको गतिविधितिर आकृष्ट हुने गर्दछ। एनजिओसित न त कहिल्यै प्रश्न सोधिन्छ, न त तिनको कुनै जवाफदेही नै रहेको हुन्छ। कतिपय नेपालीले सनातन धर्म संस्कृतिको रूपान्तरण, नोक्सान एवं विनाशको संस्थागत कारकको रूपमा एनजिओलाई हेर्ने गरेका छन्।
    पञ्चायती व्यवस्थामा यति बढी सङ्ख्यामा एनजिओहरू थिएनन्। त्यति बेला कुनै एउटा एनजिओलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन भागीरथ प्रयत्न गर्नुपर्दथ्यो। देशमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि एनजिओहरू च्याउझैं उम्रिएका हुन्। नेपाल जस्तो सानो देशमा जति एनजिओहरू छन्, त्यति विश्वका विरलै अन्य देशमा होला। विश्वका कतिपय देशमा एनजिओहरूलाई नियन्त्रण गर्ने प्रयास थालिएको छ। दक्षिणी छिमेकी भारतमा त सन् २०१० मा नै एउटा कानून ल्याइएको छ, जसमा राजनीतिक प्रकृतिका कुनै पनि सङ्गठनलाई विदेशी धन स्वीकार गर्न प्रतिबन्ध लगाइएको छ। विदेशी धनको प्रयोग र घरेलु राजनीतिमा विदेशी हस्तक्षेपलाई रोक्न यस्तो पाइला अपरिहार्य मानिएको थियो। एनजिओहरू धर्मको प्रचार तथा परिवर्तनका घटनामा बढी नै सक्रिय रहेका पाइन्छन्। नेपाल जस्तो सानो देशमा दर्जनौं युरोपेली राष्ट्रहरूका दूतावास सक्रिय रहनुको कुनै कारण छैन। न त हाम्रो सांस्कृतिक र सामाजिक सम्बन्ध नै तिनीहरूसित रहेको छ, न त आर्थिक र व्यापारिक कारोबार नै रहेको छ। यस्तो अवस्थामा काम नलाग्ने विदेशी दूतावास हाम्रो देशमा रहनुको कारण देखिंदैन। नेपालमा दर्जनौं विदेशी गैरसरकारी संस्था पनि छन्, जो खुलेआम धर्म प्रचार तथा धर्म परिवर्तनका कार्यमा सक्रिय छन्। करीब चार वर्षअघि भारतको सर्वोच्च अदालतले देशको प्रमुख जाँच एजेन्सीलाई एनजिओहरूको गतिविधि, आयस्रोत तिनका कार्य र जनसम्पर्कको बारेमा विस्तृत जानकारी उपलब्ध गराउन आदेश दिएको थियो तर अधिकांश एनजिओको व्यवस्थापन तथा नियन्त्रण राजनीतिक दलकै नेता एवं कार्यकर्ताहरूमार्फत् भइरहेको छ। एनजिओविरुद्ध कुनै ठोस पाइला थालिने अपेक्षा राजनीतिक दलहरूबाट गर्नु दुःखद हुनेछ। राजनीतिक दलहरू कहिल्यै एनजिओविरुद्ध उभिनेछैनन्।
    सत्ताधारी दलको क्रियाकलाप र मनपरीविरुद्ध जब एनजिओहरू आफ्नो सक्रियता बढाउँछन्, ग्रामीण एवं सामाजिक कार्यकर्ताहरूलाई उद्वेलित पार्दछन्। अनि आक्रोशित भएर सत्ताधारी दलले एनजिओलाई नियन्त्रण गर्ने मानसिकता बनाउँछ। स्वयम् सैकडौं  एनजिओको मालिक रहेको सत्ताधारी दलले एनजिओविरुद्धमा पाइला चाल्न सक्दैन किनभने आखिर सत्ताबाट हटेपछि स्वयम् तिनको आफ्नो दल सञ्चालनको प्रमुख आर्थिक स्रोत भनेको एनजिओ र एनजिओकर्मी नै हुन्।
    एनजिओ/आइएनजिओहरूकै बढ्दो भूमिका एवं गतिविधिका कारण १२ वर्षअघि नेपालको अन्तरिम व्यवस्थापिका–संसद्बाट सर्वसहमतिले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरियो। आफ्नो स्थापनाकालदेखि नै जुन देशले सनातन धर्मको चरित्रलाई अङ्गीकार गरेको थियो, उसले अचानक धर्मनिरपेक्षतालाई स्वीकार गर्नु
संयोग मात्रै थिएन, आइएनजिओहरूको बढ््दो भूमिकाकै कारण सम्भव भएको हो।
    नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएपछि यहाँ धर्म परिवर्तनका घटनाहरू पनि तीव्र गतिमा बढ्यो। हिमाली एवं पहाडी जिल्लाका निकै सङ्ख्यामा आदिवासी तथा जनजातिहरूले हिन्दू एवं बुद्ध धर्म परित्याग गरी इसाई धर्म स्वीकार गरेका छन्। मकवानपुरको एउटा गाउँका पूरै जनता नै हिन्दूबाट इसाई भइसकेका छन्। अब त त्यहाँको शिवमन्दिरमा पूजा गर्न पुजारी पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था उत्पन्न भएको छ। धर्म परिवर्तन र धर्म प्रचार कार्यमा संलग्नहरूलाई यथोचित दण्डसजाय पनि भइरहेको छैन। किनभने तिनीहरूलाई देशका ठूला राजनीतिक दलहरूकै संरक्षण प्राप्त छ। एनजिओकर्मीहरूले देशका प्रभावशाली मिडिया, कानूनविद् तथा आआफ्नो क्षेत्रका विज्ञहरूलाई पनि आफ्नो प्रभावमा पारेका हुन्छन्। एनजिओमाथि नियन्त्रण सहज छैन। किनभने यसबाट लाभान्वित हुनेहरू तिनको पक्षमा जनमत सृजना गर्नेदेखि लिएर आन्दोलनसमेत शुरू गरि दिन्छन्। देशको राजनीतिक र सामाजिक संरचनालाई विदेशी हस्तक्षेपबाट मुक्त राख्न एनजिओमाथि नियन्त्रण आवश्यक छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्