ज्येष्ठ नागरिक दिवस–२०२०

0
20

     -विनोद गुप्ता 

    संयुक्त राष्ट्रसङ्घको सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्रपश्चात् वृद्धवृद्धाहरूकै लागि भनेर सन् १९९१ मा United Nations Principles for Older Person जारी भएपछि सन् १९९८ मा Macau Plan of Action on Ageing  र Madrid International Plan of Action on Ageing 2002  बाट लगातार चासो देखाइएको कारणबाट संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रले यसलाई अङ्गीकार गर्दै कार्यान्वयनमा लग्ने क्रममा नेपालले पनि ज्येष्ठ नागरिक कार्ययोजना २०६२ लागू गरेको छ ।
    परम्परागतरूपमा संयुक्तरूपमा बसोबास गर्दै आएको हाम्रो परिवार राजनीतिक अपरिपक्वताका कारण गाउँलाई कृषिको भरमा छाडेर शिक्षा, उद्योग, व्यापारिक कार्यहरूलाई शहर केन्द्रित बनाउन चालिएदेखि शुरू भएको  संयुक्त परिवार विखण्डनको सिलसिला आज न्यूक्लियर परिवारसम्म आइपुगेको छ । प्राकृतिकरूपमा मानिस कि त सकारात्मक सोचको हुन्छ कि  नकारात्मक । सकारात्मक सोचको हाम्रो पितृसत्तात्मक सोचका घरमुलीहरूले जहाँ यसलाई स्वाभाविकरूपमा ग्रहण गरे त्यहीं नकारात्मक सोच भएका घरमुलीहरूको परिवारमा विखण्डन रोक्न नसकिने भयो ।
    भविष्यको निर्माण दुई प्रकारबाट हुन सक्छ । पहिलो जीवन बाँच्नु (Living of Life) र दोस्रो जीवन बनाउनु (Making of Life) । संसाधन नहुनेहरू यस दौैडमा सामेल नै हुन सकेनन् भने संसाधन हुनेहरू पनि बजारको आवश्यकता (Product) बुझ्न नसकेर असफल भए । जसले बुझे उनीहरूले जागीर, व्यवसायलगायतका क्षेत्रहरूमा संलग्न रहेर आफ्नो भविष्य निर्माण गरे । अब जीवन बाँच्नेहरूले आफ्नो सन्तानलाई सुरक्षित भविष्यको लागि केही दिन सकेनन्, जसको फलस्वरूप सन्तानलाई आफ्नै जीवनयापनको लागि कठिनाइ बेहोर्नुपरिरहेको छ र त्यसमाथि आजको जीवनशैलीको प्रभावले थप पीडा दिएको छ । संसाधन भएर बजारको आवश्यकता बुझ्नेहरू सफल भए र उनीहरूसँग अहिले सन्तानलाई दिन पर्याप्त संसाधन छ । यस्ता परिवारका सन्तानहरू र त्यस परिवारका सदस्यहरूबीच भौैतिक दूरी भएपनि प्रविधिले त्यसलाई भावनात्मकरूपमा जोडेर राखेको छ ।

