हिमालयन डिस्टिलरीमा मजदूरको हडताल

0
83

प्रस, परवानीपुर, २१ असोज/
    वीरगंज–२१ पटेलनगरमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडमा मजदूरहरूले हडताल शुरू गरेका छन्। गत असोज ११ गतेदेखि मजदूरहरू हडतालमा उत्रेका हुन्। मजदूरहरू हडतालमा उत्रेपछि उद्योगको उत्पादन ठप्प भएको छ।
    गत चैत ११ गतेदेखि नेपालमा लागेको लकडाउन र जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको निषेधाज्ञाको कारण कम्पनी ७ महीनामा अढाई महीना मात्र चलेको र आंशिक उत्पादन मात्र गरेको थियो।
    तर मजदूरहरूले लकडाउनमा सरकारले तोकेको मापदण्ड अनुसार पारिश्रमिक नदिएको र गत भदौमा निषेधाज्ञा खुकुलो भएको अवस्थामा पनि कम्पनीले उद्योग बन्द गरेको, साउन र भदौमा १०/१० दिनको रकम नदिएकोले नियम अनुसार पारिश्रमिक माग गर्दै मजदूरहरू आन्दोलनमा उत्रेको आधिकारिक ट्रेड युनियन कारखाना श्रमिक सङ्घ पर्साका अध्यक्ष सुखाडी यादवले बताए।
    उनले उद्योगको विगतको दुःखद समयमा सारा मजदूरले पसिना बगाएर काम गरेको तर कोरोना महामारीको जस्तो सङ्कटको घडीमा व्यवस्थापन पक्षले मजदूरको पारिश्रमिक कटौती गर्दा दुःख लागेको बताए।     
    यता, हिमालयन डिस्टिलरी मुख्य कार्यालय काठमाडौंका प्रशासन प्रमुख महेश पोखरेलले श्रम ऐन २०७४ अनुसार ‘नो वर्क नो पे’को व्यवस्था अनुसार तलब सुविधा कटौती गरिएको बताए। उनले कोरोना महामारीमा पनि नियम अनुसार पारिश्रमिक दिएको दाबी गर्दै अन्य विवादमा पनि वार्ताबाट मजदूरको समस्या समाधान गर्ने पहल भइरहेको बताए। हिमालय डिस्टलरी लिमिटेडले रोयल ट्रिजर, गोल्डेन ओक, ब्ल्याक ओक उत्पादन गर्छ। उद्योगमा १८८ जना स्थायी मजदूर र ७२ जना कर्मचारी कार्यरत छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्