व्यापारका नयाँ–नयाँ अवसर खोजौं

0
93


– विश्वराज अधिकारी

    “हिम्मत गरेमा कठिन केही छैन, व्यापारीहरूका लागि टाढा भन्ने हुँदैन” –यो भनाइको विस्तृत चर्चा गरौं।
    नेपालीहरूको डाएस्पोरा (कुनै एक देश वा समुदायका व्यक्तिहरूको विदेश बसाइ (समूह) बृहत् हुँदै गएको छ र यो अझै बृहत हुने क्रममा छ। कुन सङ्ख्यामा नेपालीहरू विदेशमा बसोवास गरिरहेका छन् भन्ने ठोस तथ्याङ्क छैन। अनुमानको आधारमा, अहिले ५० लाखभन्दा बढी नेपाली स्थायी एवं अस्थायी गरी विदेशमा बसेको पाइन्छ।
    विदेशमा नेपालीहरूको बसोवास दुई किसिमको पाइन्छ। पहिलो बसोवास स्थायी प्रकृतिको रहेको छ र स्थायी बसोवास गर्नेहरू नेपालबाट स्थायी किसिमले विदेशमा बसोवास गर्न गएको पाइन्छ। स्थायी किसिमले विदेश बसोवास गर्न गएकाहरूमध्ये ज्यादै कम मात्र नेपाल फर्कने गरेका छन्। धेरै पहिले क्यानडा, अस्ट्रेलिया, अमेरिका, युरोप आदि पुगेका नेपाली परिवारका तेस्रो पुस्ता (नातिनी, नाति) प्रवासमैं जन्मे, हुर्केर विद्यालय जाने उमेरका भइसकेका छन्। र यो तेस्रो पुस्ता नेपाल फर्कने सम्भावना न्यून छ। तेस्रो पुस्ताका व्यक्ति जहाँ जुन देशमा छन्, त्यहीं उनीहरूको स्थायी बसोवास हुने प्रबल सम्भावना छ। तर आश्चर्य के छ भने यो तेस्रो पुस्ताले, प्रवासमा रहेर पनि नेपाली वस्तु रुचाएको पाइन्छ। तेस्रो पुस्तासमेतले पनि नेपाली वस्तुहरू रुचाउनुले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको बिक्री हुने सम्भावना ह्वात्त बढेर गएको छ। विदेशमा बस्ने पहिलो र दोस्रो पुस्ताका व्यक्तिहरूमाझ नेपाली वस्तु मन पर्ने स्थिति त अटुटरूपमा छ नै। यी कारणहरूले गर्दा मौलिक नेपाली वस्तु विदेशी बजारहरूमा र खासगरी अमेरिका, क्यानडा, अस्ट्रेलिया, ग्रेट ब्रिटेन आदिमा ठूलो परिमाणमा बिक्री हुने ज्यादै बलियो सम्भावना छ।


    अमेरिकामा नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा रहेको अनुमान छ। अमेरिकामा स्थायी र अस्थायी किसिमले गरी करीब तीन लाख नेपालीको बसोवास रहेको अनुमान गरिएको छ। भूटानी शरणार्थीहरूलाई पनि समावेश गर्ने हो भने अमेरिकामा नेपालीभाषीको सङ्ख्या ठूलो रहेको पाइन्छ। पुनर्वासका लागि नेपालबाट अमेरिका आएका नेपाली मूलका भूटानीहरूको सङ्ख्या ५० हजारभन्दा बढी छ। टेक्सास, न्युयोर्क, इन्डियाना, नोर्थ केरोलाइना, जर्जिया जस्ता अमेरिकी राज्यहरूमा ठूलो सङ्ख्यामा भूटानी शरणार्थीहरूको बसोवास छ। अमेरिका मात्र होइन, विश्वका अन्य राष्ट्रमा पनि पुनर्वासका लागि नेपाली मूलका भूटानीहरू पुगेका छन् र उनीहरूको सङ्ख्या पनि पचास हजारको हाराहारीमा छ। विदेशमा बसोवास गर्ने नेपाली मूलका भूटानीमाझ पनि नेपाली वस्तु अति लोकप्रिय छ। विश्वका अनेक राष्ट्रमा नेपाली मूलका भूटानीहरूको ठूलो सङ्ख्यामा बसोवासले विदेशी बजारमा नेपाली वस्तु बिक्री हुने सम्भावना झनै बढाइदिएको छ।
