प्रअले विद्यालयको रकम अनियमितता गरेको आरोप

0
40

प्रस, रौतहट, २१ असोज/
    माध्यमिक विद्यालय पथराबुधरामका प्रधानाध्यापकले विद्यालयको रकम हिनामिना गरेको समाचार छ। विद्यालयको खाताबाट प्रअ रामएकबालराय यादवले रु २८ लाख ३ हजार ८ सय आफ्नो निजी खातामा रकमान्तर गरी हिनामिना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद यादवले आरोप लगाए।
    प्रअ यादव जनता माध्यमिक विद्यालय सोनरनियाबाट २०७६ चैत ४ गते सरुवा भई मावि पथराबुधराममा हाजीर भएका थिए। चार महीना नबित्दै प्रअ यादवले असारमा रु २८ लाख ३ हजार ८ सय आफ्नो निजी खातामा रकमान्तर गराए।
    यसैगरी, विभिन्न टे«डर्सको नाममा रु ६२ लाख १५ हजार २ सय भुक्तानी दिई अनियमितता गरेको समितिका अध्यक्ष यादवले आरोप लगाए। २०७७ असार ३ गते महकार पोखरीको ठेक्का रु १ करोड ६० लाखमा दिई अनियमितता गरेको पनि बताइन्छ।
     ८ बिघा ८ कट्ठा १५ धुरमा रहेको महकार पोखरीको ठेक्का गर्दा गोप्यरूपले सूचना प्रकाशन गरी लीलामी प्रक्रिया गरेको बताइन्छ।
    यस सम्बन्धमा प्रअ यादवले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार रु २८ लाख ३ हजार ८ सय आफ्नो निजी खातामा रकमान्तर गरेको स्वीकारेका छन्।
    विकास निर्माण कार्य गर्न आफ्नो खातामा रकमान्तर गराएको बताउँदै उनले विवाद भएपछि सो रकम विद्यालयको खातामा जम्मा गरेको दाबी गरे। उनले आफूमाथिको आरोप झूटो भएको बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्