नारी सर्जकको सम्मान र हाम्रो यथार्थ

154

– सञ्जय मित्र
    देशमा विभिन्न भाषा र साहित्यमा स्थापित पुरस्कारहरूको वितरणको अवस्था विचार गर्दा नारी सर्जकले प्राप्त गर्ने सम्मान तथा पुरस्कारको सङ्ख्या निकै कम देखिन्छ। हुनत पुरुष सर्जकको तुलनामा नारी सर्जकको सङ्ख्या नै कम भएको र पुरुष सर्जकको तुलनामा नारी सर्जकको कृति पनि कम प्रकाशित भइरहेकोले एक कोणबाट हेर्दा स्वाभाविक लाग्दछ तर नारी सर्जकले पाउने पुरस्कार र सम्मान भने केही कम भएकै हो भन्ने आवाज पनि उठिरहेको छ। पुरस्कार तथा सम्मानमा नारी सर्जकको सहभागिता कम हुनु र यसको लागि आवाज उठ्नुमा सहानुभूति पनि भएको कतिपयको आरोप रहेको छ। अझ कतिपयले त समावेशिताको लागि नारी सर्जकको सम्मान गर्न आवाज उठेको आरोप पनि लगाएका छन्।
    देशको सबैभन्दा ठूलो साहित्यिक पुरस्कार ‘मदन पुरस्कार’को इतिहासमा अहिलेसम्म सम्भवतः दुईजना नारी सर्जकले मात्र पुरस्कार प्राप्त गरेको देखिन्छ। सबैभन्दा पहिले पारिजातले आफ्नो कृति ‘शिरीषको फूल’को लागि र पछिल्लो समयमा झमक घिमिरेले ‘जीवन काँडा कि फूल’ कृतिका लागि। दुवै नारी सर्जकको कृतिमा फूल शब्द मेल खाएको छ। यो संयोग नै हो, विभिन्न दृष्टिकोणले दुई नारी सर्जकको जीवनमा पनि थप समानता भेटिएका छन्। नेपाली साहित्यले दुवै नारी सर्जकको अत्युच्च सम्मान गरेको छ।


