पूर्वावस्थामा फर्कने तयारी

0
45

   अब समाज बिस्तारै पूर्वावस्थामा फर्कने तयारी गर्दैछ। यो तयारी यस कारण होइन कि महामारीको प्रकोप हरायो। महामारीले मानिसलाई पराजित गर्न सक्दैन, हामीले यससँगै बाँच्न सिक्नुपर्छ भन्ने बोधका साथ यो तयारी हुन थालेको हो। सरकारले पनि यस अवस्थालाई पराभूत मानसिकताका साथ स्वीकार गर्न थालेको छ। त्यसैले कोभिड–१९ को सङ्क्रमण बढ्दै गर्दा पनि, सङ्क्रमणबाट मानिसको मृत्युदर वृद्धि भइरहँदा पनि, जीवनको यथार्थ महामारी होइन, गतिशीलता हो भन्ने कुरामा विश्वास बढ्न गएकोले पूर्वावस्थाको तयारी भइरहेको हो। एकताका एड्सले यस्तै त्रास फैलाएको थियो। कुरा गर्दा पनि एड्स सर्छ भन्ने अतिशयोक्ति पनि जनमानसमा थियो। तिनताक रगतबाट, छुरा–ब्लेडबाट, थाहै नपाएर एड्स हुँदाको त्रासले मानिसलाई निकै गाँजेको थियो। यौन सम्पर्क त यस रोगको प्रसारणको प्रमुख कारण थियो नै। अब त केही सम्बद्ध संस्थाहरूले आफ्नो कार्यक्रममा यसलाई नसम्झिंदासम्म यो ठूलो महामारी बन्दै थियो भन्ने कुराको सम्झना नै लोप भइसकेको छ। मानिसमा विकटको पचाउने क्ष्Fमता हुन्छ।
    मानिसबीच आम सम्पर्क स्थापित हुँदै गएको छ। पसल, बजार खुलिसकेका छन्। सम्पूर्ण अतिशयोक्तिलाई टेवा दिने सरकारी कार्यालयमा नै अनियन्त्रित र कोभिड मर्म बिर्साउने भीड देखिन थालेको छ। यो अलग कुरा हो कि नागरिकको सुविधामा पहिलेजस्तो सहजता आइसकेको छैन। यातायातका साधनहरू पनि सञ्चालनमा आएका छन्। अरू त अरू केही ठाउँमा त भौतिक उपस्थितिका साथ विद्यालयहरू सञ्चालन पनि भइसकेका छन्। यी सबै परिदृश्य परित्याग गर्नै नसकिने चाडजन्य बाध्यता हो वा हामीले अब कोरोनालाई स्वाभाविक रोग मानेको स्वीकृति हो ? आजको चहलपहल बाध्यता हो भने भोलि आम नागरिकको जीवन झन् कष्टकर बन्न पुग्छ। यसलाई अव्याख्येय स्वाभाविकताको स्वीकृति दिइएको हो भने जीवन–मरणको पातलो दोसाँधबीच मानिसले बाँच्न सिक्नुपर्छ। पातलो दोसाँध, किनभने केही दिनमैं यसको कुनै खोप तयार हुने सङ्केत छैन, सतर्कताको कुरा गर्ने हो भने हामीमा आफैं नपरी, ठोकर नखाई अरूको अनुभवबाट सिक्ने मानसिकता हुर्कनै सकेको छैन। वीरगंज एकताका कोभिड–१९ को केन्द्र नै बनिसकेको हो, यहाँ मानिस सङ्क्रमित पनि भएका हुन् र केहीले ज्यानसमेत गुमाएका छन्। कुन परिस्थिति, कुन असावधानी र के कुराको वास्ता नगर्दा त्यो हविगत बेहोर्नुप–यो भन्ने कुरा, यद्यपि हाम्रो हेक्कामा छैन।
    सरकारले पनि गर्न सक्ने केही छैन। अब सम्पूर्ण दायित्व नागरिकमा छ। रोग लागेपछि सरकारले गर्ने भनेको उपचार हो। लाजगालले सरकारले उपचार गरे पनि सास्ती पाउने त नागरिकले हो। यसर्थ आफ्नो सरोकारको कुरामा  नागरिक आफैं सचेत बन्ने हो भने कोभिड–१९ सामान्य रुघाखोकीभन्दा बढी केही होइन। हामी रूघाखोकी लागेको मानिसभन्दा टाढै बस्न रुचाउँछौं, किनकि त्यो तत्काल सर्छ। त्यसैगरी, कोभिड–१९ को भाइरस पनि सर्छ। त्यतिमात्र सतर्कता राख्ने हो भने यसको सङ्क्रमणबाट मुक्त रहन सकिन्छ। पूर्वावस्थामा नफर्की धर छैन। शरीरको लागि, मानसको लागि, शरीरलाई जीवित राख्नका लागि पनि हामीले बन्दाबन्दीको परित्याग गर्नैपर्छ। ज्यानै किन नजाओस् गाँसको जोहो गर्नैपर्छ। गाँसको व्यवस्था कसैले दुई–चार दिनका लागि गरिदिन सक्छ, आजीवन गर्न सक्दैन। त्यसैले पूर्वावस्थामा फर्कने तयारी विवेकपूर्ण निर्णय हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्