समाजमा किन बढ्दैछ महिलामाथि हिंसा ?

0
48

 – सञ्जय साह मित्र
    महिलामाथि हिंसा बढको हो ? महिलामाथि हिंसा बढेको हो कि महिलामाथि भएका हिंसाका घटनाहरू सार्वजनिक हुने क्रम बढेको हो ?
    पछिल्ला केही समयदेखि नेपाल तथा भारतका सञ्चारमाध्यमहरूमा महिलामाथि भएका हिंसाहरूले प्रशस्त स्थान पाइरहेका छन्। सामाजिक सञ्जालमा पनि महिला हिंसाको विरोधमा आवाज उठिरहेको छ। महिलामाथि अनेक किसिमले हिंसा भएका खबरहरू सार्वजनिक भइरहेका छन्।
    नेपालमा केही समयदेखि महिला हिंसामध्ये सबैभन्दा बढी बलात्कारका घटनाहरू सार्वजनिक भइरहेका छन्। घाँस काट्न गएकी, बजारबाट सामान बेचेर फर्कंदै गरेकी, कलधारामा पानी लिन गएका महिला–बालिकामाथि जघन्य अपराध भएका घटनाहरू सार्वजनिक भएका छन्। कतै आफन्तबाट, त कतै परिचितबाट। अपरिचितबाट पनि महिलामाथि एकपछि अर्को दुष्कर्मका खबरहरू सार्वजनिक भएका छन्। गाडीमा पनि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो।
    मेलाठेलामा महिलाको नाककानको गहना लुछ्नुलाई पनि महिलामाथि ठूलो साङ्घातिक आक्रमण ठान्ने समाजमा केही समयदेखि बलात्कार र हत्याजस्ता घटना सार्वजनिक भइरहेका छन्। अपराधका घटनाहरू सार्वजनिक भइरहँदा महिला पहिलेभन्दा असुरक्षित पो भएका हुन् कि भन्ने आशङ्का उब्जाएको छ।
    केही दिनको फरकमा महिलामाथि कतै न कतै हिंसा भएको खबर सुन्नुपरेको छ। महिलामाथि अत्याचारका अनेक खबर आइरहन्छन्। केही दिन पहिले एकजना महिलालाई मानव मलमूत्र आफ्नै परिवारका मान्छेले खुवाएको समाचार आएको थियो। केही दिन पहिले दुईवटी किशोरीलाई मन्दिरमा पूजाको लागि लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको खबर पनि आएको थियो।


    अझै पनि बोक्सीप्रथामाथि विश्वास हुनु अन्धविश्वासको पराकाष्ठा हो। शिक्षा र चेतनाले यति धेरै विकास गरिसकेको अवस्थामा पनि विज्ञानको दृष्टिकोणले नहेरी बोक्सीको आरोप लगाएर महिलालाई अपमानित गर्नु तथा अन्य किसिमले सजाय दिनु जघन्य अपराध हो। महिलाको अपमान हो र मानवताको अपमान हो। कोही बोक्सी हुँदैन। बोक्सी हुँदैहुँदैन। तर पनि बोक्सीको नाउँमा महिलामाथि अभद्र व्यवहार गरिनु समाजको दुर्भाग्य हो।
    सबैभन्दा ठूलो सामाजिक दुर्भाग्य त बलात्कारको घटना हो। यसलाई सामाजिक कलङ्कको रूपमा पनि लिन सकिन्छ। देशमा बलात्कारजस्ता जघन्य अपराध बढ्न थालेपछि बलात्कारीलाई दिइने सजायको वर्तमान कानूनी व्यवस्थामा परिवर्तनको माग हुन थालेको छ। बलात्कार गर्नेलाई फाँसीको सजाय हुनुपर्छ भन्ने माग उठिरहेको छ। हुनत अहिलेको कानून पनि कमजोर छैन, तर यसभन्दा कडा कानूनको माग हुन थालेको छ। कतिपयले बलात्कार गर्नेको सम्पूर्ण सम्पत्ति जफत गरेर आजीवन जेल सजायको माग गरिरहेका छन्।
