उज्यालो वीरगंज अभियानको तयारी –नगरप्रमुख सरावगी

0
66


प्रस, वीरगंज, २५ असोज/
    वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले उज्यालो वीरगंज बनाउने अभियानको लागि टेन्डर भइसकेको बताएका छन्।
    सञ्चारकर्मीहरूसँगको भेटघाटमा नगरप्रमुख सरावगीले महानगरमा १४ हजार पोलमा ६० देखि १ सय वाटसम्मको चिम राखेर उज्यालो अभियानको लागि कार्य हुने बताए। अहिले रहेका पोलहरूमा विद्युत् आपूर्ति व्यवस्थित नभएको भन्दै उनले ३ सय ठाउँबाट विद्युत् नियन्त्रणका लागि स्टेशन बनाउने बताए।
    उज्यालो अभियान अन्तर्गत महानगर र मन्त्रालयको समपूरक बजेटबाट १२/१२ करोड गरी २४ करोड रुपैयाँको योजना रहेको उनले बताए। नगरप्रमुख सरावगीले कोभिड नियन्त्रणमा महानगरपालिकाले उत्कृष्ट काम गरेको दाबी गरे। उनले कोभिड नियन्त्रणमा सङ्घ सरकारले घोषणा गरे अनुसारको बजेट उपलब्ध नगराउँदा अहिले समस्या भइरहेको बताए। कोभिडको तेस्रो चरणमा वीरगंज महानगरपालिकामा पनि थप समस्या आइपर्ने उनको भनाइ थियो।
    उनले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई यसबारे जानकारी गराइएको पनि बताए। उनले तेस्रो चरणको कोभिडका लागि तयारी गर्नुपर्ने बताए।
    पत्रकारहरूले सो अवसरमा विकास निर्माणका काममा महानगरपालिकाले गतिलो काम गर्न नसकेको बताए। उनीहरूले अर्बौंको योजनामा महानगरपालिका जिम्मेवार नभएको कारण निर्मित संरचनाको संरक्षण हुन नसकेको बताए।
    यसैगरी, महानगरमा निर्माण भएका सडक, नाला पनि गुणस्तरीय नभएको र बर्सेनि मरम्मत सम्भार गर्नुपर्ने अवस्था भएकोतर्फ ध्यानाकर्षण गराएका थिए। घण्टाघरदेखि पावरहाउसम्मको सडकको अवस्थाबारे नगरप्रमुखलाई जानकारी गराउँदै मरम्मत सम्भारको लागि आग्रह गरेका थिए। पार्किड्ढो व्यवस्था नहुँदा फूटपाथमा समेत पार्किङ गर्नुपर्ने भएकोले पत्रकारहरूले नगरप्रमुखको ध्यानाकर्षण गराए। पत्रकारहरूले उठाएका प्रश्नको जवाफमा नगरप्रमुखले आफ्नो तहबाट हुन सक्ने हरसम्भव काम गरेको दाबी गरे।
    नगरप्रमुख सरावगीले घण्टाघरदेखि पावरहाउससम्म नयाँ कालोपत्र गर्ने बताए। यसको लागि प्राविधिक सल्लाह लिइरहेको र तुरुन्तै ठेक्का लगाउने तयारीमा रहेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्