संस्थागत विद्यालयका विद्यार्थीहरू सामुदायिकमा भर्ना हुँदै

0
103

ओमप्रकाश चौधरी, सेढवा, २२ असोज/
    संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अहिले सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन्।
    लकडाउन, निषेधाज्ञामा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूसँग अहिले विद्यालयले सो अवधिको शुल्क माग गरेपछि उनीहरू संस्थागत विद्यालय त्यागेर सामुदायिक विद्यालयमा भर्ना हुन थालेका हुन्। लामो समयसम्म विद्यालय बन्द भएपनि संस्थागत विद्यालयले शुल्कको लागि अभिभावक र विद्यार्थीहरूलाई दबाब दिएपछि उनीहरू सामुदायिक विद्यालयमा भर्ना भइरहेका एकजना अभिभावकले बताए।
    जगरनाथपुर गापा–१ पिडारीगुठीका राजु चतुर्वेदीका छोरा वीरगंजस्थित ओम नेशनल स्कूलमा अध्ययनरत थिए। अहिले उनले छोरालाई सो विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गराएका छन्। विद्यालयबाट नाम हटाएको प्रमाण लिनका लागि पनि संस्थागत विद्यालयले अध्ययन नगराएको ६ महीनाको शुल्क माग गरेको चतुर्वेदीले बताए। एक दिन पनि विद्यालय सञ्चालनमा नआएको अवस्थामा ६ महीनाको शुल्क माग गर्नु सरासर गलत भएको उनको भनाइ छ।
    जीराभवानी गापा–२ मा रहेको नेरामावि सेढवाबिर्ताका प्रअ जितेन्द्रप्रसाद गौरोले तीन–चार दिनको अवधिमा ४५ जनाभन्दा बढी संस्थागत विद्यालयका विद्यार्थीहरू भर्ना भएको बताए। उनले कक्षा ६, ७, ८ मा संस्थागत विद्यालयका विद्यार्थीहरू भर्ना भएको जानकारी गराए। विद्यालयले पाठ्यपुस्तक र छात्रवृत्ति वितरण गरेपछि भर्ना बढेको हो। भर्ना हुनेमा संस्थागत विद्यालयका विद्यार्थीहरू बढी भएको उनको भनाइ छ।
    नेपाल शिक्षक महासङ्घ, ठोरीका अध्यक्ष अमृत श्रेष्ठले ग्रामीण क्ष्Fेत्रबाट ठूलो सङ्ख्यामा बालबालिकाहरू पठनपाठनको लागि शहर गएका र लकडाउन, निषेधाज्ञामा उनीहरू फर्केर घरमा बसेको अवस्थामा संस्थागत विद्यालयहरूले घर बसाइको पनि शुल्क माग गरेको हुँदा अभिभावकहरूले शुल्क तिर्न नसकेर गाउँकै सामुदायिक विद्यालयमा भर्ना गराउन थालेको बताए। उनले ठोरीमा कक्षा १ देखिका विद्यार्थीहरूको भर्ना भइरहेको जानकारी गराए।
    ठोरी गापाको सामुदायिक विद्यालयमा प्रअ र शिक्षकहरू नयाँ भर्ना भएका विद्यार्थीहरूलाई घरदैंलोमा पुगेर निश्शुल्क पाठ्यपुस्तक वितरण गरिरहेको अध्यक्ष श्रेष्ठले बताए।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्