मुख्यमन्त्रीद्वारा सिद्धेश्वरनाथ महादेव मन्दिर अवलोकन

100


प्रस, वीरगंज, २४ असोज/
    प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले बारा, कलैयास्थित सिद्धेश्वरनाथ महादेव मन्दिर एवं सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको शनिवार अवलोकन भ्रमण गरेका छन्।
    अवलोकन टोलीमा योजना आयोगका सचिव यमप्रसाद भुषाल, विकास संयोजक भगवान झा, पूर्वसांसद प्रमोद गुप्ता, बारा क्षेत्र नं ३ का सङ्घीय सांसद रामबाबू यादव, प्रदेश सांसद पारसप्रसाद साह, जिल्ला समन्वय समिति, बाराका उपसभापति पवन व्याहुत, रामकिशोर यादव, अजय पटेल, शिवनाथ पटेल, धर्मेन्द्र यादव, जयप्रकाश साहलगायतको सहभागिता थियो।
    टोलीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामाश्रयसाह कानू एवं कलैया वडा नं ३ का अध्यक्ष जलालुद्दिन मन्सुरले स्वागत गरेका थिए।
    सो अवसरमा मन्दिर एवं विद्यालय व्यवस्थापन तथा शिक्षक प्रतिनिधि मण्डलले मुख्यमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाउँदै विद्यालयका प्रअ छविरमण सुवेदीले सिद्धेश्वरनाथ महादेव मन्दिर बारा जिल्ला एवं प्रदेश २ को नै धार्मिक पर्यटकीय एवं शिक्षा एवं संस्कृतिको सङ्गम भएकोले यसको सर्वाङ्गीण विकासमा पहल गरिदिन आग्रह गरे।
    मुख्यमन्त्री गद्दीले सिद्धेश्वरनाथ मन्दिर एवं विद्यालय प्रदेश २ को नै गौरव भएकोले मागप्रति सकारात्मक भएको बताए। उनले छात्रावास भवन निर्माण प्रक्रिया तत्काल अघि बढाउन टोलीमा सहभागी प्रदेश सरकारका प्रतिनिधिलाई निर्देशन दिएको शिक्षक विमल शर्माले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्