सर्लाहीमा जिल्ला प्रशासनमा टोकन प्रणाली

68

प्रस, सर्लाही, २४ असोज/
    जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा नागरिकता लिने सेवाग्रहीका लागि टोकन प्रणाली लागू गरिएको छ।
    कोभिड १९ को सङ्क्रमणबाट जोगिन भौतिक दूरी कायम राख्नुपर्ने र सर्वसाधारणलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले टोकन प्रणाली लागू गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। जिल्ला प्रशासन कार्यालय मलङ्गवा, इलाका प्रशासन कार्र्यालय, हरिवन र इलाका प्रशासन कार्र्यालय, बरहथवामा टोकन प्रणाली लागू गरिएको छ।
    टोकन प्रणालीमा सेवाग्रहीको नम्बर बोलाएपछि मात्रै लाइनमा आउनुपर्ने हुँदा कर्मचारी र सेवाग्रही दुवैलाई सहज भएको प्रजिअ पौडेलले बताए। कोरोना महामारी केही सहज भए पनि  सामान्य स्वास्थ्य मापदण्डको पालना नगर्दा नागरिकता फाँटमा भीडभाड बढेको भन्दै टोकन प्रणाली लागू गरिएको हो।
    त्यसैगरी नयाँ नागरिकता र पुरानो नागरिकता तथा प्रतिलिपिका लागि पनि छुट्टाछुट्टै दिन तोकिएको छ। नागरिकता बनाउन आवश्यक कागजातमा तोक आदेश भएपछि  टोकन पाउने र सोमा उल्लेख गरिएको मितिमा मात्रै सेवाग्रही नागरिकता लिन कार्यालय पुग्नुपर्ने नियम लागू गरिएको छ।
    जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक करीब १२० वटा र इलाका प्रशासन कार्यालय बरहथवा र हरिवनले दैनिक ४५–६० वटा नागरिकता वितरण गरिरहेका छन्। इलाका प्रशासन कार्यालय, बरहथवाका प्रमुख राजेश रायले लकडाउन र निषेधाज्ञाले पाँच महीनाभन्दा बढी समयदेखि खप्टिएको काम अहिले एकैपटक गर्नुपर्दा अत्यधिक चाप रहेको बताए ।
    केही सातादेखि इलाका प्रशासन कार्यालय, हरिवनमा प्रमुख नहुँदा हरिवनबाट वितरण हुने नागरिकता पनि बरहथवाबाटै हस्ताक्षर गराएर काम गरिरहेको इलाका प्रशासन कार्यालय, बरहथवाका प्रमुख रायले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्