    संसारको सबैभन्दा ठूलो पुरस्कार नोबेल पुरस्कारलाई मानिन्छ। नोबेल पुरस्कारमा पनि नारी सर्जकको उपस्थिति हुने गरेको छ। यो संयोग नै हो कि यस वर्षको लागि नोबेल पुरस्कार पनि नारी सर्जकलाई नै प्रदान गरिने घोषणा भएको छ। यस वर्षको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिइने घोषणा भएको छ। वैश्विक भोगाइलाई निजी भोगाइ बनाएर कवितामा अभिव्यक्ति दिने कवयित्री लुइस निकै चर्चित छिन्। अमेरिका र अन्य देशबाट प्रदान गरिने अनेक प्रतिष्ठित पुरस्कार तथा सम्मानहरू लुइस ग्लुकले प्राप्त गरिसकेकी छिन्।
    नेपाली साहित्यको विभिन्न विधालाई नियाल्ने हो भने नारी सर्जकहरू हरेक विधा र क्षेत्रमा सक्रिय छन्। नारी सर्जकहरूलाई प्रोत्साहनको लागि होस् वा योगदानको मूल्याङ्कन गरी प्रतिभालाई सम्मान गर्न होस्, नारी सर्जकलाई पनि समय समयमा पुरस्कृत तथा सम्मानित गर्ने कार्य भइरहेको छ। हालै पनि मानव अधिकार तथा शान्ति समाज नेपाल नामक संस्थाले देशका एघार चर्चित साहित्यकारलाई विभिन्न पुरस्कार तथा सम्मानले सम्मानित गर्ने निर्णय गरेको छ। अशेष मल्ल, आहुति, व्याकुल माइला, प्रमोद प्रधान, गोविन्दराज विनोदी, ज्ञानुवाकर पौडेलजस्ता देशका विशिष्ट साहित्यकारहरूसँगै नीलम कार्की निहारिका, रेणु गुप्ता, श्रेष्ठ प्रिया पत्थर, बालिका चौधरी र वसन्ती शाहीलाई सम्मानित तथा पुरस्कृत गरिने भएको छ।
    सार्वजनिक भएको निर्णयमा स्पष्ट नखुलाइए पनि पुरस्कृत तथा सम्मानित गरिने सर्जकहरूको नामावली हेर्दा के कुरो स्पष्ट हुन्छ भने मानव अधिकार तथा शान्ति समाजले धेरै किसिमले सन्तुलन मिलाउन खोजेको देखिन्छ। चर्चित सर्जक हुनुपर्ने, सिर्जनामा लागिरहेको हुनुपर्ने, आफ्नो पहिचान स्थापित गरिसकेको हुनुपर्ने, पुस्तक प्रकाशन भएको हुनुपर्ने र साहित्यमा अन्य किसिमले पनि योगदान दिएको हुनुपर्ने देखिन्छ। यसैगरी नामको छनोटमा सम्भवतः हरेक प्रदेशबाट एक एकजना परेको देखिन्छ। अरू थप चारजना चर्चित सर्जक पनि परेका छन्। सबै सर्जकहरूलाई हेर्दा यो पनि स्पष्ट हुन्छ कि देशले अँगालिइसकेको समावेशिताको सिद्धान्तलाई पनि प्रतिभा छनोट प्रक्रियाको आधार बनाइएको छ। आदिवासी, मधेसी, थारू, जनजाति आदि गरी झन्डै सबै क्षेत्र समेट्ने प्रयास भएको छ।
    समावेशिताको क्षेत्रलाई समेट्ने क्रममा पनि कोही वा कतिपय सर्जकको नाम आएको हुन सक्छ। यसलाई अस्वाभाविक पनि मान्नुहुँदैन, तर सबै सर्जकहरू आफ्नो क्षेत्रमा सक्रिय रहेको यथार्थ भने अस्वीकार गर्न सकिने अवस्था छैन। सर्जकहरूको त्याग, पहिचान तथा लगनशिलताको कारण नै देशको एउटा प्रतिष्ठित संस्थाले पहिलोचोटि भाषा–साहित्यका सर्जकहरूलाई पुरस्कृत तथा सम्मानित गर्ने निर्णय गरेको हो। संस्थाले नामहरू छनोट गर्दा तय गरेका आधारहरू सम्भवतः बलिया थिए होलान्। गहन छलफल भएको हुनुपर्छ सम्बन्धित क्षेत्रका जानकार व्यक्तित्वहरूसित। यसै कारण निर्णयलाई स्वीकार्य मानिएको छ। संस्थाले पहिलोचोटि सर्जकलाई सम्मानित गर्ने योजना बनाएर कार्यान्वयनतर्फ लगेको र पहिलोचोटिको ऐतिहासिक कार्यमा छनोटमा पर्ने सर्जकहरू पनि आफैंमा ऐतिहासिक बन्न पुगेको पनि यथार्थ हो।
    हाम्रो प्रदेशमा नारी सर्जक त्यति सक्रिय छैनन्। अझ यसरी पनि भन्न सकिन्छ कि यहाँ साहित्यकारहरूमा त्यति सक्रियता छैन। यहाँको भाषा र साहित्यमा नै अपेक्षित सक्रियता छैन। प्रदेशबाट बाहिर रहेर प्रदेशको नाममा साहित्य सिर्जना गर्नेहरू बढी रहेका छन्। आवश्यक पर्दा यस प्रदेशको दाबी गर्ने र जहाँ बसोवास रहेको छ त्यहाँको पनि स्थानीय भनेर दोहोरो फाइदा लिने प्रवृत्ति विकास भइसकेको छ। यसले गर्दा यसै प्रदेशमा रहेर साहित्य सिर्जना गर्ने खाँटी सर्जकहरूको सङ्ख्या निकै कम छ। प्रदेशमा साहित्यको लागि वातावरण नै बन्न नसकिरहेको अवस्थामा पुरानो संरचना नारायणी अञ्चलमध्ये यस प्रदेशमा बाँकी रहेका तीन जिल्ला पर्सा, बारा र रौतहटमा साहित्य सिर्जनाको अवस्था अझ कमजोर रहेको छ। वर्तमान संरचनामा यस प्रदेशको पश्चिममा रहेका यी तीन जिल्लाबाट नेपाली भाषा र साहित्यको लागि एउटा पनि साहित्यिक पत्रिका प्रकाशन भइ नरहेकोबाट पनि यी जिल्लाको साहित्यिक वा सर्जकको अवस्था बुझ्न सकिन्छ।
    हाम्रो प्रदेशको पश्चिमी तीन जिल्लामा दीक्षा सुवेदी, रेणुका जिसी खतिवडा र रेणु गुप्ता सक्रिय सर्जकको रूपमा देखिन्छन्, वर्तमानमा। सुवेदीले कविता विधामा साहित्य सिर्जना गर्दै नेपाली साहित्य समाज प्रदेश नम्बर २ फेसबूक समूह सञ्चालन गरेकी छिन्। खतिवडाका दुई गजल कृति प्रकाशित छन् र कविता तथा आख्यान विधामा विभिन्न रचनाहरू प्रकाशित छन्। गुप्ता करीब दुई दशकदेखि बारा र रौतहटमा निरन्तर सक्रिय छिन्। अन्य नारी सर्जकहरू पनि यी तीन जनाभन्दा अझ बढी सक्रिय होलान् जसबारे मलाई थाहा नहुन सक्छ। यो मेरो कमजोरी पनि हुन सक्छ। समय समयमा अन्य धेरै नारी सर्जकहरू चर्चाको विशिष्ट स्थानमा पुगेका छन्। अन्य केही नारी सर्जकहरू पनि सक्रिय र निष्क्रिय तथा फेरि सक्रिय हुने क्रम चलिरहेको छ।
    अन्य सक्रिय नारी सर्जक जसबारे मैले जानेको छैन, आउँदा दिनमा मैले बढी जान्न पाउने अपेक्षा राखेको छु। यस क्षेत्रका अन्य नारी सर्जकहरूमा अझ सक्रियता आउने आशा पनि राखेको छु। सम्भव भएसम्म आफ्ना आसपासका प्रतिभावान सर्जकहरूलाई समाजले पनि प्रोत्साहन गर्नु आवश्यक छ। अहिलेको विश्वमा नारी सर्जकले सम्मान र पुरस्कार पाउने आयामको विस्तार भइरहेको छ। यसमा नारी सर्जकको पहुँच विस्तार हुने वातावरण बनाउन समाजले पनि भूमिका निर्वाह गर्नु आवश्यक छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्