सेढवामा सास्ती

108

    वर्षा ओरालो लागिसक्यो। अहिलेको अवस्थमा पनि आकाशे पानीकै कारण सडक अवरुद्ध हुनु जिम्मेवार पदाधिकारीको लागि लाजमर्दो कुरा हो। तर दायित्वबोध हुनुपर्ने पक्ष जिम्मेवार नभएर बोधो बनेपछि नागरिकले सास्ती पाउने नै भयो। लकडाउनको लामो समयपछि सरकारले सार्वजनिक यातायातका सवारी सञ्चालन अनुमति दियो। अन्यत्र सवारीसाधन सञ्चालनमा आएको निकै दिनसम्म वीरगंज–ठोरी सडकखण्डमा सवारी चल्न सकेन। बल्लतल्ल केही ठाउँमा वैकल्पिक मार्ग प्रयोग गरेर सीमित सवारीसाधन सञ्चालनमा आएका छन्। वीरगंज–ठोरी करीब ७० किलोमिटर सडकखण्ड अन्तर्गत वीरगंज–सेढवासम्म समस्या छैन। नहरको बाटोमा केही खाल्डाखुल्डीबाहेक वर्षा भइरहेको बेला पनि बस चल्न सक्छ, जानकीटोलादेखि जीराभवानी गापाको परसवाकाँटासम्म त कालोपत्रे नै छ। जीराभवानीकै सेढवाभन्दा पश्चिमतर्फ ठोरी गाउँपालिका हुँदै चितवनको सीमा क्षेत्रसम्मको सडकमा पनि सवारी सञ्चालनको लागि समस्या छैन। जीराभवानीको सेवा केन्द्र सेढवामा मात्रै सडक खराब भएको कारण समस्या आएको हो।
    मुसलधारे वर्षात्को कुरा छोडौं, राम्रोसँग शीत प–यो भने पनि सेढवामा साइकल, मोटरसाइकलसमेत चल्न नसक्ने अवस्था छ। सडक हिलाम्य भई भाँसिएर बसको बडीले भुइँ छुन्छ। दुई पाङ्ग्रे सवारीसाधनहरू घचेटेर वा उचालेर आरपार गर्नुपर्ने बाध्य छ। चिम्टाइलो माटो, चिप्लेर दुर्घटना हुने डर त्यत्तिकै छ। जीराभवानी पुलदेखि पश्चिमतर्फ महादेवपट्टि र जीराभवानी पुलदेखि उत्तरतर्फ वसन्तपुर वन रेन्जपोस्टसम्मको क्षेत्र यति खराब छ कि त्यस सडकमा यात्रा गर्दा नधिकार्ने यात्री कमै होला। घाम लाग्दा किनाराको चिम्टाइलो हिलो सुकेर ढुङ्गा जस्तो बन्छ भने चक्का गुड्ने सडकबीचको भागमा वर्षात् नहुँदा पनि पोखरी बनिरहेको हुन्छ। अहिले चलेका केही सवारीसाधन अस्थायी बाटो सेढवा, सुपौली, जगरनाथपुर हुँदै सञ्चालनमा छन्। सेढवाको सडक बिग्रेको होइन, बिगारिएको हो। वीरगंज–ठोरी सडकखण्ड अन्तर्गत सेढवाको कच्ची सडक १२ महीना हिलो नहुने भरपर्दो सडकको रूपमा परिचित थियो। तर कमिशनको लोभमा परेका केही जनप्रतिनिधिले राम्रो सडकमा यस वर्ष चिम्टाइलो माटो थोपरिदिए। यहाँसम्म कि महादेवपट्टि क्षेत्रको ग्रेभल सडकलाई समेत माटोले पुरियो। वर्षात्को पानीले माटो दलदलमा परिणत भयो र आजको अवस्थामा पुगेको हो।
    बिगारेको सडकलाई पनि सुधार्न सकिन्थ्यो। भासिएको  वा हिलो भएको ठाउँमा ग्रेभल हाल्ने वा सुकेको बेला मेशिन औजार प्रयोग गरेर सम्याउन सकिन्छ। तर त्यसतर्फ त्यहाँका जनप्रतिनिधिहरू निर्लज्ज तमासे बनेका छन्। गाउँपालिकामा काम नभएर रकम फ्रिज भइरहेको छ। सेढवा बजार त्यहाँका जनप्रतिनिधिहरू भेट हुने केन्द्रबिन्दु हो । प्रदेशसभा सांसद शङ्कर चौधरीको गाउँ र सङ्घीयसभाका सांसद लक्ष्मणलाल कर्णको मुख्य क्षेत्र पनि हो। तत्काल सडक सञ्चालनको लागि इच्छाशक्ति हुने हो भने पाँच लाख रुपैयाँ पनि खर्च लाग्दैन। यहाँ त दायित्वबोधभन्दा पनि कसैले काम गरेमा, त्यो बिग्रियोस् भनेर कामना गर्ने जनप्रतिनिधिहरूको बाहुल्यता देखिएको छ। उनीहरूको जुङ्गाको लडाइँको कारण आज वीरगंज–ठोरी सडकखण्डमा सास्ती भोग्न त्यस भेगका बासिन्दा बाध्य छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्