    विदेशमा नेपालीहरूको दोस्रो किसिमको बसोवास भने अस्थायी प्रकृतिको छ। मुख्यगरी रोजगारका लागि खाडीका मुलुकहरूमा पुगेका नेपालीहरूको आप्रवास छोटो अवधिको हुन्छ। बहराइन, युनाटेड अरब इमिरेट्स, साउदी अरेबिया, इराक, कतारजस्ता खाडी मुलुकमा नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा छ। यसबाहेक मलेसिया, थाइल्यान्ड, फिलिपिन्सजस्ता मुलुकमा पनि नेपालीहरू रोजगारका लागि पुगेका पाइन्छन्। मलेसियामा भने नेपालीहरूको ठूलो सङ्ख्यामा बसोवास रहेको पाइन्छ।
    मलेसिया, साउदी अरेबिया र कतारमा बसोवास गर्ने नेपालीहरूले ठूलो परिमाणमा स्वदेशी वस्तु खरीद गर्ने सम्भावना प्रबल छ। उपरोक्त मुलुकमा नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा रहेकोले उनीहरूबाट हुने नेपाली वस्तुको मागको आकार पनि ठूलो नै हुनेछ। नेपालका व्यवसायीहरूले यी मुलुकहरूमा पनि विभिन्न मौलिक नेपाली वस्तु बिक्री गरेर राम्रो आय हात पार्ने सम्भावना छ।
मौलिक नेपाली वस्तुहरूको बिक्रीको सम्भावना
    नेपाली व्यापारीहरूले विदेशी बजारमा र खासगरी अमेरिकी बजारमा मौलिक नेपाली वस्तु ठूलो परिमाणमा बिक्री गर्न सक्छन्। नेपाली स्वादका मौलिक वस्तु–चाउचाउ, मस्यौरा, तितौरा, चकलेट, बिस्कुट, अचार, गुन्द्रुक, दाल, तोरीको तेल, भटमास आदि ठूलो परिमाणमा बिक्री गर्न सक्छन्। यसैगरी, उपहारका सामग्री (पहाड, मन्दिर, बस्ती आदिको तस्वीर), काष्ठकलाका सामान, पूजाका सामग्री, देवीदेवताका तस्वीर, नेपाली कागजले बनेका अनेक चित्र पनि राम्रो परिमाणमा बिक्री गर्न सक्छन्। नेपाली व्यापारीहरूले विदेशी बजारमा बिक्री गर्न सक्ने नेपाली मौलिक वस्तुको सूची लामो हुन सक्छ। मुख्य कुरा, नेपाली व्यापारीहरूले खोजी गर्नुप–यो। र हामीकहाँ खोजी गर्ने प्रचलन कम छ। हाम्रा व्यापारीहरू परम्परागत व्यापार गर्नमा नै रमाउँछन्। व्यापारका नयाँनयाँ अवसरको खोजी गर्दैनन्। अहिले स्थिति यस्तो छ, विदेशमा बस्ने नेपालीहरूले नेपाली स्वादका वस्तुहरू विदेशस्थित भारतीय भण्डारबाट खरीद गरिरहेका छन्। नेपालीहरूले ठूलो परिमाणमा भारतमा उत्पादित दाल, चामल, पीठो, भुजिया, मसला (जीरा, धनिया, बेसार, मरिच आदिको धूलो), चाउचाउ आदि विदेशस्थित भारतीय भण्डारबाट खरीद गरिरहेका छन्। नेपालीहरूलाई नेपाली स्वादका वस्तु बिक्री गर्न सक्ने अवसरको फाइदा विदेशमा रहेका भारतीय भण्डारहरूले लिइरहेका छन्। नेपाली व्यापारीहरूले यो सुनौलो अवसर गुमाइरहेका छन्।
    विदेशमा रहेका भारतीय भण्डारहरूले भने राम्रो परिमाणमा भारतीय वस्तु स्थानीय भारतीय र नेपालीलाई बिक्री गरिरहेका छन्। भारतले मौलिक भारतीय वस्तु विदेशी बजारमा ठूलो परिमाणमा निर्यात एवं बिक्री गरेको पाइन्छ। विदेशमा र खासगरी अमेरिकामा भारतीयहरूको बसोवास ठूलो सङ्ख्यामा रहेकोले अमेरिका बसोवास गर्ने भारतीय व्यक्तिहरूलाई मौलिक भारतीय वस्तु बिक्री गरेर भारतले ठूलो लाभ प्राप्त गरिरहेको छ। एउटा सुन्दर व्यापारिक अवसरको भरपूर लाभ भारतले लिइरहेको छ। नेपालले आफूलाई प्राप्त भएको अवसरको उपयोग गर्न सकेको छैन। कारण, हामीमा उद्यम