    नेपालको वर्तमान संविधानले मृत्युदण्डलाई निषेध गरेको छ। देशको मूल कानूनमैं मृत्युदण्ड दिन पाउने गरी कुनै कानून निर्माण नहुने लेखिएपछि मृत्युदण्डको प्रावधान राख्न नसकिने जानकारहरूको तर्क छ। मृत्युदण्डको कानून बनाउन विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताले पनि रोकेको छ। मृत्युदण्ड दिन सकिने कानून निर्माण गर्न नसक्दा बलात्कारीलाई कस्तो कडा सजाय दिन सकिन्छ भन्ने विषयमा बहस चलिरहेको अहिलेको यथार्थ हो।
    बलात्कारको पक्ष कानूनी हो कि सामाजिक ? कतिपयले त यसलाई मानसिक समस्या पनि मान्ने गरेका छन्। मानसिक समस्या होस् वा शारीरिक, यो व्यक्तिसम्म सीमित छैन। सामूहिक बलात्कार पनि भएको पाइएको छ।
    बलात्कारको घटना समाजमैं मिलाउन खोजिन्छ। यसैले बलात्कार सामाजिक अपराधको श्रेणीमा राख्न सकिन्छ भन्ने लागेको छ। बलात्कारजस्तो जघन्य अपराधलाई समाजमा मिलाउन खोजिएका केही उदाहरण पनि सार्वजनिक भएका छन्। एउटा घटनामा पीडितलाई दश लाख रुपियाँ वा दश कट्ठा खेतको लोभ दिइएको कुरा सार्वजनिक भएको छ। अर्को एउटा घटनालाई पीडकसँग पाँच लाख रुपियाँको तमसुक बनाउन लगाएर मिलाउन खोजिएको सार्वजनिक भएको छ। यस्तै घटनामा एकजना पीडितले समाजमैं मिल्नुपर्ने आदेश र प्रहरीमा जान नदिएपछि आत्महत्या  गरेकी थिइन्। यी त भए समाजमा मिलाउन खोजिएका घटनाहरू जुन सार्वजनिक भए तर सार्वजनिक नभएका अन्य घटना पनि कति होला ? अझ कति यस्ता घटना पनि होलान्, जसमा पीडित परिवारले इज्जत जाने डरले घटनालाई गुपचुप राख्यो हेला वा पीडितले नै परिवारलाई दुःखी बनाउन नचाहेर सहेर बसेको होला।
    जबरजस्ती करणीजस्तो अपराधबाट कम उमेरकी बालिका, किशोरी, युवती, अधबैंसे महिलालगायत सबै उमेर समूहका महिला पीडित भएका छन्। घर, छिमेक, खेत, बाटो, यातायातको साधन, जहाँ पनि यस प्रकारको दुष्कर्म भएको छ। महिलामाथि जहाँ पनि हिंसा भएको छ। महिलामाथि यस प्रकारको जघन्य अपराध किन बढेको होला ? किन महिला यति धेरै पीडित बन्नुपरेको होला ? यौन हिंसामा परेकी महिलाले न्याय खोज्दा समाज पीडककै पक्षमा भइदिंदा पीडितले आत्महत्या गर्नुपर्ने अवस्था आएको खबर पनि नआएको होइन। यो हिंसा पीडितमाथि मनोवैज्ञानिक हिंसा थपिएको मान्नुपर्छ। महिलामाथि एकपछि अर्को जघन्य अपराधको शृङ्खला किन ? यसले हाम्रो समाजको दिशा सङ्केत गरेको छ ? के यस्ता घटनाले मानिस सभ्य प्राणी हो भन्ने प्रमाणित गर्छ ?
