प्रहरी निष्क्रियताको कारण सुधार नभएको बस व्यवसायीको आरोप

0
71

प्रस, वीरगंज, २२ असोज/
    वीरगंजका बस व्यवसायीहरूले प्रहरी निष्क्रियताका कारण बसमा बढी भाडा लिने, तोकेभन्दा बढी यात्री सवार गराउने गरेको आरोप लगाएका छन्।
    जिल्ला प्रहरी कार्यालय, पर्सा अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर, बिर्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्ष्Fकत्रय दीपक साह, राजेशराज पुरी र राजकुमार पडितसँगको छलफलमा बुधवार व्यवसायीहरूले प्रहरीको कारण विकृति बढिरहेको आरोप लगाए। प्रहरीले नजिकिंदै गएको चाडपर्वमा यात्रीहरूलाई सरकारले तोकेको मापदण्ड अनुरूपको सेवा प्रदान गर्न आग्रह गरेका थिए। उनीहरूले व्यवसायीहरूलाई मापदण्डविपरीत भाडा नलिन र यात्री नचढाउन आग्रह गर्दा व्यवसायीहरूले प्रहरी निष्क्रियताले विकृति बढेको आरोप लगाए।
    व्यवसायीहरूले वीरगंजदेखि काठमाडौं र पूर्व–पश्चिम राजमार्गमा चारैतिर प्रहरी र ट्राफिक प्रहरी सक्रिय रहेको अवस्थामा सार्वजनिक सवारीसाधनहरूमाथि कारबाई नहुनुले प्रहरी निष्क्रियता पुष्टि भएको बताए। उनीहरूले बढी भाडा लिने बसहरूलाई कारबाई नहुँदा यस्ता विकृतिले प्रश्रय पाएको बताएका थिए।
    छलफलमा बस व्यवसायीहरू विनोद मानन्धर, प्रभु गुप्ता, जगत साह कानू, सुमन श्रेष्ठलगायत सहभागी थिए। नवनिर्मित बसपार्कमा बसहरू सञ्चालन गर्नका लागि प्रहरीले सुझाव दिएको थियो। सोविपरीत गर्नेलाई कारबाई गर्ने चेतावनी दिएपछि व्यवसायीहरूले बसपार्कभित्र बस व्यवसायीहरूको लागि काउन्टरको व्यवस्था नभएको बताउँदै प्रहरीले बसपार्कबाहिर काउन्टर सञ्चालन गर्नेहरूलाई तह लगाउन नसकेको गुनासो गरे। उनीहरूले बसपार्क बनिसकेपछि बसपार्कबाहिर काउन्टर सञ्चालन गर्न दिनु प्रहरीको गलती भएको आरोप लगाए। बसपार्कबाहिर र घण्टाघरमा समेत रात्रिबसका काउन्टरहरू सञ्चालनमा छन्। बारम्बार प्रहरीलाई यसबारे ध्यानाकर्षण गराउँदा कारबाई नभएको उनीहरूको भनाइ छ।
    वीरगंजबाट सामान्य अवस्थामा साढे चार सयवटा सार्वजनिक सवारीसाधनहरू सञ्चालित थिए। अहिले तीस प्रतिशत भाडाका बस, टाटासुमोहरू सञ्चालनमा छन्। प्रहरीले प्रत्येक बससँग जनही रु २ सय सङ्कलन गर्ने गरेको व्यवसायीहरूको गुनासो छ।
    यसैगरी, वीरगंजको गण्डकदेखि नै प्रहरी र ट्राफिकले ठाउँठाउँमा नियम उल्लङ्घन गर्ने बसहरूसँग अनधिकृतरूपमा रकम असुल्ने गरेकोले तोकिएको मापदण्ड अनुसार सुधार हुन नसकेको बस व्यवसायीहरूले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्