९भ्लतचभउचभलभगचकजष्उ०को सर्वथा अभाव छ। हामी परम्परागत व्यापार गर्न रुचाउँछौं, व्यापारका नयाँ–नयाँ अवसरको खोजी गर्दैनौं।
    भारतीयहरूले मौलिक भारतीय वस्तु विदेशी बजारमा बिक्री गर्दा दुई किसिमबाट लाभ प्राप्त गरिरहेका छन्। पहिलो मौलिक किसिमको वस्तु भएकोले ती वस्तुहरूले स्थानीय बजारमा भएका समान किसिमका अन्य वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्दैन र तिनलाई राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ। दोस्रो भारतीयहरूको विदेशमा ठूलो सङ्ख्यामा बसोवास
रहेकोले भारतका निर्यातकर्ताहरूले ठूलो परिमाणमा भारतीय वस्तु बिक्री गरेर राम्रो लाभ प्राप्त गरिरहेका छन्।
    नेपाली व्यापारीहरूले विदेशी बजारमा, खासगरी अमेरिकी बजारमा विभिन्न सामग्री बिक्री गर्न मुख्यतः दुई कुरामा ध्यान दिन आवश्यक छ। पहिलो, नेपाली व्यापारीहरूले त्यस्ता नेपाली वस्तु निर्यात गर्नुपर्छ, जुन मौलिक नेपाली प्रकृतिको होस्, जुन विदेशमा उत्पादन गर्न नसकिने किसिमको र मौलिक नेपाली स्वादको होस्। जस्तै– तितौरा, मस्यौरा, गुन्द्रुक आदि। यस्तो भएमा ती मौलिक नेपाली वस्तुले स्थानीय समान किसिमका वस्तुहरूसँग प्रतिस्पर्धा गर्नुपर्दैन र सजिलै बिक्री गर्न सकिने मात्र होइन, लाभ पनि राम्रो प्राप्त गर्न सकिन्छ।
    दोस्रो ध्यान दिनुपर्ने कुरा हो तौल। नेपाली व्यपारीहरूले विदेशी बजारमा सामान निर्यात गर्दा, निर्यात गर्ने वस्तु कम तौलको हुनु आवश्यक छ। यस्तो भएमा यातायात लागत जोगिएर स्थानीय बजारमा नेपाली वस्तु महँगो हुन पाउँदैन। उत्पादन लागतमा पनि ध्यान दिन आवश्यक छ। नेपालमा उत्पादन लागत अति चर्को छ। नेपालले उत्पादन लागत नियन्त्रण गर्न अति आवश्यक छ। नेपालले निर्यात गरेको वस्तु विदेशी बजारमा महँगो भयो भने बिक्री हुने सम्भावना क्षीण भएर जाने मात्र होइन, निर्यातकले घाटा बेहोर्नुपर्ने हुन सक्छ। नेपालमा उत्पादन लागत कम गर्ने नयाँ–नयाँ आधुनिक प्रविधिको खोजी अति आवश्यक छ।
    नेपाली डाएस्पोरा बृहत् हुँदै गएको परिप्रेक्ष्यमा यसबाट आर्थिक फाइदा लिन सकिने पर्याप्त अवसर देखिएको छ। यो स्थिति सुनौलो व्यापारिक अवसर हो।
    मौलिक नेपाली वस्तु निर्यात गरेर नेपाली व्यापारीहरूले राम्रो लाभ प्राप्त गर्न सक्छन्, भारतीय व्यापारीहरूले झैं। मुख्यतः अवसर खोजी गर्नुपर्छ र त्यसको उपयोग गर्नुपर्छ।
    अब माथिको सन्दर्भलाई जोडौं। “हिम्मत गरेमा कठिन केही छैन, व्यापारीहरूका लागि टाढा भन्ने हुँदैन।”  नेपाली व्यापारीहरूले प्रयत्न गरेमा विदेशी बजारहरूमा मौलिक नेपाली वस्तु बिक्री गरेर राम्रो लाभ आर्जन गर्न सक्छन्। थप रोजगार सृजना गर्न सक्छन्। र देशलाई धनी बनाउन सक्छन्। यस्ता  असीम सम्भावना छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्