    नेपालको संविधान र कानूनले महिलालाई अधिकार सम्पन्न बनाउँदै लगेको छ। महिलाको उपस्थिति हरेक क्षेत्रमा बढाउँदै लगेको छ। महिलाको सम्मान बढाउने पक्षमा औपचारिकरूपमा सबै सहमत छन्। हाम्रो संस्कृतिमा महिलाको उच्च स्थान छ। अनादिकालदेखि समाजले विभिन्न देवी–महादेवीको पूजा गर्दै आएको पनि छ। इतिहासमा पनि महिलाले विशेष भूमिका खेलेको कुरा लुकेको छैन। अहिले पनि महिलाको सम्मान सबैले गर्नुपर्छ भन्ने कुरामा समाज सहमत छ। यसैले कतिपय समाजमा सङ्कुचित अर्थमा महिलालाई घर, गाउँ वा समाजको इज्जत पनि भन्ने गरिएको पाइन्छ। यति हुँदाहुँदै पनि महिलामाथि अन्याय, अत्याचार र हिंसा भइरहेको छ।
    पहिले पतिले पत्नीलाई कुटपिट गरेको मुद्दा महिला तथा बालबालिका सेवा केन्द्रमा बढी आउने गर्दथ्यो। अहिले पनि यस प्रकारका हिंसाका घटना कम भएका छन् भन्ने होइन, तर यस्ता घटनाको चर्चा कम हुन थालेको छ। अहिले त जघन्य अपराधको सङ्ख्या बढ्न थालेको र सञ्चारमाध्यमहरूमा पनि स्थान पाउन थालेकोले घरायसी महिला हिंसाका घटना गौण बन्न पुगेका छन्।
    अपराधको पनि मनोविज्ञान हुन्छ भनिन्छ। उसो भए समाजमा अपराध– मनोविज्ञानको विकास भइरहेको हो त ?
    अपराध गर्ने व्यक्तिलाई समाजबाट प्रत्यक्ष वा परोक्ष संरक्षण प्राप्त हुँदा पनि अपराधीको मनोबल उच्च हुन पुग्छ। एउटा घटनामा स्पष्ट देखियो कि बलात्कारपछि समाजमैं मिलापत्र गराउँदा त्यही बलात्कारीले अर्कोपटक पनि जघन्य दुष्कर्म गरेको थियो। यस कारण जबरजस्ती करणीका मुद्दालाई समाजले पनि सहानुभूतिको दृष्टिले हेर्नुहुँदैन। जबरजस्ती करणी गर्ने मान्छे आफ्नो नातेदार, जात वा गाउँले भनेर पक्ष लिनुहुँदैन। यसैगरी, बलात्कारको शिकार हुने महिला अर्कै जातको हो भनेर हेप्ने काम पनि गर्नुहुँदैन। बलात्कार गर्ने व्यक्ति अपराधी हो र जसमाथि अपराध हुन्छ ऊ पीडित हो। पीडकलाई सजाय दिलाउने र पीडितलाई न्याय दिलाउने काममा समाज निष्पक्ष भएर अगाडि बढ्नुपर्छ। यसमा पक्ष र विपक्ष वा अन्य कुनै पनि दृष्टिकोणले सहानुभूति राख्ने कामलाई प्राथमिकतामा नराख्दा अपराधीको मनोबल कमजोर हुन सक्छ।
    बलात्कारीलाई सहानुभूतिको नजरले हेरेपछि ऊ समाजमा तुरुन्तै घुलमिल हुन्छ तर जो अन्यायमा परेको हुन्छ, समाजमा उसलाई घुलमिल हुन समय लाग्छ। यस सन्दर्भमा महिला बढी पीडित हुन्छन्। निर्दोष भएर पनि महिलामा पछिसम्म आत्मग्लानि भइरहन्छ र अपराध गर्ने व्यक्तिको आत्मबल भने बलियो बन्छ। पीडकलाई सजाय र पीडितलाई न्याय दिलाउनु सबैको कर्तव्य हो। न्यायको बाटो कमजोर बनाउने काम कतैबाट नहोस् ! बरु समाज कानूनभन्दा कडा भएर पीडितको पक्षमा उभियोस् !


 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्