    तर नकारात्मक सोच भएका घरमुलीहरूको परिवार पूर्णरूपमा विखण्डनतर्फ अग्रसर पाइएकाले  वृद्धवृद्धाहरूको सम्मानित जीवनयापन अत्यन्त कष्टकर हुँदै गएको पाइन्छ । यही समस्याको निरूपण एवं सचेतनाको लागि संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष १ अक्टुबरको दिन सरकारलाई र ज्येष्ठ नागरिकलाई समेत आफ्नो दायित्व तथा अधिकारप्रति सचेत बनाउन समसामयिक समस्यालाई उजागर गर्न एउटा नारा दिने गरेको छ । कोरोनाका कारण यस वर्ष अत्यन्त सामान्यरूपममा भएपनि “Pandemics : Do they change  how  we address Age and Ageing” शीर्षक नारा दिएको छ ।
    विश्व अहिले ठूलो परिवर्तनको सँघारमा खडा छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार आउँदो ५ वर्षमा ६५ वर्ष उमेर पुगेको जनसङ्ख्याले ५ वर्षे बालकको जनसङ्ख्यालाई उछिन्ने छ । घट्दो जन्मदर र बढ्दो जीवन अवधिका कारण २०१० मा ५२४ मिलियन रहेको ६५ वर्षेहरूको सङ्ख्या २०५० सम्ममा १.५ विलियन पुग्ने प्रक्षेपण रहेको छ । २०औं शताब्दीको प्रारम्भमा सङ्क्रमण एवं परजीवीजन्य रोगहरूले बढी मान्छेको ज्यान लिने गरेकोमा चिकित्सा क्षेत्रमा भएको प्रगति एवं स्वास्थ्य सेवामा आएको सुधारका कारण अब दीर्घ प्रकृति एवं सङ्क्रमण नहुने रोगहरू जस्तैः हृदयरोग, चिनीरोग, अर्बुद्ध रोग एवं उमेरजन्य रोगहरूले त्यसको स्थान लिएको पाइन्छ । यस्ता रोगहरूको सामाजिक एवं आर्थिक प्रभावका कारण आर्थिक वृद्धिदरसमेत प्रभावित हुने गरेको पाइएको छ ।
    विश्व स्वास्थ्य सङ्गठनले न्यून तथा मध्यम आय भएका २३ वटा राष्ट्रमा गरेको एउटा अध्ययन अनुसार सन् २००६ देखि २०१५ सम्ममा ८३ विलियन अमेरिकी डलरको आर्थिक नोक्सानी बेहोर्नुपरेको पाइएको छ । युवा अवस्था एवं वृद्ध अवस्थामा हुने धेरैजसो रोग बाल्यकालको स्वास्थ्य अवस्थासँग सम्बन्धित रहेकाले न्यून आय भएका त्यस्ता मुलुक जहाँ राम्रो स्वास्थ्य सेवाको अभावमा बाल मृत्युदर बढी छ, त्यहाँ गरीबीमा जीवनयापन गर्ने बालक एवं युवाहरू वृद्ध वयमा प्रवेश गर्दा आउँदो दशकमा यस्ता राष्ट्रहरूले स्वास्थ्य क्षेत्रमा ठूलो दायित्व बोक्नुपर्ने अवस्था आउनेछ । वृद्धहरूको सङ्ख्या बढ्नुका साथै थप सामाजिक संरचनाहरूमा समेत परिवर्तन हुँदैछ । विश्वव्यापीकरणलगायत प्रविधि र सुविधाका कारण धेरैभन्दा धेरै मानिस शहरतिर पलायन हुनेछन्, जसको कारण घरमा वृद्धवृद्धाहरूको हेरचाह गर्ने व्यक्तिको सङ्ख्यामा -हास आउने र दुई वा तीनभन्दा बढी सन्तान नजन्माउने, ढिलो विवाह गर्ने र स्वतन्त्रताको नाममा वृद्धवृद्धासँग बस्न रुचाउनेहरूको सङ्ख्यामा झनै कमी आउने अनुमान गर्न सकिन्छ । यसरी परिवारबाट घट्दो समर्थनका कारण समाजमाथि यिनीहरूको रेखदेखको जिम्मेवारी थपिने देखिन्छ ।
    यस्तो अवस्थामा खास गरेर गरीब राष्ट्रहरू र विशेषगरी नेपालकै कुरा गर्दा हामीकहाँ शुरू गर्ने भनिएको जेरियाट्रिक वार्डको सेवाहरू राजधानीसम्म मात्रै सीमित रहनुबाट हाम्रो सरकार यस समस्यातर्फ खासै सचेत नरहेको लाग्छ । अर्कोतर्फ २०६८ सालमा नेपालीको औसत आयु ६५ वर्ष रहेकोमा २०७८ को जनगणनामा ७५–७७ वर्ष पुग्ने अनुमान रहेको छ । यो एकातिर राम्रो सङ्केत हो भने अर्कोतर्फ  यसले नयाँ समस्या पनि खडा गरेको छ । आजको बालकले भोलिको आफ्नो युवा अवस्थामा बुबाआमा, बाजेबजैका साथै बराजुहरूसँग समेत बस्ने सौभाग्य त पाउनेछन् तर जुन प्रकारको हाम्रो आर्थिक अवस्था छ, त्यसमा कमाउन विदेश जानुपर्ने बाध्यता, नेपालमैं बसेर कमाउँदा पाउने पारिश्रमिकबाट तीन पुस्ताको भरणपोषणका साथै औषधिमूलोको खर्च जुटाउन आइपर्ने कठिनाइ र स्वतन्त्र जीवन बाँच्ने आजको युवा पुस्ताको रोजाइका बीच द्वन्द्व आउनु स्वाभाविक हुनेछ । यस्तो अवस्थामा वृद्धवृद्धाहरूको अवस्था र हेरचाह कसरी हुने भनी प्रश्न उठ्छ । कुनै चमत्कार हुन्छ र यसको समाधान निस्कन्छ भनी चिताउनुपर्दैन, त्यसैले एकातिर परिवार र सरकार दुवैले बाल मृत्युदर घटाउनुका साथै युवा अवस्थासम्म स्वस्थ जीवनशैली प्रदान गर्न सकेमा वृद्धावस्थाका रोगहरूमा न्यूनीकरण हुन सक्ने देखिन्छ भने बढ्दो वृद्धवृद्धाको जनसङ्ख्या व्यवस्थापनका लागि सरकारले सामाजिक कानून निर्माण गरी सुरक्षित जीवन प्रदान गर्नुका साथै राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था जरुरी छ । त्यहीं परिवारमा बालबालिकालाई वृद्धवृद्धाको सम्मान गर्न पाठ पढाउनुको सट्टा व्यवहारमा आफैंले गरेर देखाउन सके ‘कल्चरल लर्निङ’ भई समस्या समाधानमा केही सुगमता आउन सक्ने देखिन्छ । तर सबैको निष्कर्षमा भन्नुपर्दा न्यून आय पनि, खास गरेर मध्यम एवं न्यून आय परिवारको लागि, समग्रमा देशको आर्थिक विकास द्रुत गतिमा हुनु आवश्यक छ । यो विना कुनै सेवा सुविधा विस्तार गर्न असम्भव छ ।
    अन्त्यमा, सारांशमा Pandemics (महामारी) भनेको रोगको विश्वव्यापीकरण हो । यसको उत्पत्ति भएपछि निदान खोजिन्छ र उपचार हुन्छ । तर बढ्दो उमेर (Ageing) निरन्तर चलिरहने प्रक्रिया हो, यसमा समस्याहरू स्वाभाविकरूपमा आउँछन् । तिनको पनि निदान खोजिन्छ, समाधान गरिन्छ । तर अन्तर के छ भने Pandemics यान्त्रिक हुन्छ र Ageing अर्गानिक हुन्छ । यसमा भावना हुन्छ, इमोशन र फिलिङ्स हुन्छ त्यसैले मेरो निष्कर्ष के हो भने– ‘They do not change how we address age and ageing’ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्