डा केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन

0
40

प्रस, वीरगंज, २१ असोज/
    डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बुधवार बिहान घण्टाघरमा सचेत नागरिक समाजले प्रदर्शन गरेको छ।
    चिकित्सक, अधिकारकर्मी, विभिन्न सङ्घसंस्था र राजनीतिक दलमा आबद्ध व्यक्तिहरूले डा केसीको माग पूरा गर, डा केसीको अनशन माफियालाई टेन्सन, लूटतन्त्र बन्द गरलगायत नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
    प्रदर्शनमा ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका पूर्व क्याम्पस प्रमुख डा प्रमोद कुशवाहा, वीरगंज युवा समाजका कमल चौगाईं, सामाजिक कार्यकर्ता प्रकाश थारू, अधिवक्ता पन्नालाल गुप्ता, ओमप्रकाश सर्राफ, चिकित्सक सङ्घ नारायणी वीरगंजका सचिव डा उदयनारायण सिंह, मोनिका सिंह, मनोज मिश्र, ज्योति साह, बृजेश्वर साह, लालबाबू सिंहलगायतको सहभागिता थियो।
    यसैगरी हिजो मङ्गलवार र आज बुधवार डा केसीको जीवनरक्षाको माग गर्दै नेपाली काङ्ग्रेस, पर्साले घण्टाघरमा धर्ना दिएको थियो।
    नेका, पर्साका सभापति अजय द्विवेदीको अगुवाइमा भएको धर्ना कार्यक्रममा नेका उपसभापति दिनानाथप्रसाद गुप्ता, प्रकाश उपाध्याय, राजु गुप्ता, सचिव किशोरीप्रसाद कानू, नगरअध्यक्ष भोला कलवार, गोमा उपाध्याय, उमा मिश्र, किरण सरकारलगायतको सहभागिता थियो।
    यसैगरी, डा केसीको समर्थनमा जिपी फाउन्डेशन पर्साले पनि प्रदर्शन गरेको छ। –याली निकालेर नगरपरिक्रमा गर्दै घण्टाघरमा कोणसभा गरेको थियो। फाउन्डेशनका पर्सा अध्यक्ष महम्मद सहाबुद्दीनको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले डा केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरे।
प्रस, महोत्तरी/
    डा गोविन्द केसीको माग र उनको सत्याग्रह आन्दोलन अनशनप्रति ऐक्यबद्धता जाहेर गर्दै नेपाली काङ्ग्रेस महोत्तरीले बुधवार साङ्केतिक धर्ना दिएको छ।
    सो पार्टीको केन्द्रीय सूचना तथा सञ्चार विभागका सदस्य बजरङ्ग नेपालीको संयोजकत्वमा भएको धर्ना कार्यक्रममा जिल्लास्थित पार्टीका अगुवा नेता, कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो।
    सो अवसरमा आयोजित सभाका वक्ताहरूले डा केसीसँग सरकारले तत्काल विधिसम्मत वार्ता गर्नुपर्ने, डा केसी र नेपाल सरकारबीच यसअघि विभिन्न मितिमा भएका सहमतिहरू अक्षरशः पालना हुनुपर्ने, डा केसीले उठाएका मागहरू तत्काल सम्बोधन हुनुपर्नेमा जोड दिए।
    अहिले साङ्केतिक धर्नामार्फत् सरकारको ध्यानाकर्षण गराइएको र यसलाई सरकारले नजरअन्दाज गरे मुलुकमा नागरिक आन्दोलन हुन सक्ने वक्ताहरूले चेतावनी दिएका छन्।
    जलेश्वरका बुद्धिजीवी चोकमा आयोजिक कार्यक्रममा पार्टीका अगुवाहरूले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्