उखु किसानले संसदीय समितिमा ज्ञापन बुझाए

74

प्रस, रौतहट, २५ असोज/
    रौतहटको श्रीराम सुगर मिल्सबाट पारिश्रमिक भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्दै उखु किसानले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन्।
    प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतवार ज्ञापनपत्र बुझाउँदै उखु किसानले श्रीराम सुगर मिल्सबाट आफूहरूले पाउनुपर्ने भुक्तानी छिटो पाउनुपर्ने व्यवस्था मिलाउन माग गरेका छन्।
    उखु उत्पादक सङ्घका सचिव सफिन्द्रप्रसाद यादवले समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई ज्ञापनपत्र बुझाएका थिए। श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सधैंको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो। आफूहरूले पाउनुपर्ने भुक्तानी दिन उद्योग अक्षम भएको बताएपछि मारमा परेको सचिव यादवले गुनासो गरे।
    उद्योगबाट पाउनुपर्ने रु ४१ करोड दशैंअघि पाउनुपर्ने व्यवस्था मिलाइदिन किसानले समितिसमक्ष माग गरेका छन्। त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महीनाको तलबभत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करीब २० करोड रुपैयाँ बाँकी रहेको जनाएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्