सिराहामा नक्कली डिएसपी पक्राउ

51

प्रस, सिराहा, २० असोज/
डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ भन्दै बलात्कार अभियोगमा पक्राउ परेका अभियुक्तलाई मुक्त गराइदिने आश्वासन दिएर रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाको टोलीले नक्कली डिएसपीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बलात्कार आरोपमा पक्राउ परी पुर्पक्षका लागि सिराहा कारागारमा रहेका सिराहा, बरियारपट्टि गाउँपालिका वडा नं ४ का २३ वर्षीय शिवकुमार साहलाई रिहा गराइदिने भन्दै केही रकमसमेत ठगिसकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको अर्नामा गाउँपालिका घर भएका ३० वर्षीय युवक मोहमद जाबिर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता शालिग्राम पौडेलका अनुसार जाबिरले आपूm नेपाल प्रहरीको डिएसपी हुँ र मुद्दा फाँटमा काम गर्छु भन्दै बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर अभियुक्तका आफन्तजनसँग ३५ हजार रुपैयाँ लिएका थिए ।
“बलात्कार आरोपीलाई छुटाइदिने झूटो प्रलोभन देखाएर पीडक परिवारसँग ३५ हजार रुपैयाँ लिएको पाइएपछि जाबिरलाई असोज १८ गते नियन्त्रणमा लिएका हौं” पक्राउ परेकालाई मङ्गलवार सार्वजनिक गर्दै प्रवक्ता पौडेलले भने । उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई ठगी शीर्षकमा मुद्दा चलाएको छ ।
सिराहाको विष्णुपुर गाउँपालिका वडा नं १ मा यही असोज १६ गते एकजना बलात्कारको आरोपीलाई ५/५ लाखको दुईवटा तमसुक बनाएर उन्मुक्ति दिने गरी पञ्चायतीमा निर्णय गरिएको थियो । सो जानकारी पाएपछि प्रहरीले बलात्कार आरोपी र अन्य ८ जना पञ्चलाई पनि नियन्त्रणमा लिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्